+
+
नवौं राष्ट्रिय खेलकुद :

एकै दिन पार्की दाजुभाइले जिते स्वर्ण

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ कात्तिक ३ गते ९:२०
शिवराज पार्की र गोपीचन्द्र पार्की । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

३ कात्तिक, पोखरा । गोपीचन्द्र पार्की र शिवराज पार्कीको लागि बिहीबारको दिन विशेष बन्यो । गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा यी दाजुभाइले एकै दिन स्वर्ण पदक जिते ।

विभागीय टोली एपीएफका गोपीचन्द्रले ५ हजार मिटर दौडमा पहिलो इभेन्टमै स्वर्ण जिते । त्यसको केहीबेरपछि भाइ शिवराज पार्कीले २०० मिटर दौडमा स्वर्ण जिते ।

३३ वर्षीय गोपीको नवौंमा पहिलो स्वर्ण थियो । उनका लागि त्यसै पनि विशेष भयो । ३० वर्षीय शिवराजले भने नवौं राष्ट्रियमा सनसनी मच्चाउँदै भाग लिएका तीनवटै इभेन्टमा स्वर्ण पदक जितेका छन् ।

५०० हजार मिटरमा गोपीले निर्धारित दूरी १४ मिनेट २९.६७ सेकेण्डमा स्वर्ण जिते । उनले कीर्तिमान बनाउन नसके पनि आफ्नो बेस्ट टाइमिङ निकाले । यसअघि आठौंमा १४ राखेको १४ मिनेट ४३ सेकेण्डको व्यक्तिगत टाइमिङ उनले सुधार गरेका छन् ।

गोपीको ह्याट्रिक

नवौंमा १० हजार मिटर दौडमा गोपीचन्द्र दोस्रो भएका थिए । १० हजारमा स्वर्ण जित्ने लक्ष्य पूरा गर्न नसके पनि आफ्नो फेभरेट विधा ५ हजारमा भने गोपीले स्वर्ण जिते । साथै राष्ट्रिय खेलमा ५ हजार मिटर दौडमा गोपीले स्वर्णमा ह्याट्रिक गरे । उनले सातौं र आठौंमा पनि ५ हजारमा स्वर्ण जितेका थिए ।

गोपीचन्द्र पार्की

‘नवौंमा पहिलो स्वर्ण हो । बृहत राष्ट्रिय खेलकुदमा जित्ने चाहना सबैलाई हुन्छ । १० हजारमा जित्न सकिनँ । ५ हजारमा ह्याट्रिक स्वर्ण जितें, खुशी छु,’ कर्णालीका दुर्गा बहादुर बुढासँगको प्रतिस्पर्धामा बाजीमा मारेका गोपीले भने । गोपीले १४ मिनेट २९.६७ सेकेण्ड टाइमिङ निकाल्दा दुर्गाले १४ मिनेट २९.९३ सेकेण्डको टाइमिङ निकालेका थिए ।

उनले हरेक खेलाडीले रणनीति सहित मैदान उत्रने र आफू पनि त्यही अनुसार नै दौडेको बताए ।

एपीएफकी प्रशिक्षक प्रमिला रिजालले गोपीचन्द्र पार्कीको स्वर्णमा निकै खुशी मनाइन् । ‘गोपीले स्वर्ण जितोस् भनेर प्रार्थना गरिरहेकी थिएँ । एकदमै खुशी भएँ,’ राष्ट्रिय खेलकुदमा पहिलो पटक एपीएफको प्रशिक्षण गरेकी रिजालले भनिन् ।

टोकियो ओलम्पिकमा सहभागी हुनबाट अन्तिम समयमा बन्चित भएका गोपीले आफ्नो लक्ष्य ओलम्पिक नै रहेको र त्यसमा डिजर्भ गर्छु भन्ने लागेको बताए ।

मेरोभन्दा दाइको स्वर्णबाट खुशी छु : शिवराज

शिवराज पार्की

आफूले स्वर्ण जित्न अन्तिम दिन पर्खनु परे पनि भाइ शिवराजले लगातार स्वर्ण जित्दा ट्रयाकमा गोपीचन्द्र पार्कीले खुशी मनाइरहेका हुन्थे । अन्तिम दिन दाइले पहिला स्वर्ण जिते । खुशी मनाउने पालो भाइको थियो ।

दाइले स्वर्ण जितेपछि आफूले पनि स्वर्ण जित्दा शिवराज निकै खुशी देखिए । ‘दाजुभाइले एकै दिन स्वर्ण जित्दा धेरै खुशी छु । मैले जिते भन्दा पनि दाइको जित ठूलो हो । दाइले जित्दा धेरै खुशी छु,’ शिवराजले भने ।

१०० मिटर दौडमा स्वर्ण जितेपछि २०० मिटरमा पनि शिवराज नै दाबेदार थिए । तर सुरुमा उनलाई आफ्नै क्लबका आशिष चौधरीले पछि पारेका थिए । अन्तिममा शिवराजले डाइभ हान्दै स्वर्ण जिते । ‘२०० सय मिटरमा खासै राम्रोसँग तयारी गर्न पाएको थिएन । हामी सँगै दौडिरहेका थियौं । अन्तिममा गएर मैले डायभ मारें,’ शिवराजले भने, ‘आशिष पहिलाको च्याम्पियन हो । ऊप्रति सम्मान छ ।’

आठौं राष्ट्रियमा १०० र २०० मिटर दुवैमा स्वर्ण जितेका आशिषको यस पटक भने स्वर्ण जित्ने लक्ष्य पूरा हुन सकेन । दुवै विधामा शिवराजले नै स्वर्ण जिते ।

शिवराजले अबको लक्ष्य स्प्रिन्टमा कीर्तिमान बनाउने रहेको बताए । ‘स्प्रिन्टमा कीर्तिमान बनाउने लक्ष्य छ । यस खेलमा इतिहास बनाउन चाहन्छु,’ उनले भने ।

दाजुभाइले नै स्वर्ण जित्दा गोपी पनि खुशी छन् । सुरुकै दिन दुई जनाले स्वर्ण जित्ने लक्ष्य राखे पनि आफूले जित्न नसकेको उनले बताए । ‘दुई जनाले नै स्वर्ण जित्नु धेरै खुशीको कुरा हो । यसअघि नै सँगै जित्ने लक्ष्य थियो । तर भाइले जित्दा म भने असफल भएको थिएँ । आज जित्दा खुशी छु,’ उनले भने ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?