+
+

२५ वर्षपछि उत्तर प्रदेशको चुनाव क्षेत्रमा गान्धी परिवार बाहिरबाट उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २२ गते १३:३७

२२ वैशाख, काठमाडौं । उत्तर प्रदेशको एक निर्वाचन क्षेत्रले २५ वर्षपछि गान्धी परिवार बाहिरबाट उम्मेदवार पाएको छ ।

सन् १९८० देखि गान्धी परिवारले राज गरिरहेको अमेठीले यस वर्षको लोकसभा निर्वाचनमा गान्धी परिवार बाहिरबाट उम्मेदवार पाएको हो । १९७० र १९९० को दशक छोड्ने हो भने त्यहाँ गान्धी परिवारले नै राज गर्दै आएको छ ।

भारतीय कंग्रेसका नेता राहुल गान्धी त्यस निर्वाचन क्षेत्रबाट तीनपटक सांसद चुनिएका थिए । सन् २०१९ मा भने उनी भाजपाकी स्मृति इरानीसँग पराजित हुन पुगे । त्यस निर्वाचन क्षेत्रबाट गान्धी परिवारका सञ्जय गान्धी सन् १९८० मा सांसद चयन भएका थिए । यस्तै, सन् १९८१ देखि सन् १९९१ गरी एक दशकसम्म राजीव गान्धी त्यहाँका सांसद भए । सन् १९९१ देखि सन् १९९८ सम्म त्यहाँ गान्धी परिवार बाहिरबाट सतिश शर्मा सांसद भएका थिए ।

शर्मापछि सन् १९९९ देखि सन् २००४ सम्म त्यहाँबाट सोनिया गान्धी निर्वाचित भइन् । सन् २००४ देखि सन् २०१९ सम्म त्यहाँबाट राहुल गान्धी उम्मेदवार भए । राहुल गान्धीले राय बरेली निर्वाचन क्षेत्र चयन गरेपछि अमेठीमा कंग्रेसले किशोरीलाल शर्मालाई उठाउने भएको छ ।

‘किशोरीलालजी र हाम्रो परिवारबीच निकै पुरानो सम्बन्ध रहेको छ । अमेठी र राय बरेली क्षेत्रका जनताको सेवामा उहाँ अनवरत खटिनुभएको व्यक्ति हो । उहाँमा रहेको जनताको सेवाभावको मूल्यांकन गर्दै गान्धी परिवारले लामो समयसम्म सेवा गरेको क्षेत्र शर्माजीलाई सुम्पिएका छौँ’, नेतृ प्रियंका गान्धीको भनाइ उद्दृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ ।

आफूलाई अवसर दिएकामा शर्माले कंग्रेसलाई धन्यवाद दिएका छन् । गान्धी परिवारबाहिरबाट पछिल्लोपटक त्यहाँ शर्मा अघि सन् १९९८ मा सञ्जय शर्मा उम्मेदवार बनेका थिए । शर्माले भाजपाका सञ्जय सिन्हासँग ३ लाख मतले हार व्यहोरेका थिए ।

सन् १९९९ मा सोनिया गान्धीले त्यहाँ विजय हासिल गरिन् । सन् २००४ मा भने उनी राय बरेली क्षेत्रमा पुगिन् । त्यसपछि २००४, २००९ र २०१४ मा राहुल गान्धी त्यहाँबाट निर्वाचित भए । अमेठी र राय बरेलीमा २० मे मा लोकसभा चुनाव हुनेछ । भाजपाले राय बरेलीमा दिनेश प्रताप सिंहलाइ अघि सारेको छ। सन् २०१९ मा सिंह सोनिया गान्धीसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?