+
+
Shares

क्यान्सरसँग लडिरहेकी कल्पना भन्छिन्, ‘यो एक रोग हो, जीवनको अन्त्य होइन’

घरमा उनी कौसी खेती गर्छिन्, जसले उनलाई प्रकृतिसँग जोड्छ । योगा, श्वास-प्रश्वासको व्यायाम र ध्यानले उनको मानसिक स्वास्थ्य मजबुत बनाएको छ ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८२ कात्तिक १९ गते १७:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कल्पना शाक्य ३७ वर्षको उमेरमा स्तन क्यान्सरको निदान भई फोर्थ स्टेजसम्मको उपचार गराइरहेकी कानुन व्यवसायी हुन्।
  • उनले ६० भन्दा बढी केमोथेरापी लिइसकेकी छिन् र क्यान्सरलाई जीवनभर नियन्त्रणमा राख्न सकिने रोगको रूपमा लिन्छिन्।
  • कल्पनाले क्यान्सर उपचार सुलभ र निःशुल्क हुनुपर्ने, र रोगीलाई दया होइन हौसला दिनुपर्ने माग गरिन्।

कल्पना शाक्य पेशाले एक सफल कानुन व्यवसायी हुन् । उनी केवल आफ्नो व्यवसायिक सफलताका लागि मात्र होइन, क्यान्सरसँगको आफ्नो साहसी लडाइँका लागि पनि प्रेरणाको स्रोत बनेकी छिन् । ३७ वर्षको उमेरमा पहिलो पटक स्तन क्यान्सरको निदान भएकी कल्पना अहिले फोर्थ स्टेजको क्यान्सरसँग जुधिरहेकी छिन्, तर उनको कथा पीडा र निराशाको मात्र होइन । हिम्मतको हो, परिवारको अटुट साथको हो, चिकित्सा विज्ञानको प्रगतिको हो र जीवनलाई नयाँ दृष्टिकोणबाट हेर्ने सिकाइको हो ।

कल्पनाको शब्दमा, ‘क्यान्सर जीवनको अन्त्य होइन, बरु यो एउटा नयाँ सुरुवात हो जसले हामीलाई जीवनको मूल्य बुझाउँछ ।’ उनको यात्राले हजारौं महिलाहरूलाई प्रेरणा दिन सक्छ, विशेष गरी नेपाल जस्तो देशमा जहाँ क्यान्सरबारे जागरणको कमी छ र उपचारको पहुँच सीमित छ ।

क्यान्सरको निदान

काठमाडौंको बालुवाटारमा बस्छिन् कल्पना । २०१७ को पुस महिनामा उनलाई दाहिने स्तनमा अचानक चसक्क दुखाइ महसुस भयो । छाम्दा एउटा सानो गाँठो भेटियो, छुँदा दुख्थ्यो । त्यतिबेला उनी ३७–३८ वर्षकी थिइन्, र महिनावारीको समय भएकोले यो दुखाइलाई सामान्य ठानेकी थिइन् । ‘महिलाहरूमा महिनावारी अघि विभिन्न शारीरिक परिवर्तन हुन्छन्, छातीमा पनि दुखाइ हुन सक्छ भन्ने थाहा थियो । त्यसैले मैले यसलाई हल्का रूपमा लिएँ’ उनी सम्झिन्छिन् ।

साथीहरूसँग सल्लाह गर्दा पनि सबैले सामान्य नै भने । तर यो उनको सबैभन्दा ठूलो गल्ती साबित भयो । चार–पाँच महिनासम्म यो दुखाइ दोहोरिँदै गयो, तर व्यस्त जीवनशैलीका कारण उनले यसलाई बेवास्ता गरिन् ।

एक दिन फेसबुक स्क्रोल गर्दै गर्दा स्तन क्यान्सरको लक्षणबारे एउटा लेख देखिन् । त्यसमा उल्लेख भएका लक्षणहरूले उनलाई आफैंसँग तुलना गर्न बाध्य बनायो । निप्पल बाङ्गो भएको, वरिपरि रातो दागहरू देखिएको र गाँठोको आकार बढ्दै गएको महसुस भयो । यो देखेर उनको मनमा केही त छ भन्ने महसुस भयो । ‘मलाई लाग्यो, यो त सामान्य होइन’ उनी बताउँछिन् ।

भोलिपल्टै उनी स्त्रीरोग विशेषज्ञ कहाँ पुगिन् । अल्ट्रासाउन्ड र एफएनएसी परीक्षणले स्तन क्यान्सरको पुष्टि गर्‍यो । ४० वर्ष नपुगेकाले म्यामोग्राम गर्न मिलेन । रिपोर्टले उनको जीवनलाई उथलपुथल पारिदियो । यसले भावनात्मक रूपमा विचलित बनाएन यसले उनलाई समयमै जागरुक पनि बनायो ।

क्यान्सर पत्ता लागेपछि कल्पनाको परिवारमा त्रास फैलियो । पारिवारिक सदस्य धुलिखेल अस्पतालमा भएकाले उनी त्यहाँ पुगिन् । सिटी स्क्यानमा कलेजोमा एउटा दाग देखियो, यसले भने उनलाई थप त्रसित बनायो । क्यान्सर कलेजोसम्म फैलिसक्यो जस्तो लाग्यो ।

यदि कलेजोसम्म फैलिएको भए उपचारका लागि भारत जानुपर्ने अवस्गा पनि आउन सक्ने डाक्टरले बताए । मध्यम वर्गीय परिवारका लागि यो ठूलो आर्थिक बोझ थियो । ‘उपचारमा सम्पत्ति सक्काउने र पाँच वर्षपछि मर्ने हो भने उपचार किन गर्नु ?’ कल्पनालाई यस्तै सोच आयो । तर बायोपसीले कलेजोको दाग सामान्य र नसा गाँठो परेको मात्र भएको पुष्टि गरेपछि उनमा आशाको किरण जाग्यो ।

धुलिखेल अस्पतालमा अप्रेसन सफल भयो, जसमा प्रभावित भाग हटाइयो । त्यसपछि हरिसिद्धि क्यान्सर अस्पतालमा ६ पटक केमोथेरापी र १५ पटक रेडिएसन थेरापी दिइयो । उपचारका क्रममा शारीरिक र मानसिक चुनौतीहरू प्रशस्त थिए । कपाल झर्नु, शरीरको आकार परिवर्तन हुनु र कमजोरी महसुस हुनु सामान्य साइड इफेक्टहरू थिए ।

‘कपाल झरेपछि उनलाई ऐनामा हेर्न डर लाग्थ्यो । श्रीमानको अटुट साथले उनको आत्मबल कमजोर हुन दिएन ।  ‘मैले मुण्डुलो टाउको लिएर बाहिर हिँड्थे तर पनि कसैले अनौठो नजरले हेरे जस्तो लागेन’ उनी भन्छिन् ।

उपचारपछि तीन वर्षसम्म हरेक तीन महिनामा र दुई वर्षसम्म हरेक छ महिनामा फलोअप परीक्षण भयो । उनको जीवन बिस्तारै सामान्य बन्दै गयो । उनी अफिस फर्किइन्, परिवारसँग समय बिताउन थालिन् र आफूलाई भाग्यमानी ठानिन् । यो अवधिमा उनले क्यान्सरलाई जितेको महसुस गरिन् ।

फोर्थ स्टेजको क्यान्सर र नयाँ संघर्ष

पाँच वर्ष पूरा भएपछि २०२३ मा नियमित पेट सिटी स्क्यान गरियो । रिपोर्टले फोक्सो र बायाँ हिप बोनमा क्यान्सर फैलिएको देखायो । डाक्टरले भने, ‘पूर्ण रूपमा निको हुँदैन, तर उपचारले नियन्त्रण गर्न सकिन्छ।’ यो सुनेर कल्पनाको संसार नै उल्टिए जस्तो भयो । ‘पैताला मुनिबाट जमिन भासिए जस्तो भयो । ‘मसँग कति समय बाँकी छ ?’ उनले डाक्टरसँग प्रश्न गरिन् । निश्चित समय बताउन नसकिने जवाफ डाक्टरले दिए । यो खबरले उनलाई गहिरो निराशा र आत्महत्याको सोचसम्म पुर्‍यायो, तर परिवार र साथीहरूको साथले रोक्यो ।

बायोपसीले बोनमा क्यान्सर मेटास्टेसिस भएको पुष्टि गरेपछि उपचार सुरु भयो । भारतको मेदान्त अस्पताल पुगेकी उनलाई डाक्टरले सान्त्वना दिए- रोगले तिमीलाई बिगारेको छैन । यो मधुमेह जस्तै हो, जीवनभर नियन्त्रणमा राख्नुपर्छ ।

नेपाल फर्केर डा. अरुण शाहीसँग परामर्श लिइन् । शाहीको सल्लाहमा पाटन अस्पतालमा उपचार थालियो, अलि सस्तो र पहुँचयोग्य थियो । ‘उहाँलाई मैले ‘गरिबको डाक्टर’ भनेर बोलाउँछु’ कल्पना भन्छिन्, ‘सरकारी अस्पतालमा पनि राम्रो सेवा छ, चाप बढी भए पनि ।’

अहिले उनले ६० भन्दा बढी केमोथेरापी लिइसकेकी छिन् । साइड इफेक्टहरू जस्तै कमजोरी, दुखाइ, रक्तचाप घट्ने र ब्लड काउन्ट कम हुने समस्या भए पनि उनी आशावादी छिन् । ‘क्यान्सर नभएकालाई पनि विभिन्न रोग लाग्छन्, त्यसैले आत्तिनु हुँदैन । जीवनलाई सकारात्मक रूपमा लिनुपर्छ’ उनको बुझाइ छ ।

परिवार, साथी र समाजको साथ

कल्पनाको सफलताको मूल मन्त्र उनलाई प्राप्त हुने बलियो साथ हो । श्रीमानले मानसिक रूपमा बलियो बनाए, जसले उनलाई हरेक कदममा साथ दिए । भाइबहिनीहरूले आर्थिक सहयोग गरे, जसले उपचारको बोझ कम गरायो । साथीहरूले विदेशबाट पनि उत्प्रेरणा दिइ रहे, ‘चौथो स्टेजमा पनि २०–३० वर्ष बाँचेका उदाहरणहरू छन् ।’ उनलाई यसो भन्दै उत्प्रेरणा दिन धेरै जना छन् । ‘मलाई कसैबाट पनि अपहेलित महसुस भएको छैन । बरू सबैले मलाई प्रेरणा ठानेका छन्’ उनी खुसी हुँदै सुनाउँछिन् ।

घरमा उनी कौसी खेती गर्छिन्, जसले उनलाई प्रकृतिसँग जोड्छ । योगा, श्वास-प्रश्वासको व्यायाम र ध्यानले उनको मानसिक स्वास्थ्य मजबुत बनाएको छ । स्वच्छ खानपानमा जोड दिन्छिन् । यसले उनलाई क्यान्सरलाई मात्र, एक रोगको रूपमा हेर्न सिकाएको छ, न कि जीवनको अन्त्य ।

क्यान्सरबाट सिकेका पाठ

क्यान्सरले कल्पनाको जीवन दृष्टिकोण नै परिवर्तन गरेको छ । उनी आशावादी छिन् किनकि क्यान्सर उपचारमा विज्ञानले छलाङ मारेको छ । ‘इम्युनोथेरापी जस्ता नयाँ विधिहरू आउँदै छन्’ कल्पना भन्छिन्, ‘१५–१६ वर्ष केमो गरेर बाँचेका उदाहरणहरू छन्, भोलि यो ३० वर्ष सामान्य हुन सक्छ ।’

क्यान्सरले उनलाई जीवनको मज्जा चखाएको छ । त्यसलाई उनी यसरी प्रट्याउँछिन् ‘पहिले व्यस्त थिएँ, आफूलाई हेरविचार गर्न भ्याउदिन थिएँ । अहिले बच्चासँग गुणस्तरीय समय बिताउँछु, हप्तामा एक पटक फिल्म हेर्छु, किताब पढ्छु । पैसाले सुख दिन्छ, तर खुसी होइन । सस्तो लुगा लगाए पनि मन खुसी राख्न सकिन्छ ।’

उनी सक्रिय र ऊर्जावान देखिन्छिन् ।  ४० वर्ष पुगेका महिलाहरूलाई वर्षमा एकपटक म्यामोग्राम गराउन र नियमित स्वपरीक्षण गर्न उनको सुझाव छ ।

कल्पनाको मुख्य चिन्ता क्यान्सर उपचारको पहुँच हो । ‘विश्वमा प्रत्येक दिन २७ हजार मानिस क्यान्सरबाट मर्छन्’ उनी भन्छिन्, ‘नेपालमा उपचार उपलब्ध हुँदाहुँदै पनि पैसाको अभावमा धेरैले जीवन गुमाउँछन्।

सरकारले दिने सहयोग तथा बीमा कार्यक्रम प्रभावकारी नभएको उनको अनुभव छ ।

क्यान्सर उपचार सुलभ र निःशुल्क हुनुपर्छ भन्ने उनको माग छ । ‘अस्पतालहरूमा थप सुविधा र विशेषज्ञहरू बढाउनु पर्छ’ कल्पना भन्छिन्, ‘क्यान्सर रोगीलाई ‘विचरा’ भनेर दया नदेखाउनुस्, बरू हौसला दिनुस ।’

क्यान्सर हरेकमा हुन सक्ने भएकाले जागरण अभियान चलाउन पर्ने सुझाव उनको छ । सुखमा मातिनु र दु:खमा आत्तिनु हुँदैन भन्ने उनले अनुभवबाटै सकेकी छिन् । ‘धेरै मान्छेहरू बाँच्न तयारी गर्दा गर्दै मर्छन्, तर म त आरामले जीवन बाँचिरहेकी छु’ उनी मुस्कुराउँदै भन्छिन् ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?