+
+

१९९० सालपछि इन्द्रचोकको दैत्यनाच पहिलो चोटि डबलीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते २१:०५

२८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको इन्द्रचोकमा १९९० सालपछि पहिलो चोटि डबलीमा दिप्याखः (दैत्यनाच) भएको छ । इन्द्र जात्राको अवसरमा आइतबार दैत्यनाच भएको हो । यसअघि इन्द्रचोकमा डबली नभएर जात्राका बेला पीच सडकमै सांस्कृतिक गतिविधि सञ्चालन हुने गरेको थियो । तर लामो प्रयासपछि इन्द्रचोकमा यसपालि निर्माण भएको डबलीमै दैत्य नाच भएको इन्द्रचोक पुनर्निर्माण समितिका संयोजक केयुरमान सिंहले जानकारी दिए ।

स्थानीय बासिन्दा समेत रहेका बागमती प्रदेश सभा सदस्य विराजभक्त श्रेष्ठका अनुसार र ९० सालअघि इन्द्रचोक र हालको विशाल बजारबीच ५७६ वर्गफिटको डबली थियो । २ फिट अग्लो डबलीको बीचमा मण्ड (मण्डप) थियो । तर त्यो मासिएपछि पीचमै दैत्यनाच हुँदै आएको थियो । अहिले डबलीको अस्तित्व जोगाउने गरी भएपनि डबली निर्माण गरेको श्रेष्ठ बताउँछन् । अहिले बनेको डबलीमा २ फिट उचाइ भने छैन ।

यसरी मासिएको थियो डबली

१९९० सालको महाभूकम्पमा घरहरु ढलेर वसन्तपुर दरबार क्षेत्रबाट टुँडिखेल निस्कने बग्गीको बाटो अवरुद्ध भयो । पुनर्निर्माणको क्रममा तत्कालीन प्रधानमन्त्री ३ जुद्धशमशेर राणाले वसन्तपुर र इन्द्रचोकबाट टुँडिखेल निस्कने बाटोलाई बग्गीमात्र हैन, मोटर नै गुड्ने गरी चौडा पार्न लगाए ।

फराकिलो नयाँ बाटोको टि–जक्सनमा श्री ३ महाराजको प्रतिमा राखेर ‘जुद्ध सडक’ नामकरण गरियो । आमजनताले भने त्यसलाई ‘नयाँ सडक’ नामले प्रसिद्ध बनाए ।

अहिले ‘न्युरोड’ कहलाएको काठमाडौं महानगरको यो ‘हाइ स्ट्रिट’को निर्माण कालमा थुप्रै सम्पदा नाश गरिएको थियो । १९९० भदौमा किलागलमा जन्मिएका इन्द्र महर्जन जुद्ध शमशेरको हुकुमले नयाँ सडक बन्दा खास गरेर थुप्रै डबु (डबली) र सत्तल मासिएको बताउँछन्, जो लिच्छविकालीन थिए ।

एकै पटक ७ वटा नाच डबलीमा देखाइने दिप्याखःमा बासनादार फूलसहित ७ थरी बाजा र ७ वटा तालमा ७ नृत्य देखाइन्छ । इन्द्रचोकबाहेक बसन्तपुर, किलागल, नरदेवी, बाँङ्गेमुढा, जैसीदेवल र हनुमानढोको काल भैरव अगाडि दिप्याखः डबली छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?