News Summary
Generated by OK AI. Editorially reviewed.- प्यान्क्रियाजले पाचन ईन्जाइम र हर्मोनहरू उत्पादन गरेर खाना पचाउने र रगतमा सुगर सन्तुलन राख्ने दुई मुख्य कार्य गर्छ।
- प्यान्क्रियाजमा प्यान्क्रियाटाइटिस, मधुमेह र क्यान्सरजस्ता रोगले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छन्।
- स्वस्थ आहार, रक्सी र धुम्रपानबाट बच्न, तौल नियन्त्रण र नियमित स्वास्थ्य परीक्षणले प्यान्क्रियाजलाई सुरक्षित राख्न मद्दत गर्छ।
प्यान्क्रियाज मानव शरीरको पेटमा रहेको एक महत्वपूर्ण ग्रन्थी हो, जसले पाचन प्रणाली र अन्तःस्रावी प्रणाली दुवैमा प्रमुख भूमिका खेल्छ । यो अंगले खाना पचाउने ईन्जाइमहरू उत्पादन गरेर पोषक तत्वहरू अवशोषणमा सहयोग गर्छ र इन्सुलिन जस्ता हर्मोनहरू स्रावित गरेर रगतमा सुगरकाे स्तरलाई सन्तुलित राख्छ । यो अस्वस्थ हुँदा मधुमेह, प्यान्क्रियाटाइटिस र क्यान्सर जस्ता गम्भीर रोगहरू लाग्न सक्छ, जसले समग्र स्वास्थ्यलाई प्रभावित गर्छ । स्वस्थ जीवनशैली अपनाएर यसलाई सुरक्षित राख्न सकिन्छ ।
यो पेटको पछाडि, कलेजो, आमाशय, सानो आन्द्राका पहिलो र दाेश्राे खण्ड (ड्युुडेनम र जेजुनम), पित्तथैली र फियाेबाट घेरिएको हुन्छ । यसको टाउको भाग सानो आन्द्राको ड्युडेनमसँग जोडिएको हुन्छ भने पुच्छर फियाे नजिक पुग्छ । यसले खाना पचाउने ईन्जाइम र ब्लड सुगर नियन्त्रण गर्ने हर्मोनहरू उत्पादन गर्छ । यसको औसत तौल लगभग ९२ ग्राम हुन्छ ।
प्यान्क्रियाज एक लामो, चेप्टो आकारको अंग हो जसको लम्बाई सामान्यतया १५ सेन्टिमिटरको हुन्छ । यो चेपागाँडा जस्तो वा टाउको, गर्दन, शरीर र पुच्छर भएको लाम्चाे देखिन्छ । यसको बाहिरी बनावट मकैको घोगा जस्तो हुन्छ । यसको रङ पहेँलो–गुलाबी हुन्छ र यो नरम तथा स्पन्ज जस्तो हुन्छ । यसमा स–साना थैलीहरू हुन्छन् जसले यसलाई स्पष्ट भागहरूमा विभाजित गर्छ ।
के काम गर्छ र कसरी गर्छ ?
प्यान्क्रियाजका दुई मुख्य कार्यहरू छन् एक्जोक्राइन र ईन्डोक्राइन । एक्जोक्राइन कार्यमा यसले पाचन ईन्जाइमहरू जस्तै एमाइलेज (कार्बोहाइड्रेट पचाउने), लाइपेज (बोसो पचाउने) र ट्रिप्सिन (प्रोटिन पचाउने) उत्पादन गर्छ । यी ईन्जाइमहरू दैनिक १ देखि ४ लिटरसम्मको प्यान्क्रियाटिक जुसमा मिसिएर प्यान्क्रियाटिक डक्ट मार्फत् सानो आन्द्रामा पुग्छन् र खानालाई सानो टुक्रामा टुक्रयाउँछन् ताकि शरीरले पोषक तत्वहरू अवशोषण गर्न सकोस् । यसले बाइकार्बोनेट पनि उत्पादन गर्छ जसले आन्द्रामा अम्लता नियन्त्रण गर्छ ।
ईन्डोक्राइन कार्यमा यसले हर्मोनहरू जस्तै इन्सुलिन ब्लड सुगर घटाउने, ग्लुकागन ब्लड सुगर बढाउने, सोमाटोस्टाटिन अन्य हर्मोनहरूको स्राव नियन्त्रण गर्ने र प्यान्क्रियाटिक पोलिपेप्टाइड पाचन नियन्त्रक हर्मोन गर्ने उत्पादन गर्छ । यी हर्मोनहरू सिधै रगतमा स्रावित हुन्छन् र ब्लड सुगर स्तरलाई सन्तुलित राख्छन् । प्यान्क्रियाजका प्यान्क्रियाटिक आइलेट्समा रहेका विशेष कोषहरू जस्तै बीटा कोषहरू इन्सुलिन, अल्फा कोषहरू ग्लुकागन, डेल्टा कोषहरू सोमाटोस्टाटिनले यी हर्मोनहरू बनाउँछन् । यसरी, यो अंगले खाना पचाउने र ऊर्जा व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्छ ।
यसमा देखा पर्ने समस्या के के हुन् ?
प्यान्क्रियाजमा विभिन्न समस्याहरू देखा पर्न सक्छन्, जसमा मुख्य एक्युट वा क्रोनिक प्यान्क्रियाटाइटिसले सूजन जसले पेट दुखाइ, वाकवाकी, उल्टी, ज्वरो र पाचन समस्या निम्त्याउँछ ।
एक्युट प्यान्क्रियाटाइटिसको कारणहरूमा गलस्टोन (पित्त थैलीको ढुंगा), अत्यधिक मदिरा सेवन, उच्च ट्राइग्लिसराइड स्तर, केही औषधि वा संक्रमण हुन सक्छ । क्रोनिक प्यानक्रियाटाइटिस बारम्बार तीव्र पेट दुखाई वा लामो समयसम्म मदिरा सेवनबाट यसले तौल घट्ने । पोषण कमी गराउँछ ।
प्यान्क्रियाजमा समस्या हुँदा इन्सुलिन उत्पादन नहुने, अटोइम्युन कारणले टाइप १ मधुमेह वा इन्सुलिन प्रतिरोध, जसले ब्लड सुगर बढाएर टाइप २ मधुमेह हुन्छ । यसले थकान, बढी तिर्खा, बारम्बार पिसाब जस्ता लक्षणहरू निम्त्याउँछ ।
प्यान्क्रियाजमा समस्या भएमा ईन्जाइमहरू कम उत्पादन हुँदा पोषक तत्व अवशोषण नहुने, जसले तेलिलो दिसा, तौल घट्ने र पोषण कमी गराउँछ । यी समस्याहरूले पाचन, मेटाबोलिज्म र समग्र स्वास्थ्यलाई प्रभावित गर्छन् । यदि लक्षणहरू देखिएमा चिकित्सकसँग परामर्श लिनुपर्छ ।
यसलाई स्वस्थ राख्न ध्यान दिनुपर्ने कुराहरू के के हुन् ?
प्यान्क्रियाजलाई स्वस्थ राख्न स्वस्थ आहार महत्वपूर्ण हुन्छ । त्यसैले तरकारी, फलफूल पूर्ण अनाज, कम बोसोयुक्त प्रोटिन र कम चिनीयुक्त खाना खानुपर्छ । प्रशोधित खाना, उच्च बोसोयुक्त भोजन र अत्यधिक चिनी कम गर्नुपर्छ जसले मोटोपन र मधुमेहको जोखिम घटाउँछ ।
प्यान्क्रियाजलाई स्वास्थ्य राख्न रक्सी सेवन कम गर्नुपर्छ । अत्यधिक मदिराले प्यान्क्रियाटाइटिस निम्त्याउन सक्छ । साथै धुम्रपानले क्यान्सरको जोखिम तीन गुणा बढाउँछ, त्यसैले यसलाई पूर्ण रूपमा त्याग्नुपर्छ । धुम्रपान छोड्दा जोखिम घट्छ ।
प्यान्क्रियाजलाई स्वस्थ राख्न तौल नियन्त्रण पनि महत्वपूर्ण हुन्छ । मोटोपनले मधुमेह र क्यान्सरको जोखिम बढाउँछ, त्यसैले नियमित व्यायाम गर्नुपर्छ । नियमित स्वास्थ्य जाँचबाट समस्याहरू प्रारम्भमा पत्ता लग्छ र गम्भीर हुने जोखिम कम हुन्छ । त्यसैले प्यान्क्रियाजको अवस्था थाहा पाउन समय समयमा ब्लड सुगर जाँच, ट्राइग्लिसेराइड स्तर जाँच र परिवारमा इतिहास भएमा जेनेटिक परीक्षण वा वार्षिक अल्ट्रासाउन्ड गर्न सकिन्छ ।
प्यान्क्रियाजलाई स्वस्थ राख्न हाइड्रेट रहनुपर्छ । जसका लागि दैनिक पर्याप्त पानी पिउने र समग्र स्वस्थ जीवनशैली अपनाउनुपर्छ । उच्च ट्राइग्लिसराइड वा क्याल्सियम स्तर नियन्त्रणमा राख्नु पनि आवश्यक छ।
प्रतिक्रिया 4