+
+

‘सफल महिलालाई लाञ्छना लगाउने परम्परा अहिले पनि छ’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ५ गते १९:२१

फिल्म ‘बोक्सीको घर’को सफलतापछि यसकी निर्माता एवं मुख्य कलाकार केकी अधिकारी अहिले चर्चामा छिन् । फिल्म उद्योगमा झन्डै १५ वर्ष बिताएकी केकीसँग यो फिल्म निर्माण, सफलता, नेपाली समाजमा महिला र फिल्म उद्योगमा लैंगिक असमानता लगायत विषयमा अनलाइनखबरले गरेको कुराकानी :

‘बोक्सीको घर’ नाटकलाई फिल्म बनाउने कुरा कसरी सुरु भएको थियो ?

कोभिडको पहिलो लकडाउनमा तीन महिना घरमै बन्द हुँदा अब के गर्ने त भनेर सोच्दासोच्दै यो आइडिया आएको हो । यदि अवस्था यस्तै भइराख्यो र जिन्दगीमा एउटा मात्रै कथा भन्न पाइने अवस्था आयो भने कुन कथामा फिल्म बनाउने होला त भनेर सोच्न थालें । सन् २०१६ मा हेरेको नाटक ‘बोक्सीको घर’ मेरो दिमागमा बसिरहेको थियो । यो सारै शक्तिशाली नाटक थियो । मैले त्यही कथा सम्झिएँ । हरेक पटक बोक्सी सम्बन्धी समाचार पढ्दा म यही नाटक सम्झिन्थें । मैले यही विषयलाई छानें । कसैले सहयोग गरेन भने एक्लै बनाउन सकिन्छ कि सकिंदैन भनेर बजेट प्लान पनि गरें । सकिन्छ जस्तो लागेपछि लकडाउन खुकुलो भएपछि मैले यस नाटकका लेखक/निर्देशक सुलक्षण भारतीलाई खोजेर भेटें । उहाँलाई यसमा स्क्रिप्ट लेख्न भनें ।

यो सत्य घटनामा आधारित हो ?

सुलक्षणजीले २०१६ मा नाटक गर्नुभन्दा पनि केही अघिदेखि नै यस विषयमा रिसर्च गर्नुभएको थियो । त्यसपछि पनि हामीले बोक्सी आरोपका विषयमा आएका सबै समाचारको कटिङहरू जम्मा पारेका थियौं । यिनमा आएका विभिन्न स्थान र समयका कथाहरूलाई हामीले एउटा पात्रको कथाका रूपमा पेश गरेका हौं । भएका घटनाहरूमा आधारित हो । तर, जुनुको बाल्यकाल जस्ता कुराहरू थपिएको हो ।

यसको निर्देशक नयाँ हुनुहुन्छ । निर्देशक छनोट कसरी गर्नुभयो ?

सुलक्षणजीले लेखिसकेपछि मैले नै उहाँलाई निर्देशनको प्रस्ताव गरें । किनभने यो विषयलाई यति गहिरिएर मनन् गर्न सक्ने अर्को मान्छे मैले कोही देखिनँ । उहाँले मेरो तयारी पुगेको छैन भनेर मान्नुभएन । ‘एक न एक दिन निर्देशन गर्नु नै छ यसैबाट थाल्नुस्’ भनेर मैले भनेपछि उहाँले भन्नुभयो, ‘त्यो पात्र तपाईंले नै गर्ने हो भने !’ म तयार थिएँ । उहाँले फेरि भन्नुभयो– ‘तपाईंले पनि अडिसन चाहिं दिनुपर्छ । तपाईंको यसमा सम्भावना र प्रतिबद्धता कति छ मैले हेर्नुपर्छ’ भन्नुभयो । म त्यसमा पनि तयार भएँ । उहाँले फेरि थप्नुभयो, ‘तपाईंले ४ देखि ६ महिनाको वर्कशपमा बस्नुपर्छ, त्यसमा तपाईंको प्रगति हेरेर बल्ल निर्णय लिन सकिन्छ । नत्र तपाईंले फिल्मको अर्को कुनै पात्रमा अभिनय गरेर यसलाई निर्माण गर्न सक्नुहुन्छ ।’

भनेपछि आफैंले निर्माण गरेको फिल्म खेल्नलाई तपाईंले अडिसन दिनुभयो ?

‘बोक्सीको घर’ नाटकमा सरिता गिरी दिदीको बुलन्द अभिनय देखेपछि नै मलाई फिल्ममा यो चरित्र मैले गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो । तर, सुलक्षणजीले वर्कशप नसकिउञ्जेल एक्टरका रूपमा मलाई साइन गर्न मान्नुभएन । मलाई यो कुरा मज्जा पनि लागिरहेको थियो । किनभने, एउटा नाम बनिसकेको कलाकारले जे गरे पनि सबैले ठिक छ मात्रै भन्ने चलन हुन्छ । आफूले के गरिरहेको छु भनेर परीक्षण गर्ने मौका हुँदैनथ्यो । मैले त्यो मौका यहाँ पाएँ । सबै कलाकारलाई अभिनयको कार्यशालामा राखिएको थियो । यही कार्यशालाले बालकलाकार सुपुला सापकोटा र फिल्ममा उनकी आमाको भूमिका गर्ने सेबिता अधिकारीको बीच साँच्चिकै आमाछोरीको जस्तो ‘बोन्डिङ’ बन्यो । पत्रकारको भूमिकामा अभिनय गर्ने स्वेच्छा राउत साँच्चिकै पत्रकार हो । उनी र म काठमाडौंमा सँगै स्कुल पढेका हौं । हामी सँगै स्कुलका नाटकमा भाग लिन्थ्यौं । उनले पनि यो कार्यशालामा बसेर अभिनय सिकिन् र काम गरिन् । निर्देशक सुलक्षणजी आफैं अभिनयको प्रशिक्षक पनि हो, उहाँले नै कार्यशाला चलाउनुभयो । उहाँले मसँगचाहिं अर्को पनि शर्त राख्नुभएको थियो ।

के थियो त्यो शर्त ?

मैले कपाल खौरिनुपर्छ भन्ने थियो । यसमा चाहिं म अलि हच्किएँ । मैले भनें, ‘कपाल खौरियो भने त मैले अरू फिल्म पनि गर्नुपर्छ, म त तीन–चार वर्ष कामविहीन हुन्छु ।’ सुलक्षणजीले भन्नुभयो, ‘कसैले साँच्चिकै जीवनमा भोगेको र बाँचेको पीडालाई तपाईं कसरी महसुस गर्न सक्नुहुन्छ त ? तपाईं पात्रका रूपमा केही क्षण पनि त्यो जीवन बाँच्न तयार हुनुभएन भने त तपाईं डेडिकेटेड हुनुहुन्छ भनेर मैले कसरी बुझ्ने ?’ मलाई पनि यो कुरा ठिक लाग्यो । म कपाल खौरिन तयार भएँ ।

तपाईंको कपाल खौरिने निर्णयको घरमा कस्तो प्रतिक्रिया आयो ?

मैले घरमा भन्दै भनिनँ । खौरिइसकेपछि बल्ल भनें । किनभने, भनेको भए मैले सायद खौरिन सक्दिनथें । बुबाआमालाई चिन्ता हुन्थ्यो । हाम्रो समाजमा केटीले कपाल खौरिनुका धेरैखाले अर्थ लगाइन्छ ।

खौरिएको देखेपछि चाहिं के भन्नुभयो ?

एउटा एनजिओमा काम गर्ने महिला बोक्सी आरोपीका बारे रिसर्च गर्न जाँदा केही दिनको बसाइपछि गाउँलेले उहाँलाई नै बोक्सी मन्त्र सिक्न आएकी भनेर मुन्डन गरेर गाउँबाट निकाल्ने घटना भएको थियो । त्यो समाचार अहिले पढ्दा पनि मलाई जिरिंग हुन्छ

मैले कपाल मुन्डन गर्ने दिन हाम्रो सुटिङको अन्तिम दिन थियो । खौरिएपछि आमालाई फोन गरेर भनें । आमा चकित हुनुभयो । तर, खासै अरू कुरा भन्नुभएन । फर्किएर हेर्दा उहाँको प्रतिक्रिया सामान्य थियो । मेरो आफ्नो लागि चाहिं यो ठूलो ‘सोसल एक्सपेरिमेन्ट’ भयो ।

के–कस्तो अनुभव भयो ?

कपाल खौरिएपछि मैले आफूलाई ऐनामा हेरेको थिइनँ । खौरिनेले टाउको सफा गर्नका लागि एकफेर फेरि खौरिनुपर्छ भन्नुभएको थियो । त्यसैले सुटिङ सकेर दरबारमार्ग सैलुनमा गएँ । त्यहाँ मैले सबैको एकदमै अचम्ममा परेको प्रतिक्रिया पाएँ ।

के भयो ? किन खौरेको ? भनेर सबैले सोध्नुभयो । म सामान्य बन्न खोज्दैथिएँ तर सबैले असामान्य तरिकाले लिइरहनुभएको थियो । फर्किने बेला सबैले टोपी लगाएर झर्नु भन्नुभयो । तर, मैले नलगाई झर्ने आँट गरें ।

म टोपी नलगाई आएँ । स्कुटी निकालेर पार्किङको मान्छेलाई कति पैसा भयो भनेर सोधेको उहाँले पैसा लिन मान्नुभएन । मलाई बिरामी भन्ने सोच्नुभएछ ! मान्छेले कि बिरामी छ, कि ठूलो ट्रयाजेडीबाट गुज्रिएको छ भनेर सोच्दा रहेछन् ।

कपाल खौरिएका कारण कुनै फिल्म पनि छोड्नुपर्‍यो ?

म लगभग एक वर्ष जस्तो कामविहीन नै भएँ । म्युजिक भिडियोहरूमा पनि काम पाइनँ । त्यसमा म कसैलाई दोष दिन्नँ । किनभने, हाम्रोमा पात्र नै त्यसरी लेखिएको हुँदैन । हाम्रो सुन्दरताको परिभाषामै त्यो पर्दैन । अनि कपाल अलिकति लामो नभइञ्जेल विग (नक्कली कपाल) लगाउन पनि मिल्दैन, त्यो सुहाउँदो देखिंदैन । केहीमा ट्राई गरें तर आफैंलाई मन परेन ।

तपाईंले सुरुमा अनुमान गरेको बजेटमै बन्यो त फिल्म ?

त्यसले त तयारी मात्रै गर्न पुग्यो । पूर्वानुमान अनुसार हुन सकेन । बजेट माथि नै जाने भयो । अनि मैले दुई–तीन ठाउँमा सह–निर्माणको प्रस्ताव पठाएँ । तीमध्ये एकजनाले पचास प्रतिशत लगानी गर्ने गरी सहमति भयो अनि हामी सुटिङमा गयौं ।

यो फिल्ममा धेरै किसिमका महिला पात्र छन् । सासू, आमा, छोरी, विधवा, मानसिक रूपमा विक्षिप्त, बोक्सी आरोपित अनि पत्रकार । तपाईंलाई सबभन्दा मन परेको पात्रचाहिं कुन हो ?

मलाई त मैले गरेको जुनुको चरित्र नै मन परेको हो । त्यसैले मैले त्यो भूमिका गरें पनि । तर, अहिले आएर हेर्दाखेरी सेबिताले गरेको जुनुको आमाको चरित्रको मलाई माया लागेको छ । त्यो चरित्रप्रति मेरो निकै सहानुभूति छ ।

एउटा सानी छोरी हुर्काइरहेकी आमा, जो छोरीलाई पढाउन चाहन्छे, छोरीको जीवन आफ्नो जस्तो नहोस् भन्ने चाहन्छे, तर केही गर्न सक्दिनँ । उसको निर्णय चल्दैन । निर्णय त्यो पतिको चल्छ, जो उनीहरूसँग बस्दा पनि बस्दैन । उसको पीडा कस्तो होला ? यस्तो नेपाली घरघरमा हुने भएर पनि होला ।

अधिकांश महिलाले त यस्तै जीवन बाँचिआएका छन्, बाँचिरहेका छन् । अहिले त यसमा केही परिवर्तन आएको छ ।

फिल्म मार्केटिङको तयारी कसरी भयो ? अहिले यसको मार्केटिङको पनि निकै चर्चा भइरहेको छ !

पहिले कतै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पठाउने कि भन्ने तयारी थियो । त्यो रूपमा पहिला फिल्मको सम्पादन गर्‍यौं । तर, बाहिर पठाउने प्रक्रिया यति लम्बियो कि म त यसमै अड्किए जस्तो भएँ । अर्को कुनै प्रोजेक्टमा जानै नसक्ने जस्तो भएँ । त्यसपछि हामीले फिल्म फेस्टिभललाई थाती राखेर नेपालमै रिलिज गर्ने हिसाबले सम्पादन, संगीतको तयारीमा लाग्यौं ।

नेपालमा पनि यसलाई सामाजिक कथाका रूपमा लैजाने कि थ्रिलरका रूपमा भन्ने दुइटा विकल्प हामीसँग थियो । हामीले यसको दर्शक को हो त भनेर खोज्यौं । पहिलो दृष्टिमा नै यसको ९५ प्रतिशत दर्शक महिला हुनुहुनेछ भन्ने हामीलाई लाग्यो ।

 

त्यो थाहा भए पनि मलाई कहिल्यै दुःख बेचौं भन्ने लाग्दैन । अनि हामीले बरु जोखिम लिऊँ तर यसलाई थ्रिलर–हररकै रूपमा लैजाउँ भन्ने निर्णय गर्‍यौं । त्यसै अनुसार टिजर बनायौं ।

फिल्मलाई व्यापक चर्चामा ल्याउने काम त प्रकाश सपूत–समीक्षा अधिकारीको ‘बुझिनँ मैले’ गीतले गर्‍यो । यो गीत कसरी बन्यो ?

दुई तीन वर्षमा केही फिल्म खेलेर कोही स्टार हुन्छ । जबकि खास स्टार त कन्टेन हो, कलाकारको नाम र अनुहारले त पहिलो दुई दिन मात्रै दर्शक तान्ने हो भन्ने पनि सबैलाई थाहा छ । दुई दिनपछि त फिल्मले नै हो, चलाउने

फिल्मको स्क्रिप्ट रेडी भएपछि मैले तीन वर्षजति अगाडि नै दुई जनालाई पढ्न दिएकी थिएँ । एउटा प्रचण्डमान श्रेष्ठजी र अर्को प्रकाश सपुतजी । उहाँहरू मैले विश्वास गर्ने मान्छे हो । प्रकाशजीसँग त्यो बेला भर्खरै ‘परदेशी–२’ को काम सकिएको थियो । अनि उहाँको ‘बदला बरिलै…’ गीतमा पनि मैले अभिनय गरेकी थिएँ ।

मलाई के लाग्यो भने, प्रकाशजीका गीत जुन दर्शक–श्रोतामा पुगेका छन्, यो फिल्म त्यहाँसम्म पुर्‍याउनुपर्छ । र, यो काम प्रकाशजीले भन्दा राम्रोसँग कसले गर्न सक्छ र ? अनि मैले प्रकाशजीलाई भेटें, ‘मलाई यस्तो गीत चाहियो’ भनेर सहयोग मागें । उहाँले कस्तोखाले गीत बनाउने ‘गलबन्दी’ जस्तो कि ‘बदला बरिलै’ जस्तो ? भनेर सोध्नुभयो । मैले यी दुवैको बीचको चाहिएको छ भनें ।

हामी नेपालीको त वेदनामा पनि गीत बनाएर तीजमा नाँच्ने परम्परा हो नि ! त्यसै अनुसारको सन्देश पनि भएको तर नाँच्न पनि मिल्ने गीत मैले मागें ।

गीत बन्न कति समय लाग्यो ?

कुरा गरेको लगभग एक महिनाजति भएको थियो । प्रकाशजीको अष्टे«ेलिया टुरको तयारी चलिरहेको थियो । उहाँ जुन राति अष्ट्रेलिया जाँदै हुनुहुन्थ्यो, त्यसकै दिउँसो ‘ल, एउटा तयार भयो’ भनेर बोलाउनुभयो । प्रकाशजीले समीक्षालाई गाउन दिऊँ भन्नुभयो । मलाई पनि समीक्षाको आवाज एकदमै मनपर्ने । हामी स्टुडियोमा गयौं । स्थायी मात्र तयार थियो, अन्तरा लेख्नुभएकै थिएन ।

फिल्म रिलिजलाई २० दिन मात्रै बाँकी थियो, टिजर आइसकेको थियो । म त होपलेस नै थिएँ । आज रेकर्ड गर्न सकिएन भने भ्याउँदैन भन्ने भयो । अनि हामीले त्यसै दिन रफ रेकर्ड गर्‍यौं । रफ रेकर्ड नै लिएर भोलिपल्ट हामीले सुटिङ गर्‍यौं ।

सुनिल क्षेत्रीजीले यसको कोरियोग्राफी गर्नुभयो । एक घण्टा जस्तो छलफलपछि हामीले गीतको भिजुअल कस्तो हुने भन्ने टुंगो लगाएर स्टुडियो लियौं । होलीको तेस्रो दिन सुटिङ गरियो । यसलाई ग्ल्यामरस खाले आइटम गीत बनाउने कि भन्नेबारे छलफल पनि भएको थियो । तर, यसमा धोती, चोलो र सिन्दुरमा नै भन्दा सबभन्दा बलियो हुन्छ, नेपाली महिलाको वास्तविक छवि त त्यही छ भनेर मैले नै यसरी गरौं भनेको हो ।

यति छोटो समयमा यसरी गीत बनाएर, गीतले यस्तो लोकप्रियता पाएको र फिल्मलाई चाहिएको जस्तो काम गरेको देख्दा मलाई लाग्यो- समय ठीक छ भने सबै कुरा राम्रो हुँदोरै’छ । गीत यो तहमा पुग्ला भन्ने त हामीले पनि सोचेका थिएनौं । अहिले त संसारभरका नेपालीलाई यसले छोएको छ । फिल्मको प्रचारमा म नै धेरै खटिनुपरेको थियो, यो गीतले मेरो त्यो बोझ हल्का गरिदियो ।

फिल्ममा कुनै चलेको हिरो लिनुपर्छ भन्नेबारे पनि छलफल भएको थियो कि ?

चलचित्र ‘बोक्सीको घर’ प्रदर्शनका क्रममा कांग्रेस महामन्त्री गगन थापासँग केकी अधिकारी ।

थियो । निर्देशक सुलक्षणजीले गर्नुभएको भूमिकामा खासमा पहिले एक–दुई जना चलेका कलाकारलाई लिएर साइन पनि गरेका थियौं । तर, हामीलाई वर्कशपहरूले गर्दा सुटिङमा जान टाइम लाग्यो । अनि उहाँहरूको टाइम मिलेन । अनि उहाँले नै त्यो रोल गर्नुभयो । फिल्म बनिसकेपछि यसलाई रिलिज गर्ने बेलामा फेरि एकपटक ‘हिरो को छ ?’ भन्ने प्रश्न आयो । डिस्टिब्युटर, डिजिटल र विदेशबाट पनि यो प्रश्न नआएको होइन ।

फिल्ममा ‘हिरो’ नहुँदा बजारमा कत्तिको असर हुँदोरहेछ ?

राम्रैसँग हुँदोरहेछ । मैले विदेशमा फिल्म पठाउन खोज्दा कति जनाले लिनै मान्नुभएन । त्यहाँको खर्च मात्रै उठाउनुस्, फिल्म धेरै दर्शकसम्म पुगोस् भनेर पनि कति जनासँग हात जोडेकी छु । डिजिटल र नेपालबाटै लगानी उठाउन सकिएला भन्ने मलाई थियो । हामीलाई यसको ओपनिङ ठूलो नभए पनि ‘वर्ड अफ माउथ’ले दर्शक तान्छ भन्ने थियो । नसोचेको कुराचाहिं फिल्मले ‘ओपनिङ’ नै एकदमै राम्रो लिइदियो ।

प्रिमियरमा पाएको प्रतिक्रिया र त्यसपछि आएका कलहरूले म त एकदमै भावुक भएँ । दुई तीन दिनसम्म त मलाई सपना जस्तै लाग्यो । ओपनिङ राम्रो भएपछि त विदेशमा फेरि हानाथाप नै भयो । एउटै देशबाट तीन–चारको फोन आउन थाल्यो, फिल्म माग्न ।

फिल्मको बजेट कति पुग्यो ?

मार्केटिङ समेत गर्दा १ करोडको हाराहारी पुग्यो ।

नेपालमा आजसम्मको व्यापार कति पुगेको छ ?

आज मंगलवार, फिल्म रिलिजको १७–१८ दिन भयो । डिस्ट्रिब्युटरले मलाई तीन दिन अगाडि जानकारी गराउनु भए अनुसार ८.५ करोड भन्दा बढी नेपालमा भएको छ । हामीले त लगानी मात्र उठाउन सके हुन्थ्यो भन्ने सोचेका थियौं । अहिले त मलाई त्यत्रा दर्शक फिल्म हेर्न आउनुभयो, उहाँहरूको चित्त बुझाउन सकियो कि सकिएन भनेर माया लागेर पनि आउँछ ।

निर्माताका रूपमा दबाब पनि भएकाले मलाई अहिले पनि फिल्ममा मेरो चरित्रमा गर्न सक्ने जति गर्न सकिनँ जस्तो लाग्छ । मनोरञ्जक फिल्म बनाउनुका साथै बोक्सी प्रथाको अन्धविश्वासबारे धेरै मान्छेसम्म सन्देश पुगोस् भन्ने पनि उद्देश्य भएकाले व्यावसायिक रूपमा सफल नहुन सकिन्छ भन्ने पनि सोचेर सानो बजेटमा बनाएको हो ।

कतिपय कुरा लेबल लगाइसकेपछि यस्ता हुन्छन्, जसलाई कुनै तर्कले जित्न सक्दैन । बोक्सी आरोप त्यस्तै हो नि ! ‘यो बोक्सी हो’ भनिदिएपछि मान्छेले तर्क र तथ्य नहेरीकन स्वीकार गर्ने गरेको देखिन्छ

तर, केही समीक्षा र सामाजिक सञ्जालहरूका पोष्टहरूमा त फिल्मले अन्तिममा बोक्सी प्रथाबारे स्पष्ट सन्देश दिन चुक्यो भनेको देखियो । यसमा तपाईंको भनाइ के छ ?

हामीसँग कथालाई जता पनि मोड्न सक्ने वा अन्त्य गर्न सक्ने स्वतन्त्रता थियो । दर्शकले जस्तो हेर्न चाहनुभएको छ, त्यसरी नै लैजान सकिने पनि थियो । तर, त्यसो गर्दा यथार्थ भन्दा पर हुनजान्थ्यो । यो एकजनाको जीवनमा घटेको सत्य घटनाबाटै प्रेरित हो ।

एउटा एनजिओमा काम गर्ने महिला बोक्सी आरोपीका बारे रिसर्च गर्न जाँदा केही दिनको बसाइपछि गाउँलेले उहाँलाई नै बोक्सी मन्त्र सिक्न आएकी भनेर मुन्डन गरेर गाउँबाट निकाल्ने घटना भएको थियो । त्यो समाचार अहिले पढ्दा पनि मलाई जिरिंग हुन्छ । प्रस्तुतिका हिसाबले चाहिं केही हतार भयो कि, चुक भयो कि भन्ने त मलाई लाग्छ ।

फिल्मले त बोक्सी हुन्छ भनेर त्यसलाई नै प्रश्रय दियो भन्ने कोणबाट पनि सञ्जालमा लेखिएको पाइयो । खासगरी क्लाइमेक्सका दृश्यबारे गरिएका टिप्पणीहरूमा !

पत्रकारलाई नै गाउँलेले आफ्नो शक्ति र अन्धविश्वासका कारण बोक्सी भनेर मुन्डन गरिदिए र अर्को बोक्सी खडा गरिदिए भन्ने फिल्ममा देखाइएको हो । तर, तपाईंले भन्नुभए जस्तो केहीले त्यो चरित्रलाई फिल्मले नै बोक्सी बनायो भन्ने अर्थमा बुझ्नुभएको भए त्यसमा हामीले बुझाउन नसकेको हुनसक्छ । हाम्रो चुक भएको हुनसक्छ । सायद केही दृश्यहरू कम भएर वा व्याख्या कम भएको हुनसक्छ । फिल्मलाई मिहिन ढंगले हेर्दा त जुनुलाई जसरी नै उसलाई पनि जबर्जस्ती बोक्सी आरोपित गरिएको छ ।

यसको दोस्रो भाग बनाउनका लागि त्यसरी अन्त्य गरिएको हो कि ?

दोस्रो भागको योजना गरेर त होइन । ‘कथा जारी छ…’ भन्नुको अर्थ अर्को भाग भन्ने होइन, समाजमा यस्तो घटनाहरू घटिनै रहेका छन्, यो सिलसिला जारी छ भन्ने अर्थमा राखिएको हो । म पार्ट २, ३ सिक्वेलहरूमा विश्वास गर्ने मान्छे हुँदा पनि होइन । तर, योसँग मिल्दोजुल्दो कुनै सत्यकथा साँच्चिकै भेटियो भने र त्यसले दर्शकले अहिले चाहेको जस्तो प्यास मेटाउन सक्छ भने किन नगर्ने भन्ने पनि छ ।

तपाईंले बोक्सी आरोपित मानसिक रूपमा विक्षिप्त चरित्रमा अभिनय गर्नका लागि साँच्चिकै आरोप भोगेका पात्रहरूलाई पनि भेट्नुभयो ?

मैले भेटिनँ । त्यस्तो लाञ्छना भोगेका, खेपेर निस्किएका मानिसहरूलाई त्यही कुरा सोधेर त्यहीं फर्काउँदा मानसिक ट्रमा बल्झिने जोखिम हुँदोरहेछ । मलाई त्यही दुःख फेरि दिन मन लागेन । मेरो कथा बनाउनका लागि उहाँहरूको पुरिइसकेको घाउ फेरि कोट्याउन मन लागेन । मेरा एक–दुई जना साइकोलोजिस्ट साथीहरूले त्यस्तो नगरिदिन मलाई अनुरोध पनि गर्नुभयो । मैले यस सम्बन्धी समाचारहरू चाहिं पाइएजति पढें ।

अब यसपछि के छन् योजना ?

खासै योजना बनाएको छैन । मलाई त यो फिल्मलाई नै अझै धेरै दर्शकसम्म, गाउँ–गाउँमा पुर्‍याउन पाए हुन्थ्यो भन्ने छ । गाउँ–गाउँमा पुगेन भने यसको उद्देश्य पूरा पनि हुँदैन । पहिले गाउँमा शोहरू गर्नुभएकाहरूसँग मैले कुरा पनि गरेकी छु, कसरी पुर्‍याउन सकिन्छ भनेर । घुम्ती शोहरू गर्न सकिन्छ कि भनेर चलचित्र विकास बोर्डमा कुरा पनि गरेकी छु ।

फिल्म उद्योगमा डेढ दशक बिताएपछि आफूले निर्माण गरेको र आफैंले नै लिड गरेको फिल्मले यत्रो सफलता पाउँदा अहिले बल्ल करिअरको शिखरमा पुगे जस्तो लागेको छ कि ?

त्यसरी हेर्न सकिन्छ । यो किन पनि महत्वपूर्ण होला भने म त फिल्म लाइनमा आउँदाखेरी नै हिरोइनको अवधि भनेको १०–१२ वर्ष हो भन्ने सुन्दै आएको । ‘जत्ति गर्न सक्छौ १० वर्षमा नै गर है’ भन्ने गरिन्थ्यो । कोभिडको बेला म फिल्म लाइनमा आएको दश वर्ष भएको थियो ।

अब फेरि काम गर्न पाइन्छ कि पाइँदैन भन्ने डर पनि थियो । त्यही बेला यो भाष्यलाई परिवर्तन गर्नुपर्छ, करिअर पनि लम्ब्याउनुपर्छ र आफू जस्तै अरू महिला कलाकारका लागि पनि त्यो बाटो खोल्नुपर्छ भन्ने लागेको थियो । नेपालमा यति धेरै महिला कलाकार हुनुहुन्छ जसले फिल्ममा आफ्नो पूरै जीवन अर्पित गर्नुभएको छ । तर, उहाँहरूले न पाउनुपर्ने जति सम्मान पाउनुभएको छ न त्यस किसिमको सफलता ।

यति समयको अनुभवमा तपाईंले नेपाली फिल्मको सबभन्दा समस्याग्रस्त क्षेत्रचाहिं कुन देख्नुभयो ? लेखन, निर्देशन, अभिनय, प्राविधिक, बजेट, प्रचारप्रसार वा अन्य कुनै ?

हामी त सबैमा कमजोर नै छौं । सबैमा अलिअलि समस्या छ । सबभन्दा धेरै स्क्रिप्टमै हो । त्यसपछि अरूमा छन् । हाम्रो त कागजपत्र बनाउने कुरामा पनि कमजोरी रहेछ । त्यही भएर कतिपय कुरामा हामी चुक्छौं । मार्केटिङमा पनि हामी ‘फिल्मको टे«लर नै भनिहाल्छ नि’ भनेर छोडिदिने रहेछौं ।

यो एउटा प्रोडक्ट हो, यसलाई पनि ब्रान्ड इमेज दिनुपर्छ, टार्गेट अडियन्स रिसर्च कसरी गर्ने, दर्शकको दिमागमा फस्र्ट इम्प्रेसन केले पार्छ भनेर सोच्दैनरहेछौं । यसमा स्टडी भएको छैन ।

हामी पोस्ट प्रोडक्सनमा पनि कमजोर छौं । हामी समयमा काम सक्दैनौं । हाम्रो फिल्मको प्रिमियरपछि पनि काम भइरहेको थियो । अभिनयमा पनि समस्या छ । मैले त्यत्रो ४-६ महिना तयारी गरेर पनि अहिले फिल्म हेर्दा आफ्नो कमजोरी देख्छु । किन त्यहाँनेर यस्तो नगरेर मैले यस्तो गरेको होला जस्तो लाग्छ । स्क्रिप्टमा पनि अझै गर्ने ठाउँ थियो ।

तपाईंले भन्नुभए जस्तै फिल्मको अन्त्यलाई लिएर जतिको चित्त बुझेको छैन, अधिकांशको चित्त बुझाउन सकिन्थ्यो । उहाँहरूको पनि चित्त बुझ्ने गरी र हाम्रो मर्म पनि नमर्ने गरी गर्न सकिने रहेछ भन्ने शिक्षा पनि पाइएको छ ।

पुरुष कलाकारहरूले एउटा फिल्मको ५० लाख लिएको समाचार सुन्छौं हामी । ३५ लाख त हामीलाई थाहा भएकै धेरै जनाले लिनुहुन्छ । त्यहीं महिला कलाकारले बराबर भूमिका र योगदान हुँदा १० पनि पाइरहेको हुँदैन

यो फिल्मले राम्रो ओपनिङ लिएपछि ‘फिल्म चलाउनलाई स्टार होइन, स्क्रिप्ट चाहिन्छ’ भनेर भनियो । धेरै कलाकारले पनि त्यो भनेको पाइयो । एक हिसाबले हेर्दा तपाईंलाई स्टारका रूपमा गणना नगरिएको जस्तो पनि देखियो । जबकि केही थोरै फिल्म खेलेका पुरुष कलाकार पनि स्टार भन्ने गरिन्छ । फिल्म उद्योगमा महिला र पुरुष कलाकारका बीच भूमिका र लोकप्रियतामा त्यत्रो ठूलो अन्तर छ ?

भूमिका र लोकप्रियता उस्तै भए पनि स्टारका रूपमा दिइने मान्यतामा चाहिं फरक छ । यही फिल्ममा मेरो सट्टामा कुनै ५-१० वर्ष काम गरेको पुरुष कलाकार हुनुहुन्थ्यो भने उहाँलाई आफ्नो अनुहार राखेर फिल्म बेच्न मलाई जति गाह्रो हुने थिएन । यसमा कुनै दुईमत छैन । हाम्रो सोच्ने तरिकै त्यस्तो छ । मलाई नै कसैले नेपालका पाँच जना स्टारको नाम भन भन्यो भने मैले सरसर्ती चारजना पुरुष कलाकारको नाम भन्छु होला । अनि बल्ल ‘ए मैले महिलाको त नामै लिइनँ’ भनेर पाँचौंमा कुनै महिला कलाकारको नाम लिन्छु होला ।

यहाँ प्रियंका कार्की जस्तो कलाकारलाई पनि स्टार मान्न गाह्रो मानिन्छ जबकि दुई तीन वर्षमा केही फिल्म खेलेर कोही स्टार हुन्छ । जबकि खास स्टार त कन्टेन हो, कलाकारको नाम र अनुहारले त पहिलो दुई दिन मात्रै दर्शक तान्ने हो भन्ने पनि सबैलाई थाहा छ । दुई दिनपछि त फिल्मले नै हो, चलाउने ।

फिल्म चलिसकेपछि पाएका मध्ये सबभन्दा गज्जब लागेको टिप्पणी वा प्रशंसा कसको थियो ?

मलाई स्वस्तिमा खड्काको टिप्पणी विशेष लाग्यो । त्यसमा धेरैले भन्न खोजेको कुरा समेटिएको थियो जस्तो लाग्छ । ‘बोक्सीको घर’ सुटिङ गर्दा मेरो बिहे भएको थिएन । बिहेको दुई वर्षपछि फिल्म रिलिज भयो ।

फिल्म रिलिज गर्ने बेलामा केही शुभचिन्तकहरूले, गुड नोटमा नै ‘बिहे भएको हिरोइन भनेपछि अलिकति ग्ल्यामर फ्याक्टरले तान्दैन भन्ने मानिन्छ’ भनेर भन्नुभएको थियो । तर, दर्शकहरूले साथ दिएर त्यो सोचलाई दह्रो झापड दिनुभयो । अझै फिमेल–लिड फिल्मको त यस्तो ओपनिङको रेकर्ड नै छैन । स्वस्तिमाले यो कुरा लेखेको थियो ।

३० वर्ष कटेपछि हिरोइनको समय सकियो भनिन्छ नि त ! मलाई यो फिल्म चलिसकेपछि पनि कति जनाले फोन गरेर ‘ल, तिमीले चाहेजस्तो फिल्म पनि चल्यो, अब ब्रेक लेऊ’ भन्नुभयो । ‘अब दुई वर्षचाहिं सेटल डाउन गर, मेक अ फ्यामिली’ भनेर पनि फोन आएको छ ।

मान्छेहरूको ध्याउन्न नै सेटल गराउने, त्यो भनेको बच्चा जन्माएर बस भन्ने छ । मलाई परिवार र अरूबाट पनि यो आयो । त्यो माइन्डसेट छ । मैले फेरि यसलाई नकारात्मक रूपमा पनि लिन्नँ । उहाँहरूले मलाई त्यसरी हेर्न चाहनुभएको हो भनेर बुझ्छु । फेरि यसमा मेरो करिअर त छैन नि ! महिला ‘सेटल’ हुनु भनेको चाहिं पारिवारिक रूपमा मात्रै हो भनेर सोचिदिने गरिन्छ । म त सेटल भइसकें नि ! म करिअरमा सेट हुनु पनि त ठूलो कुरा हो नि !

बोक्सीको आरोपलाई महिलालाई कमजोर बनाउन, आवाज दबाउनका लागि औजारका रूपमा प्रयोग गर्ने गरिएको अध्येताहरू बताउँछन् । अहिलेको आधुनिक शहरी समाजमा त्यस्ता केही औजार हुने रहेछन् ?

आधुनिक शहरी समाजमा पनि यसले अर्को रूप लिएको म देख्छु । त्यो कस्तो भने कुनै महिलाले एकदमै छिटो प्रगति गरेको छ भने, उसँग आँखा जुधाएर कुरा गर्दा उसको इनर्जीले गर्दा भाइब्रेसन महसुस भयो भने त्यस्ता महिलालाई ‘यो त क्या बोक्सी छ’ भनिदिने गरेको पाइन्छ । ‘कम्पनीमा आउने बित्तिकै दुई–तीन महिनामा यसको प्रोगेस हेर त, दिस इज नट न्याचुरल’ भनिदिने । कसैको इनर्जी त्यस्तो हुन्छ, कोही एकदमै ट्यालेन्टेड हुन्छ, बौद्धिक र तार्किक हुन्छ । त्यसको कदर नगर्ने, उल्टै ‘त्यसले त जादु गर्छे’, ‘त्यो त बोक्सी छ’, ‘त्यसको अगाडि बोल्नै सकिंदैन’ भन्ने गरेको पाइन्छ ।

मलाई लाग्छ, यो भनेको ‘बोक्सी’ भनेर लाञ्छना लगाइने कुराको नै परिवर्तित स्वरुप हो । यो निकै खतरनाक छ । किनभने, कुनै पनि महिला अलि शक्तिशाली, बोल्न सक्ने, आफ्नो हक दावी गर्न सक्ने भयो भने उसलाई एउटा न एउटा लाञ्छना, आरोप वा लेबल लगाएर कमजोर बनाउने पहिलेको परम्परा अर्को रूपमा अझै चलिरहेको जस्तो लाग्छ । कतिपय कुरा लेबल लगाइसकेपछि यस्ता हुन्छन्, जसलाई कुनै तर्कले जित्न सक्दैन । बोक्सी आरोप त्यस्तै हो नि ! ‘यो बोक्सी हो’ भनिदिएपछि मान्छेले तर्क र तथ्य नहेरीकन स्वीकार गर्ने गरेको देखिन्छ ।

फिल्म मेकिङ पढ्नेचाहिं धेरै पहिलेदेखिको चाहना हो । सम्भव भइरहेको थिएन । अबचाहिं १-२ वर्षको कोर्स पढ्न मन छ । खासगरी सम्पादन र मेकिङमा

यत्रो वर्षको अनुभवमा हाम्रो समाजका पुरुषहरू बारेचाहिं तपाईंको बुझाइ के छ ?

हाम्रो समाजमा दुई किसिमका पुरुषहरू छन् । एउटा महिलाहरूले उन्नति, प्रगति गर्नुपर्छ भनेर साँच्चिकै मान्ने । त्यसमा सकेको सहयोग पनि गर्ने । महिलाहरू पछाडि परेका छन्, उनीहरूलाई अगाडि ल्याउनुपर्छ भनेर सोच्ने पुरुषहरू छन् । दोस्रोचाहिं ‘तिमी महिला भएका कारण यतिभन्दा अघि बढ्न सक्दिनौ है’ भनेर पारिदिइरहने खालका छन् । म पुरुष भएको भए यो कुरा हुनेथिएन भनेर हामी महिलाले बुझिहाल्छौं । महिलालाई ‘तिमी जति नरम, हस्, हजुर भन्ने हुन्छ्यौ त्यति सफल हुन्छ्यौ’ भनेर सिकाइएको हुन्छ ।

महिला भनेकै ‘प्लिजिङ’ हुनुपर्छ भनेर सिकाइयो, हामी पनि त्यही माइन्डसेटबाट हुर्किएका हौं । हामीलाई पनि एकदमै मिठो बोल्नुपर्छ, नत्र काम पाइँदैन जस्तो हुन्छ । खासमा चाहिं हामीसँगै मिलेर यस्तो समाज बनाउनुपर्छ जहाँ महिलाहरूलाई तिम्रो क्षमता र प्रतिभाले काम पाउने हो, ‘प्लिजिङ’ भइराख्नु पर्दैन, तिम्रो जस्तो स्वभाव छ त्यस्तै बन भनेर सिकाइयोस् । ‘प्लिजिङ’ हुनु महिलाको ‘स्किल’ होइन । किनभने, एकदमै अराजक, जे मनमा लाग्यो त्यही भनिहाल्ने स्वभावको पुरुषलाई त यो समाजले ‘कस्तो स्पष्ट वक्ता’ भनेर स्वीकार गर्छ ! महिलाको पनि त सबैखाले स्वभाव हुन्छ नि ! त्यसलाई पनि बुझ्ने समाज आवश्यक छ ।

पारिश्रमिकमा कत्तिको ठूलो अन्तर छ ?

आकाश–जमिनको फरक छ । मेरा अन्तिम दुई फिल्मको नै कुरा गरौं– ‘परदेशी–२’ र ‘प्रसाद–२’ । ‘परदेशी’को हिरो प्रकाश सपूतजीको यो पहिलो फिल्म थियो । म १५ वर्षदेखि छु । तर, उहाँको पारिश्रमिक कि त मेरो बराबर थियो, कम त पक्कै थिएन । ‘प्रसाद–२’ मा त विपिन कार्की र मेरो पारिश्रमिकमा आकाश–जमिनको फरक थियो । जबकि सुटिङ हामीले बराबर दिन गरेको हो । भूमिका पनि उत्तिकै लामो हो । प्रोमोसनमा पनि मैले नै धेरै समय दिएको हो । हामी सँगै जस्तो करिअर सुरु गरेका व्यक्ति हौं । तर पनि आकाश–जमिन नै फरक थियो ।

यसको कारण के हो त ?

प्रमुख त पितृसत्तात्मक सोच नै हो । हाम्रोमा पहिलेदेखि नै कस्तो धारणा रहेछ भने महिलाको यो रहर हो, पुरुषको चाहिं काम हो । उसले परिवार चलाउनुपर्छ भने जसरी सुरु भएको ट्रेन्ड नै जारी रहे जस्तो लाग्छ । पुरुष कलाकारहरूले एउटा फिल्मको ५० लाख लिएको समाचार सुन्छौं हामी । ३५ लाख त हामीलाई थाहा भएकै धेरै जनाले लिनुहुन्छ । त्यहीं महिला कलाकारले बराबर भूमिका र योगदान हुँदा १० पनि पाइरहेको हुँदैन ।

कसले कति दर्शक तान्न सक्यो भन्ने कुराको लेखाजोखा कसरी गर्ने हो भन्ने त मलाई थाहा छैन । बरु, महिला पुरुष दुवैले अहिलेको बजार अनुसार त्यो पैसा डिजर्भ गर्छन् कि गर्दैनन् भन्नेमा बहसचाहिं हुनसक्ला । यो अन्तरचाहिं सारै नै बढी छ । यसले एउटा विन्दुमा पुगेर कलाकारको अपमान नै हुन जान्छ, चित्त दुख्ने कुरा हुन्छ ।

यो अन्तरलाई कम गर्ने उपाय के होला त ?

हरेक मेकरले यो कुरा बुझ्नुपर्‍यो । उस्तै मिहिनेत गरिरहेको कलाकारको अपमान हुन्छ कि भनेर पनि सोच्नुपर्‍यो । यसलाई कम गर्ने अर्को उपाय भनेको चाहिं महिलाहरू नै फिल्म मेकिङमा बढी आउने । पहिलेदेखि नै महिला निर्माता/निर्देशकहरू एकदमै थोरै भएकाले पनि यो पुरुषको मात्रै वर्चस्वको उद्योग जस्तो बन्दै गएको पनि होला । महिला-पुरुष भन्दा पनि फिल्ममा कसले कति दिन काम गरेको छ ? कसले कति वर्षको अनुभव लिएर आएको छ ? प्रचारमा कति समय दिएको छ ? भनेर हेरियो भने यो अन्तर आफैं कम हुन्छ । यो फेरि हाम्रो देशको मात्रै समस्या होइन । संसारका धेरै देश र फिल्म उद्योगमा यो अन्तर ठूलो मुद्दा हो ।

अब यसपछि कस्तो खाले रोल गर्ने इच्छा छ ?

मलाई टाइपकास्ट हुन मन लाग्दैन । एउटा नारीप्रधान चलचित्रका रूपमा धेरैपछि ‘बोक्सीको घर’ आइकोनिक बनेको छ, जसले यति राम्रो ओपनिङ समेत पायो । तर, मलाई फेरि यस्तै मात्रै चरित्र गरिरहुँ भन्ने छैन । म सबैखाले भूमिका गरिरहन्छु । र, सबैमा मुख्य भूमिका नै गर्नुपर्छ भन्ने पनि छैन ।

निर्माणपछि अब निर्देशक बन्ने योजना पनि छ कि ?

फिल्म मेकिङ पढ्नेचाहिं धेरै पहिलेदेखिको चाहना हो । सम्भव भइरहेको थिएन । अबचाहिं १-२ वर्षको कोर्स पढ्न मन छ । खासगरी सम्पादन र मेकिङमा । मलाई निर्देशनभन्दा पनि मेरो व्यवस्थापन क्षमता अलि राम्रो छ कि जस्तो लाग्छ । त्यो पनि फिल्डमा आवश्यक पर्ने कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?