News Summary
Generated by OK AI. Editorially reviewed.- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विश्व स्तन क्यान्सर सचेतना महिनाको अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
- वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बरालले स्तन क्यान्सरका विभिन्न स्टेज र यसको उपचार सम्भावनाबारे जानकारी दिएका छन्।
काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विश्व स्तन क्यान्सर सचेतना महिनाको अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । ‘चौथो स्टेजको स्तन क्यान्सर जीवनको अन्त्य होइन, यो साहस, माया र सहयात्राको कथा हो’ भन्ने नारा सहित बुधबार कार्यक्रम आयोजना गरिएको हो ।
क्यान्सर प्रभावित र विजेताहरूलाई एकै ठाउँमा राखेर गरिएको यस कार्यक्रममा म्याक्स फाउण्डेशनको सहयोग तथा नेपाल क्यान्सर सर्भाइभर सोसाइटी र ब्लड क्यान्सर सोसाइटीको सहकार्य रहेको थियो । हरेक वर्ष अक्टोबर महिनालाई विश्व स्तन क्यान्सर सचेतना महिनाको रूपमा मनाइन्छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिप्रसाद पौड्याल रहेका थिए । सहायक प्राध्यापक तथा मेडिकल अन्कोलोजिस्ट डा. अरुण शाहीले मोडरेसन गरेका थिए।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बरालले स्तन क्यान्सरका पहिलो, दोस्रो, तेस्रो र चौथो स्टेजबारे जानकारी दिए । उनले नेपालमा प्रायः वंशाणुगत कारण, विवाह नगरेका वा ढिलो विवाह गर्ने महिलामा यो रोग बढी देखिने बताए । ‘ब्रेस्ट क्यान्सरमा जिरो स्टेज पनि हुन्छ, समयमै पत्ता लाग्यो भने शतप्रतिशत निको हुने सम्भावना हुन्छ’ डा. बरालले भने ।
मनोचिकित्सक डा. पवन शर्माले क्यान्सरसँग लडिरहेका बिरामीमा शारीरिकसँगै मनोसामाजिक समस्या देखिने बताए । करिब ५० प्रतिशतमा रोग पत्ता लगाउने र उपचारका क्रममा मानसिक तनाव, भावनात्मक समस्या, एन्जाइटी तथा उदासीनता जस्ता समस्या देखिने उनको भनाइ छ । उनका अनुसार यस्तो बेला आत्मविश्वासमा कमी, निद्रा नलाग्ने, जीवन जिउन मन नलाग्ने, टाउको दुखाइजस्ता लक्षण पनि हुन सक्छन् । लामो समयसम्म चिन्ता रह्यो भने स्वास्थ्यमा थप समस्या निम्तिने भएकाले मानसिक तनावको व्यवस्थापन वा उपचार आवश्यक रहेको उनले बताए ।

पाटन अस्पतालकी वरिष्ठ पोषणविद् योगिता सापकोटाले क्यान्सरसँग जुधिरहेका वा निको भएका सबैले खानपान र जीवनशैलीमा विशेष ध्यान दिनुपर्ने बताइन् ।
म्याक्स फाउण्डेशनकी स्वेता अग्रवाल र सविना घलेले १४ प्रकारका क्यान्सरको निशुल्क औषधि उपलब्ध गराइरहेको जानकारी दिँदै हाल पाटन अस्पताल, विपी कोइराला क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट १४३ जनाले यो सुविधा लिइरहेको बताए ।
नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीकी अध्यक्ष प्रतिमा खनाल र रक्त क्यान्सर सोसाइटीकी कोषाध्यक्ष शोभा कार्कीले आफ्नो उपचार अनुभव सुनाए ।
प्रतिक्रिया 4