News Summary
Generated by OK AI. Editorially reviewed.- निर्मात्री तथा अभिनेत्री केकी अधिकारीले नयाँवर्ष २०८३ को अवसरमा आगामी फिल्म ‘स्टेसन’ निर्माणको घोषणा गरेकी छन्।
- ‘स्टेसन’ फिल्म १९ भदौदेखि देशब्यापी प्रदर्शनमा आउनेछ र छायांकन ७ बैशाखदेखि काठमाडौं, भक्तपुर, ललितपुरमा हुने छ।
- फिल्म ‘स्टेसन’को निर्देशन सुलक्षण भारतीले गर्नेछन् र कथावस्तु समाजले भोगेको, नउठाइएको, इग्नोर गरिएको कुरा समेटिनेछ।
काठमाडौं । निर्मात्री तथा अभिनेत्री केकी अधिकारीले नयाँवर्ष २०८३ को अवसरमा आगामी फिल्म ‘स्टेसन’ निर्माणको घोषणा गरेकी छन् । सामाजिक सञ्जालमा उनले फिल्मको टाइटलसहित प्रदर्शन मिति समेत सार्वजनिक गरेकी छन् ।
उनका अनुसार, यो सोसल-थ्रीलर जनराको फिल्म १९ भदौ (४ सेप्टेम्बर) देखि देशब्यापी प्रदर्शनमा आउनेछ । यो फिल्मलाई मध्य बैशाखदेखि छायांकन गर्ने तयारी छ ।
केकीले सार्वजनिक गरेको फिल्मको टाइटल लोगोको स्टाइल र मनोविज्ञान उनको अघिल्लो हिट ‘बोक्सीको घर’सँग निकट रहेको बुझ्न सकिन्छ । उनले नयाँ फिल्मको टार्गेट अडिएन्स ‘बोक्सीको घर’का दर्शक पनि भएकाले त्यो मिल्दोजुल्दो रहेको हुनसक्ने बताइन् ।
डेढदेखि दुई करोड बजेट तय गरिएको ‘स्टेसन’ को छायांकन काठमाडौं, भक्तपुर, ललितपुर लगायतका थलोमा हुनेछ । ७ बैशाखमा शुभसाइत पूजा गर्दै विस्तृत घोषणा गर्ने केकीको तयारी छ ।
यो फिल्ममा हामीले केकीलाई निर्मात्रीको रुपमा मात्र देख्न पाउँछौ वा अभिनेत्रीको रोलमा पनि ? यो कुरा अहिलेलाई गोप्य राखिएको छ । ‘हामी चाँडै कास्टिङ लाइनअप घोषणाको तयारीमा छौं’ उनले भनिन् ।
यसअघि केकी अर्को स्क्रिप्ट ‘पेट्रोल पम्प’मा जुट्ने तयारीमा रहेको खबर थियो । तत्काललाई भने उक्त स्क्रिप्ट थाँती राखेर आफू ‘स्टेसन’मा अघि बढेको उनले बताइन् । ‘अहिलेको परिस्थितीलाई हेरेर स्टेसनलाई अघि बढाउने निधो गरेका हौं’ उनले भनिन् ।
‘स्टेसन’को निर्देशक र पटकथा लेखकमा सुलक्षण भारती छन् । सुलक्षणले ‘बोक्सीको घर’लाई पनि निर्देशन गरेका थिए । निर्मातामा बद्री अधिकारीको नाम उल्लेख छ ।
नयाँ फिल्मको कथावस्तुबारे केकी भन्छिन्, ‘हाम्रो समाजले भोगेको, नउठाइएको, इग्नोर गरिएको कुरा यसमा हुनेछ । चलचित्र मार्फत भन्न डराइरहेको कथा हो । यसमा पनि प्राथमिकतामा राखेका छौं ।’
प्रतिक्रिया 4