+
+
Shares

दुई वटा क्यान्सर जितेकी शोभा, साहस र धीरताको प्रतीक

एकदिन आफैँले छामेर हेर्ने क्रममा आफ्नो स्तनमा गिर्खा फेला पारिन् । फेरि नसोचेको चुनौती आइलाग्यो उनको जीवनमा । 

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८२ कात्तिक १५ गते ९:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं चाबहिल निवासी शोभा कार्कीले दुईवटा क्यान्सरलाई जितेकी छिन् र आफ्नो अनुभवबाट क्यान्सर सचेतना फैलाइरहेकी छिन्।
  • उनले २००२ मा ब्लड क्यान्सर पत्ता लागेपछि वीर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइन् र म्याक्स फाउन्डेसनबाट निःशुल्क औषधि पाइन।
  • २०१९ मा स्तन क्यान्सर पत्ता लागेपछि पाटन अस्पतालमा लम्पेक्टोमी, केमोथेरापी र रेडिएसन थेरापी गराइन् र अहिले पनि औषधि खाइरहेकी छिन्।

काठमाडौं चाबहिल निवासी शोभा कार्की आत्मविश्वासी र दृढ महिलाको रूपमा चिनिन्छिन् । दुईवटा क्यान्सरलाई जितेकी उनले जीवनमा धेरै उतार चढाव झेलिन् । भावनात्मक र आर्थिक कठिनाइसँग संघर्ष गर्दै जिउन सिकिन् । अहिले उनी धेरैका लागि प्रेरणा बनिरहेकी छिन् ।

सन् २००२, जतिबेला उनी त्रिचन्द्र कलेजमा केमिस्ट्री विषय लिएर पढ्दै थिइन् । उमेर थियो २३ वर्ष । त्यो समयपछि उनको जीवनले अप्रत्यासित मोड लियो ।

कलेजमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । शोभालाई पनि रक्तदान गर्ने इच्छा भयो तर आफ्नो ‘ब्लड ग्रुप’ थाहा थिएन । कहिल्यै जाँच गरेको भए पो । रक्तदान गर्नुअघि आफ्नो ब्लड ग्रुप थाहा पाउन उनी साथीहरूसँग वीर अस्पताल पुगिन् । ब्लड ग्रुपसँगै उनले अन्य जाँचहरू पनि गरेकी थिइन् ।

उनको डब्लुबिसी (ह्वाइट ब्लड सेल) काउन्ट १ लाख ९० हजार पुगेको देखियो, जुन समान्य अवस्थामा ४ हजारदेखि ११ हजारको बीचमा हुनुपर्छ । अवस्था असमान्य देखिएपछि डाक्टरले तुरुन्तै इमर्जेन्सीमा भर्ना हुनुपर्छ भने । शोभालाई अचम्म लाग्यो । केही नभएको मान्छे किन इमर्जेन्सीमा भर्ना हुनु ? उनले मनमनै प्रश्न गरिन् । परिवारमा सल्लाह गरेर आउने भनेर अस्पतालबाट निस्किइन् ।

घरमा यो कुरा सुनाउँदा परिवारले विश्वास गरेनन्, किनकि उनी सामान्य रूपमा हिँडडुल गरिरहेकी थिइन्, खाइरहेको थिइन्, कलेज गइरहेकी थिइन् । इमर्जेन्सीमै भर्ना हुनुपर्छ भनेपछि त्यत्तिकै बस्ने कुरा भएन उनी अर्को दिन बुबालाई साथमा लिएर साथमा अस्पताल गइन् । विभिन्न परिक्षण भयो । बोन म्यारो जाँच गरेपछि उनलाई ब्लड क्यान्सर भएको पत्ता लाग्यो ।

ब्लड क्यान्सरका सुरुवाती लक्षणहरू शोभाले लामो समयदेखि महसुस गरिरहेकी थिइन्, तर तिनलाई उनले सामान्य नै ठानिन् । एक-डेढ वर्षदेखि उनको शरीरमा निलो डामहरू देखिन्थे । ‘ठोक्किएर भएको होला’ उनी सोच्थिन् । पेट ठूलो हुनु, थकाइ लाग्नु, तौल घटेर मात्र ३५ केजी पुग्नु, छाला कालो हुनु र महिनावारीमा अनियमितता जस्ता लक्षणहरू पनि थिए जसलाई उनले बेवास्ता गरिरहेकी थिइन् ।

सुरुमा उनलाई विश्वास लागेन । ‘फिल्महरूमा ब्लड क्यान्सर भएका हिरो–हिरोइन मरेको देखाउँथ्यो तर म त हिँडिरहेकी छु, खाइरहेको छु मलाई कसरी ब्लड क्यान्सर हुन्छ ।’ मलाई डर लागेन’ उनी त्यो समय सम्झिन्छिन् ।

यो खबरले परिवारमा हलचल मच्चायो । आमाबाट भने गोप्य राखिएको थियो । आमा ब्रेन ट्युमरकी बिरामी थिइन् र सिजर अट्याक आउँथ्यो, त्यसैले छोरीको क्यान्सरबारे नभन्ने निर्णय भयो । यो गोपनीयता पाँच–छ वर्षसम्म कायम रह्यो । पछि, जब विहेको दबाब बढ्यो, तब मात्र आमालाई बताइयो । आमाले विहे गर्नुपर्ने भन्दै कर गर्न थालेपछि क्यान्सर भएको कुरा आमालाई भन्नैपर्ने अवस्था भयो ।

उपचारको यात्रा

वीर अस्पतालबाटै उपचार सुरु भयो । हाइड्रोक्स्युरिया औषधि दिइयो, अधिकतम ५०० एमजी डोजमा । यसले ब्लड काउन्ट केही घटायो, तर पूर्ण नियन्त्रण भएन । डाक्टरले भक्तपुर क्यान्सर अस्पताल रिफर गरे । त्यहाँ इन्टरफेरोन इन्जेक्सन सुरु भयो । इन्जेक्सनको मूल्य २५००–३००० रुपैयाँ थियो । दैनिक लगाउनु पर्थ्यो । लगाउनुअघि सिटामोल खानु पर्थ्यो, ज्वरो आउँथ्यो र शरीर दुख्थ्यो । यो पीडा शोभाका लागि नयाँ थियो । पाँच–छ महिनासम्म यो उपचार चल्यो । परिवारको आर्थिक अवस्था कमजोर थियो त्यसैले परिवारलाई यो खर्च बेहोर्न गाह्रो भइरहेको थियो ।

आठौं महिनामा भाग्यले साथ दियो । शोभाकी बहिनीको साथीले म्याक्स फाउन्डेसनबारे जानकारी दिइन् । यो फाउन्डेसनले सीएमएलका बिरामीहरूलाई निःशुल्क औषधि उपलब्ध गराउँथ्यो । नेपालमा विष्णु पौडेल सम्पर्क व्यक्ति थिए । डाक्टर म्याक्स सिमरम्यानले प्रमाणित गरेपछि औषधि मेलबाट आउन थाल्यो । यो ग्लिभेक नामको ओरल औषधि थियो, जसले शोभाको जीवन बचायो ।

२००३ देखि २०१४ सम्म उनले यो औषधि खाइन् । यसले उनको ब्लड काउन्ट नियन्त्रणमा ल्यायो । २०१४ मा जाँच गर्दा क्यान्सर नभएको पुष्टि भयो । पाटन अस्पतालका डाक्टर ज्ञान कायस्थले औषधि छोड्न सल्लाह दिएनन्, तर शोभाले साइड इफेक्ट (जस्तै थकान, जोर्नी दुखाइ) र कामको दबाबले गर्दा औषधि छाड्ने सल्लाह डाक्टरसँग गरिन् । नियमित जाँच र रिपोर्ट म्याक्स फाउन्डेसनलाई पठाउने क्रम जारी रह्यो । यो अवधिमा शोभाले आफूलाई क्यान्सरबाट मुक्त महसुस गरिन् ।

क्यान्सर हुँदा पनि शोभाको जीवनशैली सामान्य रह्यो । औषधिले कमजोर बनाउँदा पनि घरमा बस्दा झन् कमजोर भइन्छ भन्दै आमाले काममा पठाइन् । उनी ट्राभल एजेन्सीमा काम गर्थिन् । ‘औषधि खाँदा मात्र क्यान्सर भएको फिल हुन्थ्यो काममा फोकस हुँदा हुँदैनथ्यो’ उनी भन्छिन् । कामले उनलाई मानसिक रूपमा बलियो बनायो। उनी यात्रा व्यवस्थापन गर्थिन्, ग्राहकहरूसँग कुरा गर्थिन्, र जीवनको रुटिनमा डुबिन् । यसले क्यान्सरलाई ‘सामान्य’ बनायो । साथीहरू र सहकर्मीहरूबाट समर्थन मिल्यो, जसले उनको आत्मविश्वास बढायो ।

दोस्रो क्यान्सर

ब्लड क्यान्सरसँगको लामो लडाइँपछि त्यसलाई जितेर केही राहत महसुस गरिरहेकी थिइन् शोभाले । फेरि नयाँ चुनौती आइलाग्यो, स्तन क्यान्सर । क्यान्सरसँग लामो समय लड्दा र सचेतना कार्यक्रमहरूमा सहभागी हुँदा उनले स्तन क्यान्सरबारे थाहा पाएकी थिइन् । एकदिन आफैँले छामेर हेर्ने क्रममा आफ्नो स्तनमा गिर्खा फेला पारिन्, त्यो २०१९ मे  थियो । यो अप्रत्याशित भयो । फेरि नसोचेको चुनौती आइलाग्यो उनको जीवनमा ।

दुई सातापछि डाक्टरलाई देखाइन् । प्रारम्भिक चरणमै रहेछ । पाटन अस्पताल उपचार सुरु भयो । डाक्टरले ‘स्तन काटेर फाल्नुपर्छ भने । त्यो कुरा उनलाई चित्त बुझेको थिएन । चिकित्सकको सल्लाह लिनका लागि खोजीमा लागिन् । क्यान्सर सर्भाइबर सोसाइटीकी प्रमिता खनालको सहयोगमा डाक्टर प्रफुल्ल शाक्यलाई देखाइन् । उनको परामर्श शोभालाई चित्त बुझ्यो ।

उनको फेरि परीक्षण भयो । ट्रिपल पोजिटिव भएकाले छिटो फैलिने सम्भावना थियो, तर लम्पेक्टोमी केवल लम्प निकाल्ने प्रक्रिया पर्याप्त भयो । यसपछि ६ साइकल केमोथेरापी सुरु भयो । केमोले उनलाई कमजोर बनायो – कपाल झर्ने, वाकवाक लाग्ने, थकान । यसपछि रेडिएसन थेरापी भयो, जसले छालालाई प्रभावित गर्‍यो । अहिले उनी औषधि खाइरहेकी छिन् ।

यो उपचार ब्लड क्यान्सर हुँदा खाने औषधि भन्दा फरक थियो– बढी कठिन र शारीरिक रूपमा थकाउने । तर, शोभाले यसलाई पनि सामना गरिन् । परिवारको साथ, सर्भाइबर सोसाइटीको समर्थन र आफ्नो दृढताले उनलाई अगाडि बढायो ।

शोभाको सन्देश

दुई क्यान्सर जितेकी शोभालाई क्यान्सरबाट डर लाग्दैन, बरु उपचारको खर्चले तनाव हुन्छ । उनी भन्छिन्, ‘क्यान्सर भएपछि परिवारको आर्थिक अवस्था राम्रो छैन भने बिरामीले अब बाँचिदैन भन्ने सोच्छन् । तर, पछिल्लो समय यसरी डराउनु पर्ने अवस्था छैन । नेपालमै राम्रो उपचार छ, डाक्टरहरू उत्कृष्ट छन् ।’

क्यान्सर भएपछि भारत वा विदेश गए मात्रै उपचार हुन्छ भन्ने बुझाइ गलत भएको उनले स्पष्ट पारिन् । ‘मैले मेरो दुवै क्यान्सरको उपचार नेपालमा नै गरें, राम्रो पनि भयो’ उनी सुनाउँछिन् ।

उनी क्यान्सरबारे सचेतना कार्यक्रमहरूमा सक्रिय छिन्, जहाँ आफ्नो कथा साट्छिन् ।

शोभाको सन्देश स्पष्ट छ- क्यान्सर हुँदैनमा जीवन सकिँदैन । यसले अरुलाई सहयोग गर्नुपर्छ भन्ने नयाँ बाटोमा आफूलाई लगेको उनी बताउँछिन् ।

क्यान्सर देखिएका बिरामीलाई सरकारबाट १ लाख सहयोग र मासिक ५ हजार उपलब्ध हुन्छ । बीमा पनि प्रयोग गर्न मिल्छ । बिमा समिति र संचय कोषका स्किमहरू छन्। ‘आफन्त र साथीभाइलाई बताउनुपर्छ, लुकाउँदा सहयोग मिल्दैन । रोग लुकाएर आर्थिक सहयोग मात्र मागियो भने आफन्त टाढा हुन्छन्, तर बताएपछि सहयोग आउँछ’ शोभा भन्छिन् ।

क्यान्सरबारे उनको अनुभवले भन्छ- गरेको काम नछाड्ने, राम्रो खानपिन गर्ने, राम्रो डाक्टर छान्ने र फलोअप गर्ने हो भने क्यान्सर जितिन्छ ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?