+
+

रवीन्द्र मिश्रलाई राप्रपामा राजेन्द्र लिङ्देनपछिको वरीयता

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते २१:४५

२९ भदौ, काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयता पाउने भएका छन् ।

विवेकशील साझा पार्टीको बृहत् ध्रुवीकरण पक्षधर र राप्रपाबीच जारी एकता बैठकहरुले मिश्रलाई लिङ्देनपछिको वरीयता दिंदै एकता टुंग्याउने सहमति नजिक पुगेका हुन् ।

मिश्रको पद भने उपाध्यक्ष नै हुनेछ । उनले यसअघि गर्दै आएको सहअध्यक्ष पदको दावीबाट पछि हट्ने संकेत दिएका छन् । हालसम्मको समझदारी कार्यान्वयन भए उनी हाल रहेका ६ उपाध्यक्षभन्दा माथिल्लो वरीयतामा देखिनेछन् ।

स्रोतका अनुसार असोज पहिलो साता प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी घोषणा गर्नुअघि यो प्रक्रियाले औपचारिकता पाउनेछ । एकता प्रक्रियामा मिश्रसँग को–को सहभागी हुने भन्ने स्पष्ट भइसकेको छैन । कतिपयले मिश्र राप्रपामा प्रवेश गर्न लागेको भनी चर्चा गरे पनि उनी निकटस्थले यो दुई पक्षबीचको एकता प्रयास नै भएको दाबी गरेका छन् ।

मिश्रले अहिले यसबारेमा खुलेर टिप्पणी गर्न अस्वीकार गरे । आफू प्रतिनिधिसभा चुनावमा काठमाडौंबाट उठ्ने टुंगो भएको, बाँकी सबै विषय छलफलमा रहेको उनले बताए । ‘प्रष्ट के हो भने म चुनावमा उठ्छु, असोज पहिलो सातासम्ममा म उम्मेदवारी घोषणा गर्छु’, उनले भने ।

मिश्र पक्षका नेताहरुले राप्रपासँगको बैठक सकारात्मक मोडतर्फ अघि बढे पनि केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारी, केन्द्रीय समिति सबैको टुंगो नलागुन्जेल यो प्रक्रिया पूरा नहुने भन्दै अडान लिएका छन् ।

राप्रपाका नेताहरु मिश्रसँग सहकार्य गर्न इच्छुक हुँदै गर्दा बुद्धिमान तामाङ लगायत नेताहरुले वरीयताको विषयमा प्रश्न उठाइरहेका छन् ।

वैकल्पिक राजनीतिको मुद्दा उठाउँदै सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका मिश्र पछिल्ला दिनहरुमा मार्ग परिवर्तन भन्दै संवैधानिक राजसंस्था, हिन्दुबौद्ध राष्ट्र, संघीयता खारेजीलगायत मुद्दा उठाउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?