+

मूलपानी क्रिकेट मैदानको नयाँ डिजाइन, २० हजार ८७८ दर्शक क्षमता

२०८१ वैशाख  २४ गते १८:३५ २०८१ वैशाख २४ गते १८:३५
मूलपानी क्रिकेट मैदानको नयाँ डिजाइन, २० हजार ८७८ दर्शक क्षमता

२४ वैशाख, काठमाडौं । राष्ट्रिय गौरवको आयोजनामा परेको मूलपानी क्रिकेट मैदानको डिजाइन युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थितिमा मूलपानी मैदानका बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो ।

डिजाइनअनुसार हालको तल्लो मूलपानी मैदानलाई प्रमुख मैदानको रूपमा निर्माण गरिने छ । जहाँ २० हजार ८७८ दर्शक क्षमता रहने छ ।

यसको मुख्य विशेषता मैदानमा जडान गरिने सब–एयर प्रविधि हुनेछ । जसले गर्दा पानी परेको १० देखि १२ मिनेटभित्र खेल खेल्न मैदान तयार हुनेछ ।

डिजाइनमा तल्लो र माथिल्लो मुलपानी मैदान दुवै रहेका छन् । रंगशालामा तीन तलाको अन्डर ग्राउन्ड पार्किङ, पुरूष र महिलाको लागि तीन सय क्षमताको होस्टेल, पौडी पोखरी, सुविधा सम्पन्न ट्रेनिङ सेन्टर, फ्लड लाइट, साउन्ड सिस्टम, डिजिटल डिस्प्ले बोर्ड रहने छ ।

त्यस्तै इन्डोर र आउटडोर प्रशिक्षणस्थल लगायतका संरचना रहने छन् । हालको माथिल्लो मुलपानी ग्राउन्ड प्रशिक्षण मैदानको रूपमा रहने छ ।

सोमबार प्रस्तुत गरिएको डिजाइन अनुसारको सुविधासम्पन्न अत्याधुनिक रंगशाला निर्माणका लागि ७ अर्ब ३४ करोड ७० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

गत कात्तिक २३ गते राष्ट्रिय गौरवको आयोजनामा परेपछि राष्ट्रिय खेलकुद परिषद्ले निर्माणको लागि पुल्चोक इन्जिनियरिङ कलेजसँग सम्झौता गरेको थियो ।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले यो वर्ष मैदानको लागि ५० करोडदेखि १ अर्ब सम्मको बजेट निकासा हुने सम्भावना रहेको बताए ।

उनले रंगशालाको डिजाइनमा दर्शकको सुरक्षा नै प्रमुख रहने भन्दै सबैभन्दा बढी ध्यान दिनुपर्ने बताए । यो डिजाइनमा अझै काम गर्न पनि उनले निर्देशन दिएका छन् ।

सदस्य सचिव टंकलाल घिसिङले यसलाई मेगा प्रोजेक्टको रूपमा अगाडि बढाएको भन्दै आगामी बजेटमा प्राथमिकता राख्नुपर्ने बताए ।

गत कात्तिक २३ गते सरकारले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समेटेको थियो ।

मुलपानी क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय