+
+

प्रदेश १ मा एमाले : मुख्यमन्त्रीमा हिक्मतलाई रोक्न गुरु बराल

हरि अधिकारी हरि अधिकारी
२०७९ भदौ २२ गते २०:२८

२२ भदौ, विराटनगर । केही दिनअघि गृहजिल्ला झापा आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता हिम्मत कार्कीलाई प्रदेशमा उठ्न निर्देशन दिए ।

ओलीले प्रदेशसभामा उठ्नु भनेपछि कार्की तयार भए । २०७४ मा पनि निर्वाचित भएको झापा क्षेत्र नम्बर ५ ‘क’ बाट उनको नाम सिफारिस भएको छ । निकटवर्तीहरुका अनुसार ओलीले मुख त खोलेका छैनन्, तर कार्कीको नाम नै तोकेर प्रदेशमा उठ्नु भनेको मुख्यमन्त्रीको उम्मेदवारका रुपमा हेरिनु पनि हो ।

शेरधन राई नेतृत्वको प्रदेश सरकारमा झण्डै चार वर्ष आन्तरिक मामिला तथा कानुनमन्त्री रहेर काम गरेका कार्की मुख्यमन्त्रीका स्वाभाविक दाबेदार पनि हुन् ।

तर अर्का स्थायी कमिटी सदस्य गुरु बराल पनि प्रदेशसभामा सिफारिस भएपछि एमालेमा खैलाबेला भएको छ । बराल मोरङको क्षेत्र नम्बर ६ को कबाट उम्मेदवार सिफारिस भएका हुन् । मुख्यमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने गरी बराललाई प्रदेशसभामा सिफारिस गरिएको नेताहरु बताउँछन् ।

कसरी आए बराल ?

एमालेले मुख्यमन्त्रीको उम्मेदवारबारे कुनै निर्णय गरेको छैन । अध्यक्ष ओलीले पनि हिक्मत वा गुरु कसैलाई पनि वचन दिएका छैनन् । तर पूर्वमन्त्री कार्की मुख्यमन्त्रीको उम्मेदवार बन्ने गरी प्रदेशमा बस्न खोजेका हुन् भन्ने नेताहरुले बुझेका छन् ।

ठीक विपरीत गुरुले व्यक्तिगत रुपमा आफ्नो कुनै इच्छा नभएको बताएका छन् । बुधबार पार्टीको प्रदेशस्तरीय बैठकमा पनि उनले उम्मेदवार बन्ने इच्छा व्यक्त नगरेको एक सहभागीले बताए । तर पनि उनको नाम सिफारिस भएको छ ।
एमाले केन्द्रीय कमिटीले बनाएको मापदण्डअनुसार पनि उनी उम्मेदवार बन्न सक्दैनन् ।

एमालेले उम्मेदवार छनोटका लागि बनाएको मापदण्डमा पनि पछिल्ला चुनावहरु हारेकालाई नबनाउने भनेको छ । तर प्रदेश इञ्चार्ज देवराज घिमिरे, नेताहरु विनोद ढकाल, भानुभक्त ढकाल लगायतको जोडबलमा उनलाई प्रदेशसभा उम्मेदवार सिफारिस गरिएको एक नेता बताउँछन् ।

ओलीको विश्वास जिते, मतदाताको जितेनन्

बराल पाँचौं महाधिवेशनयता ओली समूहमा छन् । उनले पटकपटक टिकट पनि पाए । तर टिकट पाए पनि चुनाव नजित्ने थोरै एमाले नेताको सूचीमा बराल पर्छन् । २०५१ सालको उपनिर्वाचनसहित बराल पाँच पटक उम्मेदवार बनेका छन् । २०५१ मा मोरङ क्षेत्र नम्बर ६ बाट चुनाव जितेका बराल त्यसयता निरन्तर पराजित छन् ।

२०५६ मा मोरङ क्षेत्र नम्बर ६ मा चुनाव लडेका उनी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ ४, २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मोरङ ३ बाट पराजित भएका थिए ।

२०७४ सालको निर्वाचनमा पनि उनी मोरङ ३ बाट उम्मेदवार हुन चाहन्थे, तर भानुभक्त ढकालले टिकट पाए । २०७८ माघमा भएको राष्ट्रियसभा निर्वाचनमा एमालेले फेरि बराललाई उम्मेदवार बनायो, तर कांग्रेस उम्मेदवार गोपाल बस्नेतसँग बराबर मत ल्याएका उनी गोलाप्रथामा पराजित भए ।

उनीमाथि ओलीको विश्वास भने घटेको छैन । एमाले नेताहरुका अनुसार अहिले पनि प्रदेश १ मा ओली सहभागी हुने कार्यक्रमहरु बरालले नै फाइनल गर्छन् ।

स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवारलाई टिकट वितरणमा पनि बराल नै हावी भएका थिए । यसरी टिकट बढ्ने सुविधा बराललाई २०५४ को स्थानीय निर्वाचनमा पनि थियो । ‘त्यसपछि ओझेलमा परेका बराल पार्टी विभाजनपछि फेरि पावरमा आएका छन्’ एमाले मोरङका एक नेताले अनलाइनखबरसँग भने, ‘अध्यक्ष सहभागी हुने प्रदेशका हरेक कार्यक्रममा उहाँको चासो हुन्छ ।’

मेरो उद्देश्य पार्टी जिताउने : बराल

प्रदेशसभा सदस्यको उम्मेदवार सिफारिसमा भएका एमाले नेता बराल पार्टीका स्थानीय नेताहरुले माया गरेर आफ्नो नाम प्रदेशमा सिफारिस गरेको बताउँछन् ।

‘मेरो घर पनि त्यही क्षेत्रमा रहेकाले साथीहरुले माया गरेर गुरु बराललाई मुख्यमन्त्री बनाउनुपर्छ भनेर सिफारिस गर्नुभयो’ उनले भने, ‘यो मेरो अहिले टुङ्गो भएको होइन ।’ आफू पार्टीलाई जिताउने अभियानमा लाग्ने उनले बताए ।

एमाले केन्द्रीय सदस्य विनोद ढकाल पनि प्रदेशमा सिनियर नेता भएकाले बरालको नाम सिफारिस भएको बताउँछन् । तर जित्ने अवस्था भए मात्र उठ्ने सम्भावना रहेको भन्दै अर्का एक नेता भन्छन्, ‘उहाँ प्रदेशमा पुगे पार्टीको तर्फबाट मुख्यमन्त्रीको उम्मेदवार बन्नुहुन्छ । तर जित्नसक्ने अवस्था भए मात्र उठ्नुहुन्छ ।’

मोरङ ६ को कमा पाँचदलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका ज्वाईं जीवन आचार्य उम्मेदवार बन्ने सम्भावना छ । २०७४ को चुनावमा उनी कांग्रेस उम्मेदवार चुमनारायण तबदारसँग पराजित भएका थिए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?