+
+

एमालेका जीवन घिमिरेले पनि पाए टिकट, जसपाका सिंह भन्छन्– आधिकारिक उम्मेदवार म हुँ

हरि अधिकारी हरि अधिकारी
२०७९ असोज २३ गते १३:०७

२३ असोज, विराटनगर । जसपाको भागमा परेको मोरङ क्षेत्र नम्बर ४ को ‘ख’मा नेकपा एमालेले जीवन घिमिरेलाई टिकट दिएको छ । यसप्रति असन्तुष्टि जनाउँदै जसपा उम्मेदवार सञ्जय सिंहले आधिकारीक उम्मेदवार आफू भएको दाबी गरेका छन् ।

नेकपा एमाले र जसपाबीच चुनावी तालमेल हुँदा क्षेत्र नम्बर ४ को ‘ख’ जसपाको भागमा परेको थियो । जसपाले सो क्षेत्रमा सञ्जय सिंहलाई टिकट दिइसकेको थियो ।

तर घिमिरेले आइतबार दिउँसो एमालेले आफ्नो नाममा टिकट पठाएको बताए । ‘पार्टीबाट मेरो टिकट आएको छ,’ उनले भने, ‘दिउँसो २ बजेपछि मनोनयन दर्ता गर्छु ।’

जसपा नेता सिंहले भने विपक्षी गठबन्धनको आधिकारिक उम्मेदवार आफू रहेको बताए । ‘गठबन्धनमा भएको सहमति सबैले हेर्नु भएको होला,’ उनले अनलाइनखबरसँग भने, ‘सहमति अनुसार गठबन्धनको आधिकारिक उम्मेदवार म हो, आज दिउँसो निर्वाचन कार्यालयमा भेला भएर एमालेसँग संयुक्त रुपमा मनोनयन दर्ता गराउँछु ।’

जसपा र एमालेबीच गठबन्धन गर्दा मोरङ क्षेत्र नम्बर ४ को ‘ख’,  प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर ५, प्रदेश सभातर्फ ५ को ‘ख’ र क्षेत्र नम्बर ६ को ‘ख’ जसपाको भागमा परेको थियो । ४ को ‘ख’ जसपालाई दिन नहुने भन्दै एमाले नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर दबाब दिएका थिए ।

नेकपा एमालेभित्र १० बुँदे पक्षधर भनेर चिनिने नेता घिमिरे मुख्यमन्त्रीको दाबेदार पनि हुन् ।

जीवन र सञ्जयमध्ये जसले टिकट पाए पनि सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार भीम पराजुलीसँग प्रतिस्पर्धा हुनेछ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?