+
+

‘सेफ जोन’ मा देखिन्छन् शीर्ष नेता

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ असोज २३ गते २२:१०

२३ असोज काठमाडौं । सत्ता गठबन्धन र एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धनबीच आसन्न चुनावमा कडा टक्करको तयारी भइरहेको छ । दुवै पक्षका शीर्ष नेताले भने आफू उम्मेदवार रहेको क्षेत्रलाई तुलनात्मक रुपमा सुरक्षित राखेका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा नै हेरौं न । देउवाले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरे । यो उनको सधैंको सुरक्षित क्षेत्र हो ।

वारेस बनेर उनकी पत्नी आरजु राणाले डडेलधुरा पुगेर देउवाको उम्मेदवारी दर्ता गरिदिएकी हुन् । २०४८ देखि निरन्तर डडेलधुराबाट चुनाव जित्दै आएका देउवा यसपटक अझ बढी सुरक्षित छन् । गत स्थानीय तहको चुनावी नतिजा र पाँचदलीय गठबन्धनले उनको जनाधारलाई अझै बलियो बनाउन सघाएको छ ।

३० वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा कांग्रेसले सातमध्ये पाँच पालिका र २९ वडा अध्यक्ष जितेको थियो । बाँकी दुई पालिका र १३ वडा अध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको छ । एमालेले ५२ मध्ये ४ वडा अध्यक्ष मात्रै जितेको छ । नेकपा एकीकृत समाजवादीका २ र स्वतन्त्रबाट २ वडा अध्यक्ष छन् । कांग्रेस (बीपी) का तर्फबाट पनि २ वडा अध्यक्ष निर्वाचित भएका छन् ।

कांग्रेस (बीपी) बाटै कर्ण मल्ल देउवासँग चुनाव लड्दैछन् । उनलाई एमालेको समर्थन छ । तर, स्थानीय तहको मतका आधारमा देउवालाई मल्लले चुनौती दिने सम्भावना न्यून छ ।

डडेलधुरामा गत स्थानीय तहको चुनावमा वडा अध्यक्षले पाएको मतका आधारमा कांग्रेस पहिलो दल छ । कांग्रेसले २१ हजार ७३५ मत पाउँदा १२ हजार ८७८ मत ल्याएर माओवादी केन्द्रले दोस्रो स्थानमा छ । एमालेले १० हजार ४४९ मत ल्याउँदा एकीकृत समाजवादीले ५ हजार ४१ मत पाएको छ । कांग्रेस बीपीले ३ हजार ६०४ मत पाउँदा राप्रपाले ७१४ र जनता समाजवादी पार्टीले १५६ मत पाएको छ ।

त्रासमुक्त ओली

यसपालिको चुनावमा सत्ता गठबन्धन र एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धनलाई जित्नुपर्ने ठूलै दबाव छ । कांग्रेस, एमाले र माओवादी केन्द्रका अध्यक्षहरुलाई आफ्नो देशव्यापी प्रभाव कति होला भन्ने तनाव, दबाव हुने नै भयो । तर एमाले अध्यक्ष भने हल्का भावमा मुसुमुसु हाँस्दै उम्मेदवारी दर्ता गराउन आज आइतबार झापा पुगे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट उम्मेदवारी दिएका छन् । दमक नगरपालिकाको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।

मनोनयन दर्ता गर्न पुग्दा ओलीको मुहारमा चमक देखिन्थ्यो । उनी उत्साहित मुद्रामा थिए । यसको पछाडि एमालेलाई अन्यत्र जस्तोसुकै दबाव भए पनि अध्यक्ष ओलीलाई व्यक्तिगत रुपमा जित्न सहज छ भन्ने परेको अनुमान गर्न गाह्रो पर्दैन । गत स्थानीय तहको चुनाव र चुनाव जित्न ओलीले गरेको चुनावी तालमेलले पनि उनलाई चुनावी परिणामप्रति विश्वास जागेको हुनसक्छ ।

२०४८ साल यता हरेक चुनावमा निरन्तर उठ्दै आएका ओलीले एक पटक (०६४ सालमा माओवादी नेता विश्वदीप लिङ्देनसित पराजित) हार बेहोरेका छन् । तथापि, तीन पटकसम्म मुलुकको प्रधानमन्त्री भइसकेका ओलीलाई एमालेले चुनावपछि फेरि पनि प्रधानमन्त्रीका रुपमा अगाडि सारेको छ । भावी प्रधानमन्त्रीका रुपमा चुनावी मैदानमा उत्रिएका ओलीलाई राप्रपाको पनि साथ छ । गत स्थानीय तहको चुनावी नतिजाले ओलीलाई राप्रपाको साथले जीत सहज हुने देखाउँछ ।

झापा ५ मा पर्ने विभिन्न पालिकाहरुमा वडा अध्यक्षले पाएको मत अनुसार एमाले पहिलो दलका रुपमा रहेको छ । एमालेले ४५ हजार ५१५ मत ल्याउँदा कांग्रेसले २४ हजार ९९५ मत ल्याएको छ । नेकपा माओवादी केन्द्रले १२ हजार ४४४ मत ल्याउँदा राप्रपाको ८ हजार ७७४ मत पाएको छ । स्वतन्त्रले ३ हजार ४७२ मत पाउँदा नेकपा एकीकृत समाजवादीले १ हजार ९९१ मत पाएको छ ।

उत्साही प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ बाट उम्मेदवारी दिएका छन् ।

गोरखाको भू तथा जलाधार व्यवस्थापन कार्यालयस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्दै गर्दा प्रचण्डसँगै थिए – पूर्वप्रधानमन्त्री एवं जनयुद्धका सहयात्री डा.बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायाणकाजी श्रेष्ठ थिए ।

प्रचण्डले उम्मेदवारी दिएकै निर्वाचन क्षेत्रबाट बाबुराम र नारायणकाजीले अघिल्लो चुनावमा प्रतिस्पर्धा गरेका थिए । यसपटक प्रचण्डको उम्मेदवारी मनोनयनमा प्रस्तावक डा. भट्टराई र समर्थकमा श्रेष्ठ नै रहेका छन् ।

चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने चर्चाका बीच प्रचण्ड एकाएक गोरखा गएका हुन् । नेताहरुका अनुसार उनी गोरखा जानुको कारण हो– सहज जित । चितवन ३ मा कांग्रेसको शेखर कोइराला पक्षको असहयोग हुन सक्ने, शेरबहादुर देउवा पक्षले नै पनि प्रधानमन्त्रीको दौडमा रहेका प्रचण्डलाई हराउन सक्ने आकलनका बीच प्रचण्डले गोरखा–२ रोजेका हुन् ।

गत स्थानीय तहको चुनावी नतिजाले गोरखा–२ मा प्रचण्डको जित सहज देखिन्छ । गत स्थानीय तहको चुनावमा माओवादी केन्द्रले ११ मध्ये ९ पालिका प्रमुख जितेको छ । बाँकी दुई पालिका प्रमुख कांग्रेसले जितेको छ ।

वडा तहको मत विश्लेषण गर्दा गोरखा–२ मा पहिलो दलका रुपमा रहेको माओवादी केन्द्रको २२ हजार २५० मत छ । कांग्रेसको २१ हजार १३६ मत छ भने एमालेको ७ हजार ९२६ मत छ । जनता समाजवादी पार्टीको ७ हजार ५०४ र राप्रपाको ८७८ मत छ । कांग्रेस, माओवादी एकीकृत समाजवादी एक ठाउँ रहेकाले पनि प्रचण्ड उत्साही देखिन्छन् ।

ढुक्क माधव

पार्टी खुलेको त भर्खरै हो, तर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उत्साहित गराउने कारण सत्ता गठबन्धन बन्न पुगेको छ ।

त्यसैको बलमा गत चुनावमा आफू उठेको काठमाडौंबाट सरेर उनले गृहजिल्ला रौतहट १ बाट उम्मेदवारी दिएका छन् । आइतबार जिल्ला सदरमुकाममा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् ।

गत स्थानीय तहको चुनावी नतिजामा माधव नेपाल नेतृत्वको पार्टी नै रौतहट १ मा पहिलो पार्टी हो । वडाअध्यक्षले पाएको मतका आधारमा नेकपा एकीकृत समाजवादीले १९ हजार ६९८ मत ल्याउँदा कांग्रेसले १६ हजार ९२८ मत पाएको छ । तेस्रो स्थानमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीले १२ हजार ६२ मत पाएको छ । रौतहट १ मा जसपाले ८ हजार २४१ मत पाउँदा माओवादी केन्द्रले ८ हजार १९१ मत पाएको छ ।

माधव नेपाललाई कांग्रेस, माओवादी, लोकतान्त्रिक समाजवादी पार्टीको साथ छ । उनको निर्वाचन क्षेत्रमा एमाले ७ हजार ३८३ मत सहित छैटौं स्थानमा छ । यसकारण पनि माधव नेपाल चुनाव जित्नेमा ढुक्क देखिन्छन् ।

झलनाथलाई कांग्रेसको आड

विगतमा एमालेका महासचिव तथा अध्यक्ष रहेका झलनाथ खनाललाई इलाम १ मा यसपल्ट पुरानो पार्टीका आफ्नै कार्यकर्तासँग भिड्नुपर्नेछ । एमाले इलाम जिल्ला अध्यक्ष महेश बस्नेतसँग उनले सत्ता गठबन्धनको बलमा चुनाव लड्नेछन् ।

२०५६ सालको चुनावमा झिनो मतान्तरले हारेबाहेक २०४८ यताका बाँकी सबै आम चुनाव जितिरहेका खनाल अहिले नेकपा एकीकृत समाजवादीमा छन् ।

झलनाथ खनाल गठबन्धनमा रहेका दलहरुको पूर्ण साथ पाउने आशामा छन् । स्थानीय चुनावलगत्तै कांग्रेसबारे कडा आलोचना गरेका कारण उनका कतिपय शुभेच्छुक बिच्के पनि उनी सक्दो सम्झाईबुझाई गर्न लागेका छन् । खनाल तुलनात्मक रुपमा सुरक्षित नै देखिन्छन् । यसको प्रमुख आधार कांग्रेसको समर्थन नै हो ।

गत स्थानीय तहको वडा तहको मतका आधारमा इलाम–१ मा एमाले पहिलो दल हो । एमालेले २६ हजार ८४३ मत पाउँदा कांग्रेसले २५ हजार ७७२ मत ल्याएको छ । खनालको पार्टी नेकपा एकीकृत समाजवादीको ९ हजार ८४१ मत छ । नेकपा माओवादी केन्द्रको १ हजार २३५ मत छ ।

खनालले चुनाव जित्न कांग्रेसले विना संकोच मत दिनुपर्ने हुन्छ । कांग्रेसले पूरापूर मत दिंदा खनालको जित सहज हुने देखिन्छ । कांग्रेसले तल–माथि गर्यो भनेचाहिं यसै भन्न सकिन्न ।

रामचन्द्रलाई आश

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ १ बाट उम्मेदवारी दर्ता गरे । गत स्थानीय तहको चुनावी नतिजा र वडा तहमा पाएको मत हेर्दा आफ्नै पार्टीका नेता/कार्यकर्ता र गठबन्धनमा रहेका दलहरुले धोका नदिए पौडेलको जित सहज देखिन्छ । तर, यसैमा चुनौती महसुस गरेर पौडेलले आफू अन्तिम पटक चुनाव लड्न लागेको भनी भावनात्मक कुरा गरेर भोट माग्न थालिसके ।

भदौ पहिलो साता तनहुँबाट केन्द्रीय राजनीतिमा प्रतिनिधित्व गर्ने नेताहरूलाई काठमाडौंमा भेला गरेर पौडेलले भनेका थिए, ‘जहाँबाट चुनाव हारेँ, त्यहीँबाट जितेर मात्र मर्न चाहन्छु ।’ अर्थात, गठबन्धनमा भागबण्डा नटुंगिदै पौडेलले भोट माग्न थलिसकेका थिए ।

२०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनका उम्मेदवार किसान श्रेष्ठसँग पराजित भएका पौडेल यसपालि उत्साही छन् । किनभने अघिल्लो चुनावमा विजयी श्रेष्ठ नै यसपालि पौडेलको पक्षमा छन् ।

३० वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा वडा तहमा पाएको मत संख्याका आधारमा पौडेलको निर्वाचन क्षेत्रमा कांग्रेस नै पहिलो दल हो । कांग्रेसले ३३ हजार १०६ मत वडा अध्यक्षमा पाउँदा एमालेले २२ हजार २१० मत ल्याएको छ । नेकपा माओवादी केन्द्रले ८ हजार ४७४ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीको ८९२ मत छ ।

ईश्वर पोखरेलको के होला ?

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं ५ बाट उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुरा उनले आफूले विजय प्राप्त गर्ने विश्वास व्यक्त गरे । ‘निर्वाचनमा हाम्रो विजय प्राप्त हुन्छ भन्नेमा कुनै द्विविधा छैन । त्यसको आधारमा भनेको हामीले अघि सारेका विचार, गरेका काम र योजना नै हुन्’ उनले भने ।

पोखरेलले २०७४ सालको चुनावमा कांग्रेसका प्रकाशशरण महतलाई पराजित गरेका थिए । यसपालि पोखरेलसँग कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रतिस्पर्धा गर्दैछन् ।

स्थानीय तहको चुनावी नतिजा र वडा अध्यक्षमा पार्टीहरुले पाएको मतका आधारमा काठमाडौं ५ मा एमाले नै पहिलो दल हो । एमालेले १९ हजार २२९ मत ल्याउँदा कांग्रेसले १४ हजार ५३२ मत प्राप्त गरेको छ । ईश्वरलाई साथ दिएको राप्रपा तेस्रो स्थानमा छ । राप्रपाले २ हजार ७२९ मत पाएको छ ।

यो क्षेत्रमा वडा अध्यक्षमा नेकपा एकीकृत समाजवादीले १ हजार ५५३ र माओवादी केन्द्रको १ हजार १३९ मत छ । नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको पौडेललाई साथ छ । रञ्जु दर्शना लगायत केही नयाँ पार्टीबाट समेत उम्मेदवारी परेको छ । र पनि वडा तहमा पाएको मत संख्याको आधारमा राप्रपाको साथ पाएका ईश्वर आफैंले चुनाव जित्नेमा बढ्ता आशावादी देखिन्छन् ।

त्रासमा उपेन्द्र र महन्थ

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले सप्तरी–२ बाट उम्मेदवारी दर्ता गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले महोत्तरी–३ बाट उम्मेदवारी दिएका छन् । यी दुवै नेता त्रासमा छन् । दुवैले व्यक्तिगत मतका आधारमा चुनाव जित्ने रणनीति बनाएका छन् ।

पाँचदलीय सत्ता गठबन्धनबाट पार्टीलाई उचित सिट दिलाउन नसक्ने भन्दै एमालेसँग सहकार्य गर्न पुगेका उपेन्द्र यादवले आफ्नो जित देखेका छन् । किनभने, गत स्थानीय तहको चुनावमा वडा तहमा पाएको मतका आधारमा यादव नेतृत्वको पार्टी सप्तरी २ मा पहिलो पार्टी हो । वडा अध्यक्षमा जसपाले १४ हजार ४०३ मत पाउँदा कांग्रेसले १० हजार ८०७ र लोकतान्त्रिक समाजवादी पार्टीले १० हजार ४३५ मत पाएको थियो । माओवादी केन्द्रले ९ हजार ५३४ मत पाउँदा एमालेले ५ हजार ९५१ मत पाएको थियो ।

सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतको पनि उम्मेदवारी परेको छ । वडा अध्यक्षमा पाएको मतका आधारमा यो क्षेत्रमा ४ हजार ५४२ मत पाएको जनमत पार्टी छैटौं स्थानमा छ । सप्तरी–२ मा सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता तथा पूर्वमन्त्री जयप्रकाश ठाकुरले पनि उम्मेदवारी दिएका छन् । यसकारण उपेन्द्र यादवलाई पार्टीगत भोटका आधारमा चुनाव जित्न मुश्किल देखिन्छ ।

तर, व्यक्तिगत भोटका आधारमा चुनाव जित्ने उपेन्द्र यादवको रणनीति छ । यादव २०७४ सालमा सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । २०६४ र २०७० मा उनी सुनसरी ५ बाट निर्वाचित भएका थिए ।

उता, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष ठाकुरलाई यसपालि कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको समर्थन छ । ठाकुरविरुद्ध एमालेसहितको समर्थनमा जनता समाजवादी पार्टीबाट हरिनारायण यादवले उम्मेदवारी दिएका छन् ।

गत स्थानीय तहमा वडा अध्यक्षमा पाएको मतका आधारमा यो क्षेत्रमा सबैभन्दा ठूलो दल जसपा हो भने लोसपा दोस्रो स्थानमा छ । जसपाले १४ हजार ३५७ मत पाउँदा लोसपाले १२ हजार ७३५ मत पाएको छ ।

जसपालाई समर्थन गरेको एमालेको १० हजार ८२० मत छ । ठाकुरले समर्थन पाएको कांग्रेसको ९ हजार ४३, माओवादी केन्द्रको ५ हजार १९५ र नेकपा एकीकृत समाजवादीको २ हजार १७० मत छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?