+
+

फेन्सिङका स्वर्ण विजेता डाक्टर सा’ब

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ असोज २८ गते १९:१०

२८ असोज, काठमाडौं । ३८ वर्षको उमेर सामान्यतः सक्रिय खेल जीवनबाट विदा लिने समय हो । तर, डा. मनिष थापा यो उमेरमा राष्ट्रिय च्याम्पियन बनेका छन् ।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङको सेवर विधामा उनले टिम स्पर्धामा स्वर्ण पदक जितेका छन् । फेन्सिङ खेल्न सुरु गरेको चार वर्षमै राष्ट्रिय च्याम्पियन बन्नु नेपाली सेनाका मेजर डा. मनिषका लागि एउटा सपना पूरा भएजस्तै रह्यो ।

‘यो प्रतियोगितादेखि फेन्सिङमा मैले आठौं वरीयता पाएको छु । ढिला सुरु गरेर पनि पहिलो प्रयासमै यो सफलता मेरा लागि ठूलो उपलब्धि मानेको छु,’ अनलाइनखबरसँगको कुराकानीमा डा. मनिष भन्छन्, ‘यो सपना पूरा भएजस्तै हो ।’

पेशाले मनिष चिकित्सक हुन् । १५ वर्षअघि नेपाली सेनामा भर्ती भएयता मेडिकल क्षेत्रमा योगदान गर्ने लक्ष्य थियो । उनी इन्टरभेन्सनल रेडियोलोजिस्ट हुन् । सन् २०१८ मा भारत पुनेको आर्मफोर्स मेडिकल कलेजबाट डायग्नोस्टिक रेडियोलोजीमा पोष्ट ग्राजुएट गर्दाका क्रममा फेन्सिङबारे थाहा पाएपछि उनको करिअरले अर्को मोड लियो ।

‘पुनेमा मैले भारतीय सेनामा कार्यरत गोर्खाली सैनिकहरुको उपचारका क्रममा यो खेलबारे थाहा पाएको हुँ । उनीहरुसँगै फेन्सिङ हेर्न जाँदा मलाई यसको गियर (खेल पोशाक) र तरबारले आकर्षित गर्यो’, डा. मनिषले भने, ‘त्यसपछि नेपाल फर्केर प्रशिक्षण गर्न थालेँ । राष्ट्रिय प्रतियोगिता पहिलो पटक खेलेको हो ।’

फेन्सिङमा शारीरिक तन्दुरुस्ती (फिजिकल फिटनेस) सँग मानसिक तन्दुरुस्ती (मेन्टल फिटनेस) को आवश्यकता पर्ने उनले बुझेका छन् । अन्य व्यवसायिक व्यक्तिहरुलाई फेन्सिङमा लाग्न उनको सुझावसमेत छ ।

‘व्यवसायिक रुपमा म डाक्टर हुँ । खेल मेरो प्यासन हो । तर, खेलले मलाई जीवनमा अगाडि बढ्न धेरै सहयोग गरेको छ,’ उनले थपे, ‘मेरो अनुरोध के छ भने अन्य अफिसरहरु पनि फेन्सिङमा इच्छुक हुनुहुन्छ भने प्रशिक्षण गर्नुहोस् । त्यसबाहेक मेरोजस्तै करिअरका अन्य मानिसहरु पनि आउनुभयो भने यो खेललाई ठूलो फाइदा पुग्नेछ ।’

चार वर्षयता विहान फेन्सिङ प्रशिक्षण र दिउँसो अस्पतालको जिम्मेवारी मनिषको दैनिकी बनेको छ । विहान सातदेखि साढे ८ बजेसम्म लगनखेलस्थित त्रिभुवन आर्मी क्लबमा प्रशिक्षण सकेर दिनभर छाउनीस्थित सैनिक अस्पतालमा जिम्मेवारीमा खटिन्छन् ।

आर्मीलाई चुनौती थपियो

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङमा १२ स्वर्णका लागि ६ टिमबीच प्रतिस्पर्धा भएको थियो । जसमा पहिलो भएको आर्मी टिमले ५ स्वर्ण, ६ रजत र ७ कांस्यसहित १८ पदक जितेको छ । यो कुल पदकको ३७ प्रतिशत हो ।

त्रिभुवन आर्मी क्लबको फेन्सिङ टिम कप्तानसमेत रहेका मेजर डा. मनिषले अपेक्षाअनुसार पदक जित्न नसके पनि टिम च्याम्पियन हुन पाएकोमा गर्व लागेको बताएका छन् । पहिलो प्रतियोगितामै कप्तानको जिम्मेवारी र टिमलाई च्याम्पियन बनाउन पाउनु उनको ठूलो सफलता हो ।

‘हामीले नवौंका लागि विशेष प्रशिक्षण सुरु गरेका थियौं । त्यसो त हाम्रा खेलाडीहरुले वर्षभरि नै प्रशिक्षण गर्ने गरेका छन्’, आफ्नो टिमको तयारीबारे उनले सुनाए, ‘पहिलो महिना हामी फिजिकल फिटनेसमा तयारी गरेका थियौं भने बाँकी एक महिना प्राविधिक पक्षमा केन्द्रित थियौं । टोलीका सबै खेलाडी खेलका लागि तयार थियौं । त्यसैले च्याम्पियन बन्न सक्यौं ।’

आर्मीका लागि यो सफलता यसअघिका प्रतियोगितामा जस्तो सहज भने भएन । अर्को विभागीय टोली एपीएफ र बागमती प्रदेशको चुनौती अघिल्ला प्रतियोगिताभन्दा बलियो थियो । त्यसबाहेक घरेलु टोली गण्डकी, सुदूरपश्चिम र प्रदेश १ का केही खेलाडीले पनि प्रचुर सम्भावना देखाए ।

‘सुदूरपश्चिम एउटा नयाँ टिम एकदमै राम्रो तरिकाबाट तयारी गरेर आएको देखियो । गण्डकीका खेलाडीहरुमा हौसला निकै राम्रो थियो । १ नम्बर प्रदेशमा पनि केही खेलाडीहरु उत्कृष्ट थिए’ डा. मनिष भन्छन्, ‘फेन्सिङले यसैगरी निरन्तरता पायो भने राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा पनि राम्रो क्षमताको खेलाडी निस्कन सक्छन् भन्ने लाग्छ ।’

फिजिकल फिटनेस राम्रो भएकै कारण आर्मीले अन्य टिमलाई माथ दिन सकेको उनको बुझाइ छ । ‘राष्ट्रिय स्तरमा हुने यस्ता प्रतियोगिताले नयाँ पुस्तालाई प्रोत्साहित गर्नेछ भन्ने हाम्रो आशा छ । किनभने अन्तर्राष्ट्रियस्तरमा खेलाडी उत्पादन गर्न धेरै कोशेढुंगा पार गर्नुपर्छ । आयोजक कमिटीले गरेको प्रयास सह्राहनीय छ’, उनले थपे ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?