+

एक्स-रे किन गरिन्छ ?

२०८० चैत  १२ गते १७:१२ २०८० चैत १२ गते १७:१२
एक्स-रे किन गरिन्छ ?

कुनै न कुनै समयमा शरीरको कुनै अंगको एक्स-रे हामीमध्ये धेरैले गराएकै हुन्छौं । यो जाँचबारे सबैजसो मानिसले बाल्यकालदेखि नै सुनेकै हुन्छन् ।

एक्स-रे भन्नेबित्तिकै हाम्रो दिमागमा एउटा कालो तस्वीर अगाडि आउँछ, जसमा हड्डीको तस्वीर देखिन्छ । तर यसको काम तस्वीर देखाउने मात्र होइन, अन्य धेरै छन् । जसको वास्तविक जानकारी कमैलाई थाहा होला ।

एक्स-रे के हो ?

एक्स-रे एक प्रकारको इमेजिङ परीक्षण हो । जसले तपाईंको हड्डी र त्यससँग जोडिएको अन्य अंगको तस्वीर बनाउँछ । एक्स-रे मेसिन यो चित्र बनाउन सुरक्षित मात्रामा विकिरणको उपयोग गरिन्छ । एक्स-रे मार्फत तयार भएको तस्वीरबाट चिकित्सकले उपचार गर्ने र कस्तो उपचार लाग्छ त्यसबारे योजना बनाउँछन् ।

प्राय: हड्डी भाँचिएको अवस्थामा, कुनै आकस्मिक दुर्घटनामा परेर शरीरको कुनै पनि भागको हड्डी भाँचिएको छ कि छैन र यसमा लाग्ने रोगबारे जाँच गरिन्छ । हड्डीको स्वास्थ्य मूल्यांकन गर्न एक्स-रे सुरक्षित र प्रभावकारी तरिका हो ।

एक्स-रे किन गर्ने ?

-भाँचिएको हड्डीको पहिचान गर्न

-दुखाइ र सुन्निएको लक्षणको कारण पत्ता लगाउन

-शरीरमा अन्य बाह्य वस्तुको पहिचान गर्न

-हड्डी, जोर्नी वा जोर्नीसँग टाँसिएको नरम मासुको संरचनात्मक समस्यालाई पत्ता लगाउन

-र, क्यान्सर र अन्य रोगको लागि पनि नियमित परीक्षँण आवश्यक हुनसक्छ ।

एक्स-रेका प्रकार

एक्स-रे शरीरको एक ठाउँको मात्र हुँदैन । धेरै भागको हुन्छ । जसअनुसार एक्स-रेको परीक्षणका प्रकारका छन् ।

पेटको एक्स-रे : यो एक्स-रेले मिर्गौला, पेट, कलेजो र मूत्राशयको तस्वीर लिन्छ । जसले मिर्गौला र मूत्राशयमा  हुने पत्थरीको पहिचान गर्न मद्दत गर्छ । यसमा एक विशेष प्रकारको पेटको एक्स-रे हुन्छ । जसलाई बेरियम इनेमा भनिन्छ, जसले पाचन प्रणालीको उपयोग गर्न मद्दत गर्छ ।

हड्डीको एक्सरे : हड्डी भाँच्चिएको, अव्यवस्थित जोर्नी र गोली गाँठोको अवस्था हेर्न पनि एक्स-रेको उपयोग हुन्छ । यसबाट पनि हड्डीमा भएको संक्रमण र क्यान्सरको पहिचान हुनसक्छ ।

छातीको एक्सरे : यो परीक्षण निमोनिया, मुटु, फोक्सो र छातीको हड्डीमा देखिन सक्ने समस्या पत्ता लगाउन मद्दत गर्छ ।

डेन्टल एक्स-रे : दाँतको एक्स-रेले दाँत र गिजाको स्वास्थ्य अवस्था जाँच गर्न मद्दत गर्छ ।

फ्लोरोस्कोपी : फ्लोरोस्कोपीले अंगहरू र आन्द्रा जस्ता नरम तन्तुको तस्वीर देखाउँछ । सो एक्स-रेले फिल्म जस्तै स्क्रिनमा अंगहरूको गतिविधि समेत पत्ता लगाउँछ ।

पाचन प्रणालीको एक्स-रेमा प्रायः फ्लोरोस्कोपी प्रयोग गरिन्छ ।

िटिस्क्यान

सिटिस्क्यान पनि एक रेडियोलोजी अध्ययन हो । जसले हड्डी, अंग र तन्तुहरूको अवस्थाको तस्वीर मोनिटरमार्फत देखाउँछ । यो मेसिन डोनट आकारको जस्तो देखिन्छ ।

मोग्राम : प्रदायकहरूले स्तनको तन्तुको एक्स–रे तस्वीर लिन, स्तन गाँठोहरूको मूल्यांकन गर्न र स्तन क्यान्सरको निदान गर्न मेमोग्राम प्रयोग गर्छन् । जसबाट स्तनमा पलाउने गाँठागुठी मूल्यांकन गर्न र स्तन क्यान्सरको पहिचान हुन्छ ।

एक्सरेले कसरी काम गर्छ ?

एक्स-रेले शरीरको माध्यमबाट विकिरण पठाउँछ । सो विकिरणको प्रकाश अदृश्य हुन्छ । जुन अनुभव गर्न सकिंदैन । त्यसमा बिम शरीरभित्रबाट पास गराई त्यस नजिक भएको एक्स-रे डिटेक्टरमा तस्वीर बन्छ ।  शरीरमा किरण पास हुँदै गर्दा हड्डी, कोष, तन्तु र अन्य संरचनाले सो विकिरणलाई अवशोषित गर्छ । जसकारण एक्स-रेमा चमकदार सेतो रंग जस्तो देखिन्छ । तर कोमल तन्तुमा भने विकिरण सहजै अवशोषित हुँदैन । जसकारण एक्स-रेमा खैरो रंग देखिन्छ ।

एक्स–रेको लागि कसरी तयारी हुने ?

-आफ्नो स्वास्थ्य सेवा प्रदायक वा परीक्षकलाई आफ्नो स्वास्थ्यको इतिहास, एलर्जी र लिइरहनुभएको कुनै पनि औषधिको बारेमा जानकारी दिनुपर्छ ।

-सामान्यतया हड्डीको एक्स–रेको लागि तयारी गर्न केही विशेष तयारी आवश्यक हुँदैन । अन्य प्रकारका एक्स–रेहरूको लागि परीक्षकले केही तयारी गर्न र्निदेशन दिन सक्छन् ।

-कुनै किसिमको एक्स रेको लागि तयार हुँदा लोसन, क्रिम वा परफ्युमको प्रयोग गर्नु हुँदैन ।

-धातुका वस्तुहरू जस्तै गहना, हेयरपिन वा श्रवण यन्त्रहरू पनि प्रयोग गर्न मिल्दैन । एक्स–रेअघि आरामदायक लुगा लगाउनुपर्ने हुन्छ ।

एक्स–रेको जोखिम 

सामान्यतया एक्स–रेहरू सबै उमेरका मानिसका लागि सुरक्षित र प्रभावकारी हुन्छन् ।

यदि गर्भवती हुने सम्भावना छ भने एक्स-रे गर्नुपूर्व चिकित्सकलाई भन्नुपर्ने हुनसक्छ । किनकि, एक्स-रेबाट आउने विकिरणले भ्रूणलाई नोक्सान पुग्न सक्छ । गर्भवती भएमा कम हानि भएमा एमआरआई वा अल्ट्रासाउन्ड गर्न चिकित्सकले सुझाउँछन् ।

एक्स–रेको नतिजा कहिले पाइन्छ ?

हड्डी एक्स–रे परिणामहरू सामान्यतया तुरुन्तै तयार हुन्छन् । एक्स–रेपछि नतिजाबारे चिकित्सकले परामर्श दिनेछन् । त्यसबाहेकको एक्स-रेको परीक्षणको नतिजा आउन धेरै समय लाग्न सक्छ ।

एक्सरेको साइड इफेक्ट

एक्स-रेपछि कतिपयलाई एलर्जी  हुनसक्छ । एक्स–रेको एक-दुई दिनपछि लक्षण देखा पर्न सक्छन् । यदि  टाउको दुखाइ, छाला दाग, चिलाउने, बान्ता वा वाकवाकी र सास फेर्न गाह्रो भएको अनुभव भएमा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ । तर यी लक्षण कमैलाई मात्र देखिन्छ ।

डा. मनिष थापा
डा. मनिष थापा
लेखक
डा. मनिष थापा
इन्टरभेन्सनल रेडियोलोजिस्ट

डा. थापा हाल काठमाडौं छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, महाराजगञ्जस्थित  नीता पोलिक्लिनिक, बुढानीलकण्ठस्थित करुणा अस्पताल, ललितपुर जवालाखेलस्थित क्लिनिक वानमा कार्यरत छन् । उनले रेडियोडाइग्नोसिसमा एमडी र भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजीमा फेलोसिप गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ६७९२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?