+
+

माओवादी इमान्दार हुन्छन् तर बिकाउ माल होइनन् : शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते ७:५२

१० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य रेखा शर्माले माओवादी बिकाउ माल नभई इमान्दार र स्वाभिमानी भएको बताएकी छन् ।

नेकपा माओवादी केन्द्र दाङ २(१)को प्रशिक्षण भेलालाई आइतबार सम्बोधन गर्दै शर्माले माओवादीको स्वाभिमानलाई कायम राख्दै आगामी निर्वाचन जित्ने गरी तयारी गर्नुपर्ने बताइन् ।

माओवादीहरु इमान्दार भएकाले नै कतिपय राजनीतिक दलहरुले आफूतिर तान्न खोजेको बताउँदै माओवादी बिकाउ माल होइन भन्ने स्थापित गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘माओवादी इमान्दार हुन्छन् तर माओवादी स्वाभिमानी पनि छन् ।’

माओवादीहरुलाई सबैभन्दा सस्तो माल जसरी व्यवहार गर्न खोज्नेहरुलाई आगामी निर्वाचनमा परास्त गर्नुपर्ने उनले बताइन् । माओवादीहरुको कार्यशैली, जनतामा जाने शैली र दुःख गर्ने शैलीबाट नै प्रतिस्पर्धीहरुलाई परास्त गर्न सकिने उनको भनाइ छ ।

‘लोकतन्त्रको सवालमा एमालेभन्दा कांग्रेस इमान्दार देखियो’

कार्यक्रममा उनले लोकतन्त्रको सवालमा एमालेभन्दा कांग्रेस इमान्दार देखिएकाले पाँच दलीय गठबन्धन गरेर अघि बढेको बताइन् । उनले भनिन्, ‘हामीले निकै ठूलो सपनाका साथ एमालेसँग एकता गरेका थियौं तर एमालेको नेतृत्वले हाम्रो बलमा बहुमत प्राप्त गरेर हामीले ल्याएका अधिकारमाथि हमला गर्न थालेपछि एकता भंग भयो । यसबीचमा एमालेभन्दा लोकतन्त्रको सवालमा कांग्रेस नै इमान्दार देखियो ।’

कांग्रेसका तत्कालीन सभापति गिरिजा प्रसाद कोइराला र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मिलेर देशलाई अग्रगमनको बाटोमा अघि बढाएको भन्दै उनले अहिले त्यसकै जगमा टेकेर परिवर्तनलाई संस्थागत गर्न कांग्रेससँग सहकार्य गरेको बताइन् । व्यवस्था बचाउन र व्यवस्था अनुकूल जनताको अवस्था परिवर्तन गर्न पाँच दलीय गठबन्धन आवश्यक परेको उनको भनाइ छ ।

अहिले को सांसद बन्ने, को मन्त्री बन्ने र कसले जित्ने वा हार्नेभन्दा पनि संविधान र लोकतन्त्र बचाउने मुख्य सवाल भएकाले कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धनमार्फत आफूहरु अघि बढिरहेको शर्माले बताइन् । आगामी चुनाव पनि लोकतन्त्र रक्षाकै आधारस्तम्भ रहेको उल्लेख गर्दै उनले त्यसमा सबै लोकतान्त्रिक गणतन्त्र पक्षहरु एक हुनुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?