
News Summary
Generated by OK AI. Editorially reviewed.- द लासेन्ट जर्नलमा प्रकाशित अध्ययनले गरिब तथा विकासोन्मुख देशका महिलाले स्तन र सर्वाइकल क्यान्सर प्रारम्भिक चरणमा कम पत्ता लगाउने देखाएको छ।
- कम तथा मध्यम आय भएका देशमा क्यान्सर उपचारमा समयसीमा उल्लङ्घन हुँदा मृत्युदर बढेको अध्ययनले खुलाएको छ।
- शोधकर्ताहरूले ३९ देशका २ लाख ७५ हजारभन्दा बढी महिलाको तथ्याङ्क विश्लेषण गरी स्वास्थ्य सेवा पहुँच र सामाजिक चुनौतीलाई ढिलो पहिचानको कारण भनेका छन्।
६ कात्तिक, काठमाडौं । गरिब तथा विकासोन्मुख देशका महिलाले विभिन्न क्यान्सर संक्रमण बारे ढिलोगरी मात्रै थाहा पाउने र मृत्युदर पनि बढी हुने एक अध्ययनले प्रष्ट पारेको छ ।
द लासेन्ट जर्नलमा प्रकाशित एक नयाँ अध्ययनले कम र मध्यम आय भएका देशहरूमा महिलाहरूलाई हुने स्तन क्यान्सर र सर्वाइकल क्यान्सर अर्थात् गर्भाशयको मुखमा हुने क्यान्सरको अवस्थाबारे गम्भीर तथ्यहरू उजागर गरेको हो ।
रिपोर्टका अनुसार, क्यान्सर पहिचानमा ठूलो असमानता रहेको देखिएको छ । गरिब तथा विकासोन्मुख देशहरू स्तन र गर्भाशयको मुखमा हुने क्यान्सरबाट पीडित २० प्रतिशतभन्दा कम महिलामा मात्र रोगको पहिचान शुरुवाती चरणमा हुने गरेको छ।
विकसित/उच्च आय भएका देशहरू यसको तुलनामा, प्रत्येक पाँचमध्ये दुई महिला (अर्थात् ४० प्रतिशत वा सोभन्दा बढी) को क्यान्सर प्रारम्भिक अवस्थामै पत्ता लाग्छ।
अध्ययनअनुसार, कम आय भएका देशहरूमा अधिकांश क्यान्सरका घटनाहरू रोग निकै बढिसकेपछि मात्र पत्ता लाग्छ। यसले गर्दा यी देशका महिलाहरूको जीवित रहने सम्भावना विकसित देशका महिलाहरूको तुलनामा धेरै कम हुन्छ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार, स्तन क्यान्सरजस्ता आक्रामक ट्युमरहरूको निदान ६० दिनभित्र हुनुपर्छ र उपचार ९० दिनभित्र सुरु हुनुपर्छ। तर, न्यून तथा मध्य आय भएका देशमा समयसीमाको गम्भीर उल्लङ्घन भएको पाइएको छ ।
विकसित देशमा धेरैजसो प्रारम्भिक चरणको क्यान्सरको व्यवस्थापन १ महिनाभित्रै सुरु हुन्छ। तर, गरिब/विकासोन्मुख देशमा पाठेघरको मुख र डिम्बाशयको क्यान्सरको निदान तथा उपचार सुरु गर्न ४ महिनासम्म ढिलाइ हुने गरेको छ।
त्यस्तै, स्तन क्यान्सरको निदान तथा उपचार सुरु गर्न १ वर्षसम्म पनि लाग्न सक्छ, जसले गर्दा बिरामीको रोग धेरै बढिसकेको हुन्छ।
अनुसन्धानले उपचारको प्रोटोकलमा पनि ठूलो अन्दर रहेको देखाएको छ । प्रारम्भिक स्तन क्यानरको हकमा फ्रान्समा शल्यक्रिया र रेडियोथेरापी ८२ प्रतिशत महिलाले गर्दा जर्जियामा यो संख्या १३ प्रतिशत मात्र रहेको छ ।
क्यानडाका ९० प्रतिशत महिलाले पाठेघरको मुखको क्यान्सरमा केमोथेरापीबाट उपचार गर्दा मंगोलियामा यो संख्या १८ प्रतिशत मात्र रहेको अनुसन्धानबाट खुलासा भएको हो ।
त्यस्तै, मेटास्टेटिक डिम्बाशयको क्यान्सरमा अमेरिकाका ५३ प्रतिशत महिलाले शल्यक्रिया र केमोथेरापीबाट उपचार गर्दा क्युबामा यो संख्या ९ प्रतिशत मात्र रहेको छ ।
गरिब देशमा उपचार बीचमै छाड्ने समस्याले पनि मृत्युदर बढाएको देखिएको छ ।
लन्डन स्कूल अफ हाइजीन एन्ड ट्रोपिकल मेडिसिनको ‘वीनसक्यान्सर’ परियोजना अन्तर्गत गरिएका यस अनुसन्धानले ढिलो पहिचानका लागि जिम्मेवार केही प्रमुख कारकहरू पहिचान गरेको छ ।
जसअनुसार, प्राथमिक स्वास्थ्य संरचनाको कमीका कारण नागरिकहरू आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुन पुग्छन् ।
स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर जस्ता जाँच गर्ने सुविधाहरूको कमीका कारण पनि रोग ढिलो पत्ता लाग्ने गरेको छ ।
स्वास्थ्य सेवामा पहुँच, चेतनाको कमी, र महिलाहरूलाई क्यान्सर जाँच गराउनबाट रोक्ने अन्य सामाजिक-सांस्कृतिक चुनौतीहरूले पनि यो दर बढाइरहेको अनुसन्धानमा प्रतिवेदनमा उल्लेख छ ।
शोधकर्ताहरूले ३९ देशका २ लाख ७५ हजारभन्दा बढी महिलाहरूको तथ्याङ्क को विश्लेषण गरेर यो निष्कर्ष निकालेका हुन् । यसमा निदान, उपचार र अन्तर्राष्ट्रिय दिशानिर्देशहरूको पालनासँग जोडिएका प्रवृत्तिहरूको मूल्याङ्कन गरिएको थियो।
प्रतिक्रिया 4