News Summary
Generated by OK AI. Editorially reviewed.- डा. दीपेन्द्र सिंह नेतृत्वको टोलीले गरेको अध्ययनले नेपालमा क्यान्सर उपचार सुरु गर्न ६ महिनासम्म लाग्ने देखाएको छ।
१ मंसिर, काठमाडौं । नेपालमा क्यान्सरको उपचार सुरु गर्न ६ महिनासम्म लाग्ने गरेको एक अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) क्यान्सर अनुसन्धान सम्बन्धी निकाय(आईएआरसी)मा कार्यरत नेपाली वैज्ञानिक डा. दीपेन्द्र सिंह नेतृत्वमा यसबारे अध्ययन भएको हो ।
डा.सिंहको टोलीले गरेको अध्ययनमा नेपालका धेरैजसो क्यान्सर रोगीको लक्षण देखिएको ४ महिना आपपासमा मात्रै उपचार सुरु हुने देखियो ।
यो अध्ययनको रिपोर्ट बीजेएम ग्लोबल हेल्थमा १० नोभेम्बरमा प्रकाशित गरिएको छ ।
टोलीले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामीमा अध्ययन गरिएको रिपोर्टमा भनिएको छ ।
अध्ययन रिपोर्टका अनुसार २०२२ को जुन देखि नोभेम्बर महिनासम्म यस अस्पतालमा उपचार गर्न आएको ११८२ नयाँ बिरामीमा यो अध्ययन गरिएको थियो । नेपालमा देखिने प्रमुख ६ क्यान्सरका बिरामीलाई अध्ययनमा सामेल गरिएको थियो । जसमा स्तन, फोक्सो, गर्भाशय, पेट, कोलोरेक्टल र मुखको क्यान्सर भएका बिरामी थिए ।

अध्ययनमा सहभागी हुन राजी भएका बिरामीलाई लिएर प्रत्यक्ष अन्तर्वार्ता गरी विवरणहरू संकलन गरिएको थियो । लक्षण देखिएको समय, क्यान्सर पहिचान भएको समय, उपचार सुरु भएको समय जस्ता जानकारी उनीहरूबाट लिइएको थियो । साथै उनीहरूको आर्थिक सामाजिक अवस्थाको बारेमा पनि जानकारी लिइएको थियो ।
क्यान्सर उपचारका प्रत्येक चरणमा उल्लेखनीय ढिलाइ हुने गरेको निष्कर्ष यो अध्ययनले निकालेको छ ।
लक्षण देखिएपछि स्वास्थ्य संस्था पुग्नै ढिलाइ हुने, स्वास्थ्य संस्था पुगेपछि क्यान्सर पहिचान गर्न ढिला हुने र पहिचान भएपछि उपचार सुरु गर्न पनि ढिला हुने गरेको तथ्य यस अध्ययन उजागर गरेको छ ।
यस अध्ययनमा सहभागीमध्ये ५० प्रतिशत बिरामीलाई लक्षण देखिएपछि पहिलो पटक स्वास्थ्य संस्थामा पुग्न नै एक महिना भन्दा बढी समय लागेको थियो । त्यसपछि क्यान्सर पहिचान हुन सरदर डेढ महिना लाग्ने देखियो । अधिकांशले लक्षण देखिएको करिब ४ महिनापछि मात्रै उपचार सुरु गरेको पाइएको थियो ।
२५ प्रतिशत बिरामीको भने ६ महिनापछि मात्रै उपचार सुरु भएको पाइएको अध्ययनको रिपोर्टमा उल्लेख छ।
६ वटै क्यान्सरमा गरी ११८२ मध्ये ६६६ जना अर्थात ५६.४ प्रतिशत बिरामीहरु क्यान्सरको तेस्रो वा चौथो चरणमा मात्रै अस्पताल आएको देखियो । यसरी उन्नत चरणमा अस्पताल आउनेमा पुरुष भन्दा महिलाको संख्या धेरै देखियो । सबैभन्दा बढी फोक्सोको क्यान्सरका बिरामी उन्नत चरणमा आएका थिए भने कोलोरेक्टल क्यान्सर क्यान्सरमा उन्नत चरणमा आउने बिरामीको संख्या कम थियो ।

वृद्ध उमेरका व्यक्ति र आर्थिक अवस्था कमजोर भएका परिवारका व्यक्तिमा क्यान्सर देखिँदा उपचार सुरु गर्न ढिला हुने गरेको पाइएको यस अध्ययनले भनेको छ ।
यो अध्ययनले क्यान्सर पहिचान, उपचारका लागि रिफर गर्न र उपचार सुरु गर्न प्रणालीगत कमजोरी रहेको देखाएको छ । साथै जाँचका लागि आवश्यक सेवा–सुविधाको कमीले पनि उपचार प्रक्रियामा ढिला भएको अध्ययनको निष्कर्ष छ । यसमा प्रणालीगत सुधारको आवश्यकता औंल्याइएको छ ।
क्यान्सरको लक्षण देखिएमा जतिसक्यो छिटो स्वास्थ्य संस्था जान आम व्यक्तिहरुलाई सुझाव दिइएको छ । अस्पष्ट, वा असामान्य लक्षण जस्तै–ः शरीरमा गाँठागुठी देखिनु, तौल घट्नु आदि भएमा स्वास्थ्य जाँच गराइहाल्न पनि सुझाइएको छ ।
शंकास्पद लक्षण लिएर आएका बिरामीलाई स्वास्थ्यकर्मीहरूले जतिसक्यो छिटो सही ठाउँमा रिफर गर्न अध्ययनकर्ताको सुझाव छ ।
पहिचान र उपमार उपचार सुरु गर्ने प्रक्रियालाई छिटो–छरितो बनाउन व्यवहाररिक र प्रणालीगत सुधारमा जोड दिइएको छ ।
प्रतिक्रिया 4