+
+

अन्ततः ट्वटिरले ल्यायो इडिट बटन

अब ट्विट सच्याउन मिल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १७:१५

१९ भदौ, काठमाडौं। माइक्रोब्लगिङ साइट ट्विटरले अन्ततः बहुप्रतिक्षित इडिट बटन ल्याएको छ । प्रयोगकर्ताहरुको लामो प्रतिक्षा तथा मागलाई सम्बोधन गर्दै ट्विटरले उक्त फिचरको परीक्षण सुरु गरेको हो ।

ट्विटरले हालसम्म Undo Tweet फिचर दिए पनि गरिसकेको ट्विट सम्पादन गर्ने वा सच्चाउने विकल्प थिएन । एडिट बटन थपिएसँगै अब फेसबुक पोस्टमा जस्तै आफूले गरिसकेको ट्विट समेत इडिट गर्न सकिनेछ ।

आफ्नो आधिकारिक ट्विटर ह्याण्डलबाट ट्विटरले इडिट फिचरको परीक्षण सुरु गरिएको जनाएको हो ।

तत्कालका लागि परीक्षणका रुपमा सुरु भएको उक्त फिचर निश्चित प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ । अर्थात् ट्विटर ब्लु सब्सक्रिप्सन लिएका प्रयोगकर्ताले मात्र हालका लागि इडिट फिचर प्रयोग गर्न पाउनेछन् ।

ट्विटर ब्लु सब्सक्रिप्सनका लागि मासिक ४.९९ डलर शुल्क तिर्नु पर्दछ । त्यसैले तत्कालै ट्विटरमा इडिट फिचर प्रयोग गर्न चाहनेले ट्विटर ब्लु सब्सक्राइब गर्नुपर्ने भएको छ ।

ऋाम ट्विटर प्रयोगकर्ताका लागि इडिट बटन कहिलेदेखि सुरु गर्ने भन्ने बारेमा ट्विटरले केही बताएको छैन । किनकी कम्पनीले अहिले सशुल्क प्रयोगकर्ताको मोडेलमा बढि ध्यान केन्द्रित गरिरहेको छ ताकि आम्दानी प्राप्त गर्न सकियोस् ।

निकै उपयोगी तथा बहुप्रतिक्षित इडिट फिचर उपलब्ध गराएर ट्विटरले धेरै भन्दा धेरै प्रयोगकर्तालाई ट्विटर ब्लु सब्सक्रिप्सन बेच्न चाहन्छ । कतिपय विश्लेषकहरुका अनुसार भविष्यमा समेत इडिट फिचर केवल ट्विटर ब्लु प्रयोगकर्ताका लागि मात्र उपलब्ध गराइएमा आश्चर्य मान्नुपर्ने छैन ।

ट्विटरका अनुसार सम्पादन गरिएको वा सच्चाइएको ट्विटसँगै एक लेबल हुनेछ जसले प्रष्ट पार्नेछ कि त्यो ट्विट सम्पादन गरिएको हो । त्यसमा सच्चाउनु अगाडिको ओरिजिनल ट्विट पनि देख्न सकिनेछ । लेबलमा ट्याप गरेर ओरिजिनल ट्विटमा के लेखिएको थियो भनेर थाहा पाउन सकिनेछ ।

ट्विटरका अनुसार इडिट ट्विट फिचरबाट मानिसहरुले हिज्जेमा भएको गल्ती अर्थात् टाइपो तथा गलत वा छुट ट्यागलाई सच्चाउन सक्नेछन् । साथै इडिट हिस्ट्री दिएका कारणले ट्विटमा विश्वसनीयता पनि कायम रहनेछ र मानिसहरुले वास्तविक ट्विट समेत पढ्न सक्नेछन् ।

अर्को महत्वपूर्ण कुरा चाहीँ ट्विटरको इडिट फिचर केवल केहीबेरका लागि हुनेछ । अर्थात् ट्विट गरेको केबल ३० मिनेटसम्म मात्र तपाइँले आफ्नो ट्विट इडिट गर्न सक्नुहुनेछ । त्यसपछि उक्त ट्विटका लागि इडिट बटन उपलब्ध हुनेछैन । अर्थात् तपाइँले कुनै ट्विट इडिट गर्न चाहनुहुन्छ भने ट्विट गरेको ३० मिनेट भित्रैमा गर्नुपर्ने हुन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?