+
+
इतिहास :

भीमसेन थापाको जन्म र मृत्युको अपव्याख्या कहिलेसम्म ?

उनीमाथि लगाइएको झुटा विष मुद्दाको वास्तविकता खुल्छ भनेर निर्णय हुनुभन्दा अगाडि नै भीमसेन थापाले आत्महत्या गरे भनेर उल्टो अर्थ पनि लगाइयो ।

शैलेन्द्रबहादुर थापा शैलेन्द्रबहादुर थापा
२०७९ असोज २ गते ८:५४
लगनमा वि.सं. १८७५ को जग्गासम्बन्धी लालमोहर, रातो रंगले देखाइएको 'भीमसेन थापालाई बन्दी बनाइएको घरको कोठाको झ्याल', लगनमा वि.सं. १८८४ मा जग्गा खरिद गर्दा ठेगाना उल्लेख भएको तमसुक । तस्वीर सौजन्य : सुशीलविक्रम थापा

‘एशिया भनेको एशियालीहरूकै हुनुपर्छ’ भन्ने मान्यता राख्ने मुख्तियार कमाण्डर-ईन-चिफ भीमसेन थापाको पनि आधुनिक नेपाल राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान छ । उनका नीतिगत, न्यायिक, प्रशासकीय, कूटनीतिक, आर्थिक, सामाजिक, सामरिक सक्षमता सम्बन्धी कार्य नेपाली इतिहासका पानामा सुनौला अक्षरले लेखिएका छन् । यसबारे मुख्तियार भीमसेन थापासँग सम्बन्धित रुक्का, लालमोहर, ताम्रपत्र, शिलापत्र, अभिलेख र देश-विदेशमा रहेका दस्तावेजहरूले पनि थप पुष्टि गरेका छन् ।

उनको कार्यकालअन्तर्गत सन् १८३० को तथ्यांक हेर्दा, नेपालले भारतसँगको आयात-निर्यातबाट वाषिर्क महसुलको नेपाली रुपैयाँ १ लाख ६६ हजार ३४४ असुली गरेको देखिन्छ । यसको मूल्यांकन भारतीय शोधकर्ता जहर सेनको विद्यावारिधि शोधकृति ‘इण्डो-नेपाल टे्रड ईन दि नाईनटिन्थ सेन्चुरी’, सन् १९७७ (पृ.२८) मा गरिएको छ ।

मुख्तियार भीमसेन थापा आर्थिक कूटनीतिमा पनि सफल थिए । त्यसबेलादेखि नै उनले खुला व्यापारलाई प्रोत्साहन दिने नीति लिएका थिए । तत्कालीन भन्सारबाट मात्र उनले नेरु २ लाखदेखि ३ लाख बराबरको आम्दानी गराउन सफल भएका थिए । मल्लकाल र त्यसपछि सन् १७८८-९२ का भोट युद्धहरूबाट बन्द भएको तिब्बत व्यापारमा १४ हजार ४११ मोहर टंकन गराएका थिए । यसबाट आर्थिक अवस्थामा सुधार भई देश मुद्रास्फीति हुनबाट मुक्त भएको थियो ।

राहदानी विभागको स्थापना गरी नेपालका विभिन्न नाकाहरूमा मालसामान, हातहतियार, रुपैयाँदि जाँचेर मात्र आवत-जावत गर्ने प्रणालीको सुरुवात गरेका थिए (अधिकारी, सह.प्रा.डा.बमबहादुर । २०७८ । ‘नेपालको बृहत् इतिहास’, ५९६ र ५९७) । यसबीचमा मुख्तियार भीमसेनको स्वीकृति बेगर बि्रटिश राजदूत व्रायन हड्सनलाई पनि आफ्नो दूतावास परिसर बाहिर जान र बाहिरिया मानिसहरूसँग सम्पर्क गर्न नसक्ने गरी बन्देज लगाइएको थियो । यस विषयमा राजदूत हड्सनले गभर्नर जनरलसमक्ष ‘म पिंजडामा परेको जस्तो भएँ’ भन्ने दुःखेसो व्यक्त गरेका थिए । यद्यपि भीमसेन थापा अंग्रेज विरोधी नभएर अंग्रेजको प्रवृत्ति र साम्राज्यवादको विरोधी थिए । अंग्रेजसँग पनि उनले सन्तुलित व्यवहार राख्ने प्रयत्न गर्दै आएको तथ्यउपर व्रायन हड्सनसँग विश्वासपूर्वक सहकार्य गरेबाट पुष्टि हुन्छ ।

शैलेन्द्रबहादुर थापा

राष्ट्रिय विभूति भीमसेन थापालाई किन एशियाली आस्थाका नेता भनेका होलान् ? अन्य थप कारण यस्ता हुन सक्छन् : बनारसमा रहँदा नै भीमसेन थापाले ब्रिटिश कम्पनी सरकारका गभर्नर जनरल लर्ड वेलेज्लीको भारतमा ‘ब्रिटिश संरक्षण-नीति’, ‘हडप्ने नीति’ र ‘विभाजन गर, शासन हत्याउ’ नीति चाल पाइसकेका रहेछन् । कृष्णबहादुर थापाले ‘बगाले थापाको इतिहास’, २०७५ मा खुलाएका छन् :

‘…सैच्यानजुनले बडासंग भेट मुलाकत भयापछि विन्ति गन्र्या कुराको विस्तार तिम्हेरुलाई मालुमै छ. वेला अनुसार चाहिन्या कुराको विन्ति तिमीहरू गन्र्येछौ’ (१००).बाँकी फिरंगीले निहू गरि पैले पसी पस्यापछि उही जग्गा अमल गरि यस्ता पाठसँग सारा हिन्दुस्थान ली दिल्लीको वात्साही पनि मिचि राषेछ….फिरंगीलाई पंसाइ दिल्लीको वात्साहीको स्थापना गर्न्याकाम चीन वादशाहबाट भयो (भन्या) चीन वादशाहको आसमुद्रांत पृथ्वीमा ठुलो हुन्या छ…-ऐजन) ।

विलियम हण्टर, ‘वास्तवमा भीमसेन थापा नै एकमात्र यस्ता राजनेता थिए जसले भारतीय राज्यहरूलाई हडप्नका निमित्त तत्कालीन बि्रटिश गभर्नर जनरल लर्ड वेलेज्लीले लागू गरेको संरक्षण नीतिको अर्थ बुझेका थिए’ (थापाद्वय, ‘मदन’ टेकबहादुर, शैलेन्द्रबहादुर । २०७८। ‘एकीकरणका बडाकाजी भाग २’, १२३) । भीमसेन थापाले …अंग्रेजलाई यस क्षेत्रबाट हटाउन बर्मादेखि इरान, अफगानिस्तान र फ्रान्ससँग समेत पत्राचार गरेको देखिन्छ -शिवाकोटी, प्रा.डा.गोपाल । २०७६। ‘राजनीतिक शब्दकोश’, ७१८) ।

यसरी वास्तवमा आफ्नो देश र एशियाली राष्ट्रहरूको हितका पक्षमा भीमसेन थापाले आफ्नो मुख्तियारी अधिकार प्रयोग गरेका थिए । उनको ‘हिमालय संघ राज्य’ स्थापना गर्ने उद्देश्यपूर्ण तथ्यबारे प्रकाश पार्दै, ‘राजनीतिक शब्दकोश’ : ‘हिमालयन क्षेत्रका राज्यहरूलाई मिलाएर महासंघ बनाउने भीमसेन थापाको प्रस्ताव अंग्रेजसँगको युद्धपछि प्रस्तुत गरिएथ्यो । हिमालयन संघमा बर्मादेखि कश्मीरसम्मका हिमाली राज्यहरूलाई महासंघमा आबद्ध गर्नका लागि भीमसेन थापाले प्रस्ताव पठाएका थिए । यसलाई कश्मीर राज्यले स्वीकार नगरेपछि उनको योजना असफल भएको थियो’ (११६६) ।

कश्मीरले भीमसेनको त्यो प्रस्तावलाई नेपालको साम्राज्यवादी नीतिको विस्तारका रूपमा लियो । उल्टै, कश्मीरले नेपालद्वारा प्रस्तावित संघमा प्रवेश गर्न अस्वीकार गर्दै अंग्रेजसँग सम्बन्ध विस्तार गर्‍यो । मुख्तियार भीमसेनले हिमाली राज्यहरूलाई एउटै महासंघमा आबद्ध गरी अंग्रेज विरुद्धको मोर्चाबन्दी गर्न खोजेका थिए । यसैका लागि उनले हिमालयन संघ राज्यको प्रस्ताव गरेका थिए । भीमसेन थापाको यो योजना सफल भएको भए दक्षिणएशियाको राजनीतिक इतिहास नै फरक हुनेथियो । त्यसबाट अंग्रेज साम्राज्यको आकांक्षामाथि गम्भीर धक्का पर्ने थियो (ऐजन) । आखिर, भारतले अंग्रेजको इष्ट-इण्डिया कम्पनीलाई सदाका लागि बिदा गर्दै १५ अगष्ट १९४७ देखि ‘राष्ट्रिय स्वतन्त्रता दिवस’ मनाउँदै आएको छ । यता, कश्मीर भने भारतमा विलय भइसकेको छ ।

डा. सूर्यमणि अधिकारीले ‘नेपालको इतिहास र समाज अध्ययन’, २०७५ मा खुलासा गरेका छन् : भीमसेन थापाले अंग्रेजहरूलाई एशियाबाट धपाउन एशियाली एकताको आवाज उठाए । उनले चीन र तिब्बतलाई पनि पत्र पठाए । एशियाली एकताको आहृवानप्रति ऐक्यबद्धता दर्शाउने साहस एशियाली राज्यहरूले गर्न सकेनन् । उता अंग्रेजहरू नेपालको आहृवानलाई विफल पार्न कटिबद्ध भए (१०८) ।

यसैगरी प्रा.डा.नरविक्रम थापाले ‘बगाले थापा वंशावली खुर्कोट, सिन्धुली, वागमती प्रदेश’, २०७६ मा उल्लेख गरेका छन् : ‘मुख्तियार जनरल भीमसेन थापाद्वारा एशियाली एकताको आहृवान गर्दै बर्मा, अफगानिस्तान, फारस, पञ्जाव, ग्वालियर, अवध एवम् बंगालसम्म आफ्ना दूतहरू पठाउनुभएको थियो’ (१५) ।

सोमबहादुर थापाले ‘बगाले थापा क्षत्री वंशावली’, २०७४ मा प्रष्ट्याएका छन् : ‘इष्ट इण्डिया कम्पनीको प्रवृत्ति विरुद्ध लड्न भीमसेन थापाले फ्रान्ससँग पनि रणनीतिक योजना बनाएथे । तर फ्रान्सको ढिलाइका कारण समय लागेको हुँदा पछि त्यो योजना सेलायो’ (१, २) । प्रा.डा.सुरेन्द्र के.सी.ले पनि भीमसेन थापाले ‘एशियाली संघ’ बनाउने आहृवान गरेअनुरूप पृथ्वी विलासलाई दूत बनाई पञ्जाब रणकेशरी रणजित सिंहको दरबारमा पठाएको तथ्य ‘नेपालको कूटनीतिक इतिहास’, २०६१ मा उल्लेख गरेका छन् ।

साथै उनको त्यो कृतिमा संवत् १८७० मा पण्डित पद्मपाणि शर्मालाई ग्वालियर पठाए पनि अंग्रेज सेनाले नेपालका विभिन्न स्थानहरूबाट आक्रमण गर्ने उद्देश्य टर्न सकेन’ (५८-६१) भनी जनाएको पाइन्छ । यसरी भीमसेन थापाको कुरा (न)नसुन्दा अंग्रेजी विस्तारवादका सिकार भएका राष्ट्रहरू गुलामीको अभिशप्तबाट मुक्त भएपछि पनि गुलामीकै धङधङेबाट मुक्त रहन (न)नसक्दा स्वतन्त्रता दिवस मनाउँछन् । नेपालले यस्तोखाले नियति भोग्नु परेन । भलै आफूले जितेको दुई तिहाइ भूभाग गुमाउनु परे तापनि स्वतन्त्र रूपमा बाँच्न सक्यो, बाँचिरहेछ ।

राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायले पनि उनको त्यो कदमलाई यसरी न्यायोचित मूल्यांकन गर्दै आएको पाइन्छ : चीनका बादशाहले वि.सं. १८८१ मा मुख्तियार जनरल भीमसेन थापालाई ‘लालगजुर मयूरको कल्की’, पहिरन र ‘खिल्लत’ प्रदान गरेर ठूलो सम्मान गरेका थिए :थापाद्वय, १२१) । भीमसेन थापालाई चीनबाट प्रदान गरिएको यो सम्मान संसारकै सर्वोत्कृष्ट सम्मानहरूमध्ये एक थियो ।

भीमसेन थापालाई बन्दी बनाइएको खबर बि्रटिश राजदूत व्रायन हड्सनले हङकङमा रहेका आफ्ना गभर्नर जनरललाई धेरै ढिलो पठाइदिए । गभर्नर जनरलले त्यो खबर पाएपछि भीमसेन थापालाई केही नगर्नु भन्ने खबर पठाए । तर त्यो खबर आउन ढिलो भयो । खबर आइपुग्दा भीमसेन थापाको इहलीला समाप्त भइसकेको थियो । समयमा नै खबर पठाइदिएको र प्राप्त भएको भए त्यसबखत भीमसेन थापाको इहलीला समाप्त हुने थिएन ।

यो घटनाबाट व्रायन हड्सनले भीमसेन थापाको मृत्युको आधिकारिक खबर सुनेपछि हड्सन मुख्तियार भीमसेनको कट्टर विरोधी भए तापनि ‘रोएको’ इतिहास साक्षी छ । त्यसपछि राजदूत व्रायन हड्सनको उद्गार यस्तो थियो, ‘भीमसेन थापालाई वर्तमान देशीय राजनीतिज्ञहरूमा सिवाय रणजित सिंह, म एक जना पनि यस्तो व्यक्ति देख्दिनँ जो नेपालका स्वर्गीय भीमसेन थापासँग दाँजिन योग्य छन् ।’

यसरी विदेशी, स्वदेशी राष्ट्र प्रमुख, सरकार प्रमुख, नेता, कूटनीतिज्ञ र लब्धप्रतिष्ठित विद्वानहरूले राष्ट्रिय विभूति भीमसेन थापाका बारेमा अभिव्यक्त गरेका अन्य उद्गारहरू पनि मनन् गरौं :

कार्ल मार्क्स, ‘एशियामा अंग्रेजी साम्राज्यको विरोधी नेता एकमात्र (भीमसेन थापा) थिए ।’

पंजाब केशरी रणजित सिंह, ‘तेस्तो संभार गरि दिन्या मानिस मेरो साथमा भयादेखि यत्ति अम्मल गन्र्या थियाँ ।’

एच.ओल्डफिल्ड, ‘भीमसेन थापाका लागि राष्ट्रको स्वाधीनता भन्दा निकट र पि्रय अरू केही थिएन ।’

राजा रणबहादुर शाह, ‘म मरी मुलुक डुब्न्या छैन, भीमसेन मर्‍यो भन्या मुलुक डुब्न्या छ ।’

राजा त्रिभुवन, ‘भीमसेन थापाले अंग्रेजको मुखबाट बचाएको यो राज्यको हविगत हामीले हेर्नुपर्‍यो ।’

प्रधानमन्त्री चन्द्रशमशेर, ‘एउटा भीमसेन थापा नजन्मेको भए नेपाल उहिल्यै हिंडिसक्थ्यो ।’

यसरी स्वदेशी राष्ट्रप्रमुख समेतले व्यक्त गरेका भीमसेन थापाप्रतिका उद्गारहरू मुख्तियार भीमसेनले नै आफ्नो बढोत्तरीका लागि लेख्न लगाएका हुन् भनी भीमसेन थापाप्रति वक्रदृष्टि राख्नेहरूलेे लाञ्छना लगाएका छन् । यो कुरा स्वीकार गर्दा पनि विदेशी राष्ट्रप्रमुख र नेताहरू समेतले व्यक्त गरेका उद्गारहरूप्रति कहीं कतै व्याख्या, उल्लेख गरेको पाइँदैन । जबकि मुख्तियार भीमसेनका बारेमा त्यसरी उद्गारहरू अभिव्यक्त गर्ने विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख र नेताहरूसँग समेत भीमसेन थापाको कुनै नाता-सम्बन्ध थिएन । बरु उल्टै, पञ्जाब रणकेशरी रणजित सिंहसँग युद्ध समेत गर्नुपरेको थियो । यस्तो अवस्थामा राष्ट्रिय विभूति भीमसेन थापाप्रति अनर्गल प्रचार गर्नु वा लाञ्छना लगाउनु के उनीप्रति वक्रदृष्टि राख्नेहरूको पूर्वाग्रह होइन त !

एशियाली आस्थाका नेता कहलिंदै आएको मुख्तियार जनरल भीमसेन थापाको जन्म र मृत्युको अपव्याख्या कहिलेसम्म ? यो एक स्वाभाविक जिज्ञासा बनिरहेको छ । उनको जन्म वि.सं. १८३२ साउन ९ गते, मृत्यु वि.सं. १८९६ साउन १६ गते भएको सर्वविदित छ । ज्ञानु ढुंगेलद्वारा लिखित ‘मुख्तियार भीमसेन थापा र तत्कालीन नेपाली साहित्य’ ले पनि यसरी स्पष्ट पारिसकेको : भीमसेन थापाले जग्गा खरिद गरी यंगाल (हाल का.न.पा.वडा नं.२१, इकुवहाल समीप) मा जोडाएर बनाएको निजी घरभित्र नजरबन्दमा राखिएका थापाको इहलीला समाप्त भएथ्यो ।

यो घर क्याम्प यक्षविक्रम राणाले पाएका थिए । उनले पछि यो घरको मर्मतसम्भार गराएथे । उक्त घरमा बस्ने यक्षविक्रमका सन्तान ७९ वर्षीय डोरविक्रम राणा भीमसेनको मृत्यु यही घरमा भएको स्वीकार्छन् । त्यसघरको वस्तुस्थिति बुझ्दा डोरविक्रमको भनाइका आधारमा भीमसेनले आत्महत्या गरेको ठाउँ इकुवहाल समीप उनको निजी घर नै हो (ढुंगेल, ८०) ।

कोहीद्वारा नजानिंदो रूपमा भीमसेन थापाको नजिकै राखिदिएको खुकुरीको सहायता लिई उनी आफू सेरिएको वा कसैले गला रेटेको हुन सक्छ । सोही घरको चोकमा ९ दिनपछि उनी दिवंगत भएका हुन् । यी तथ्यहरूप्रति भीमसेन थापासँग सम्बन्धित तमाम् थापा पारिवारिक स्रोतहरूमाझ कुनै मतभिन्नता छैन, एकमत छ । उनलाई बन्दी बनाइएको तत्कालीन त्यो घरको कोठामा सिसाको झ्याल थिएन । उनको मृत्युको साधन बन्दुक पनि होइन । आत्महत्या स्थल खोलाको किनार पनि होइन ।

२. वि.सं. १८८६ को बोर्लाङमा बिर्ता पाएको जग्गाको लालमोहर । तस्वीर सौजन्य : सुशीलविक्रम थापा)

भीमसेन थापा न बोर्लाङ (गोरखा) मा जन्मेका हुन्, न बागदरबार (काठमाडौं) मा उनको मृत्यु भएको हो । उनको जन्म पिपलथोक (गोरखा) मा भएको हो । मृत्यु यंगालटोल (काठमाडौं) मा रहेको उनको निजी निवासमा भएको हो । यो तथ्य भीमसेन थापाको नाममा जारी भएको वि.सं. १८७५ को जग्गा सम्बन्धी लालमोहर, वि.सं. १८८४ मा स्थानीयसँग जग्गा खरिद गर्दा ठेगाना उल्लेख भएको तमसुक (लगनटोल मूलबाटोदेखि उत्तर घरको जनरल भीमसेन थापा) लिखत र वि.सं. १८८६ सालको बोर्लाङमा बिर्ता पाएको जग्गाको लालमोहरबाट प्रमाणित हुन्छ ।

यस्ता वास्तविक तथ्य प्रमाणहरू विपरीत विभिन्नखाले कपोलकल्पित प्रचारहरू हुँदैआए । उनीमाथि लगाइएको झुटा विष मुद्दाको वास्तविकता खुल्छ भनेर निर्णय हुनुभन्दा अगाडि नै भीमसेन थापाले आत्महत्या गरे भनेर उल्टो अर्थ पनि लगाइयो ।

चित्तरञ्जनद्वारा लिखित ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’, २०३५ मा लेखिएको विवरण यस्तो छ : ‘भीमसेन थापाले आफ्नु मुनासिवले फिरंगीसंग मिल्नाका कुरा सबै चीन बादशाहका हजुरमा खुलस्त जाला र मेरो झन शासना होला भनी आफ्नु गला आफैंले काटी मर्‍या (नेपाली, ४३) ।’

खोजकर्ता ढुंगेलले आफ्नो पुस्तकमा यसरी प्रष्ट पारेका छन् : ‘जसले आजीवन अंग्रेज नीतिको विरोध गर्‍यो र रोकिएको तिब्बतसँगको सम्बन्धलाई नवीकरण गर्‍यो त्यस्ता व्यक्तिलाई विपरित आरोप लगाएर उनको मृत्युको अपव्याख्या गरियो’ (ढुंगेल, ८१) । भीमसेन थापाका विरोधीहरूले आत्महत्याबारे कसलाई कसरी सुनाउँदा उनीहरूको विश्वास आफूमा पर्छ, त्यसरी नै सुनाउँदै गए । रणजंग पाण्डेको पतनपछि जारी भएका लालमोहरहरूमा भीमसेन थापाको मृत्युको बारेमा यथार्थ कुरा खुलेको छ । लालमोहरद्वारा धर्मपुत्र बनाइएका काजी नयनसिंह थापाका नाति शेरजंग थापाले मुख्तियार भीमसेन थापाको दाहसंस्कार गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?