+
+

‘केहीबेर घाम लागे पनि अझै २/३ दिन मौसम सुध्रिंदैन’

हिले दशैं अस्वाभाविक प्रक्रिया होइन, संयोगमात्रै हो : वरिष्ठ मौसमविद कँडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १९ गते २१:०५
वरिष्ठ मौसमविद शान्ति कँडेल । फाइल तस्वीर

१९ असोज, काठमाडौं । एक साता अघिदेखि नै यसपालि दशैंमा मनसुनी वर्षा हुनसक्छ भनेर सचेत गराएको जल तथा मौसम पूर्वानुमान महाशाखाले झरी पार्ने प्रणाली अझै २/३ दिन कायम रहने जनाएको छ । विभागका अनुसार, पूर्व र मध्य नेपालमा खासै ठूलो पानी नपरेपनि पश्चिम र सुदूरपश्चिम क्षेत्रमा भारी वर्षादेखि अति भारी वर्षाको सम्भावना छ ।

बरिष्ठ मौसमविद् शान्ति कँडेलले केहीबेर घाम लागे पनि अझै दुई/तीन दिन मौसम राम्रोसँग नसुध्रिने बताइन् । उनले ‘हिले दशैं’ अस्वाभाविक प्रक्रिया नभइ संयोगमात्रै रहेको बताइन् ।

पछिल्लो समयमा विकसित मौसमी प्रणालीबारे बरिष्ठ मौसमविद् शान्ति कँडेलसँग अनलाइनखबरले गरेको कुराकानी :

पछिल्लो दुई दिनयता बदली भएर देशव्यापी वर्षा भइसकेको छ । के कारणले होला ?

बंगालको खाडीमा न्यूनचापीय क्षेत्र छ । त्यसैको प्रभावले नेपालमा असर गरिरहेको हो । हिजोदेखि नै वर्षा भएको त्यही कारणले हो । हिजो पूर्वी नेपाल अर्थात प्रदेश नं. १, मधेश र बाग्मती प्रदेशमा दिनभर वर्षा भयो ।

अहिले वर्षाको लहर बिहानसम्म आइपुग्दा ती क्षेत्र बाहेक गण्डकी, लुम्बिनी हुँदै कर्णाली प्रदेशसम्म पनि पुगिसकेको छ । सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले वर्षा भइरहेको छ ।

झरी सबैतिर एकनास हो कि फरक–फरक छ ?

देशव्यापी रुपमा वर्षा भएता पनि केही ठाउँमा मात्रै भारी वर्षा भएको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा आजदेखि भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना देखिन्छ ।

पानी परेपछि किन पानी आयो, कहिल्यै विकसित नभएको प्रणाली हो कि, भन्ठान्छौं । हिले दशैं अस्वाभाविक प्रक्रिया होइन, संयोगमात्रै हो ।

आज दिनभर केही स्थानमा भारी वर्षा हुन्छ भने बेलुकीदेखि सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना छ । बाकी ठाउँमा भने एक/दुई स्थानमा मात्रै भारी वर्षाको सम्भावना छ ।

यो अवस्था कहिलेसम्म कायम रहन्छ ?

वर्षा गराउने मौसमी प्रणाली अझै दुई/तीन दिन रहन्छ । हामीले तीन दिनको बुलेटिनमा यो कुरा भनेका छौं । अबको तीन दिन मौसममा सुधार हुँदैन । अर्थात झरी रोकिएर घाम लाग्दैन । अहिले पनि पूर्वी नेपालको तुलनामा पश्चिमतिर ज्यादा वर्षा भइरहेको छ । हामीले सामान्यतयाः तीन दिनको मात्रै मौसम पूर्वानुमान गर्ने भएकाले २/३ दिन लाग्छ भनेका हौं ।

अबका केही दिन हिंडडुल गर्दा र खेतीबाली भित्र्याउँदा पानी पर्नसक्छ है भनेर चनाखो हुनुपर्छ । तत्कालका लागि मौसम सफा भएपनि अब चाहिं पानी नपर्ला भनेर सोच्न र तयारी विना केही योजना बनाउन मिल्दैन ।

पूर्वी र मध्यभागतिर कहिलेदेखि मौसममा सुधार होला ?

पूर्वी र मध्य भागतिर त्यस्तो अविरल वर्षा अब हुँदैन । घाम लाग्ने, केही समय बदलिने र क्षणिक वर्षा हुने भइरहन्छ । आगामी शुक्रबार, शनिवारसम्म नै यो अवस्था कायम रहन्छ । यी ठाउँमा केही समय घाम पनि लाग्न सक्छ, तर ढुक्क हुने अवस्था हुँदैन । केहीबेरमा बदली भइहाल्नसक्छ र फेरी पानी पर्छ ।

पश्चिमी भागमा चाहिँ ? 

पश्चिमतिर मौसम तत्काल सफा हुने अवस्था छैन । भारीदेखि केही ठाउँमा धेरै भारी वर्षा हुनसक्छ । रातिदेखि नै पश्चिमी भागहरुमा पानी परिरहेको छ । अति भारी वर्षा हुने ठाउँमा रहेकाहरुलाई जोखिमको अवस्था हेरेर मोबाइलमा अलर्टको सन्देश समेत आउनसक्छ ।

काठमाडौं उपत्यकाको अवस्था कस्तो हुन्छ ?

काठमाडौंमा पानी परिरहेको छ । दिउँसो २/३ बजेपछि पानी कम हुन वा रोकिन सक्छ । तर राति फेरि वर्षा हुन्छ । भोलि पनि पानी पर्नेजस्तो देखिन्छ । काठमाडौंमा वर्षा भइरहेपछि वायुसेवा उडान र अवतरणका लागि हुनुपर्ने पारदर्शिता छ । त्यसैले अन्तर्राष्ट्रिय उडानलाई प्रभाव नपर्ला । तर आन्तरिक उडान भने बिथोलिन सक्छ ?

यो मनसुन प्रणाली अन्तर्गतकै वर्षा हो ?

यो मनसुनी वर्षा नै हो । मनसुनी प्रभाव नेपालबाट बाहिरिएको छैन । अक्टोबर २ (असोजको १६) तिरदेखि नेपालमा मनसुनी वर्षाको प्रभाव रहँदैन भन्ने गरिन्छ । औसतमा यही मितिमा मनसुन बाहिरिने हो । तर आज अक्टोबर ५ भइसकेको छ । अझै केही दिन मनसुनी वर्षा कायम रहन्छ ।

यसपालि मनसुनी प्रणाली ढिलोसम्म रह्यो कि दशैं अलि चाँडो परेकाले ‘हिले दशैं’ भएको हो ?

अक्टोबर २ सम्म मनसुनी प्रभाव रहने औसत समय रहेकाले त्यसभन्दा तीन दिनसम्म ढिलोसम्म नेपालमा मनसुन कायमै रहेको छ । कहिलेकाहीँ मनसुन सकिने बेलामा मौसम सफा हुन्छ । तर हामीलाई मनसुन सकियो कि सकिएन भन्ने थाहा हुँदैन ।

पानी परेपछि किन पानी आयो ? कहिल्यै विकसित नभएको प्रणाली हो कि ? भन्ठान्छौं । यो कहिल्यै विकास नभएको वा अस्वाभाविक प्रक्रिया होइन । केही वर्ष अघि पनि दशैंका बेलामा वर्षा भएका उदाहरणहरु भेटिन्छन् ।

अर्को कुरा, यसपालि दशैं छिटो पनि छ । मनसुन लम्बिनु र दशैं अलि छिटो भएकाले हिले दशैं अस्वाभाविक प्रक्रिया होइन, संयोगमात्रै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?