+
एनपीएल २०२६ :

पोखरा एभेन्जर्सको ‘सेन्चुरी क्लब’, चारमध्ये तीन शतक पोखराकै खेलाडीको नाममा

२०८३ कात्तिक  २३ गते २२:४९ २०८३ कात्तिक २३ गते २२:४९

एनपीएलको तेस्रो संस्करण चलिरहँदा हरेक सिजन शतक हान्ने खेलाडी पोखरा एभेन्जर्सकै छन् । एनपीएल इतिहासमा प्रहार भएका चार शतकमध्ये तीन शतक पोखरा एभेन्जर्सका खेलाडीले बनाएका छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगको तेस्रो सिजनमा पोखरा एभेन्जर्सका क्यानडेली ओपनर युवराज सिंह सम्राले शतक बनाएर टोलीलाई पहिलो जित दिलाए ।
  • सम्राको शतकसँगै पोखरा यस सिजन २०० रन कटाउने पहिलो टोली बन्यो र २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनायो ।
  • एनपीएल इतिहासमा बनेका चार शतकमध्ये तीन पोखरा एभेन्जर्सका खेलाडीले बनाएका छन्, र तीनवटै शतकमा टोलीले जित हात पारेको छ ।

२३ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शतक जब प्रहार गर्ने खेलाडीको नाम आउँछ त्यसमा सबैभन्दा अगाडि आउने टिम पोखरा एभेन्जर्स हो ।

एनपीएलमा पोखरा एभेन्जर्सले एउटा विशेष कीर्तिमान बनाएको छ । एनपीएलको तेस्रो संस्करण चलिरहँदा हरेक सिजन शतक हान्ने खेलाडी पोखरा एभेन्जर्सकै छन् । एनपीएल इतिहासमा प्रहार भएका चार शतकमध्ये तीन शतक पोखरा एभेन्जर्सका खेलाडीले बनाएका छन् ।

अहिले भइरहेको एनपीएलको तेस्रो सिजनमा पोखराले सुरुवाती चार खेलमा लगातार हार बेहोरेको थियो । तर सोमबार कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सका क्यानडेली ओपनर युवराज सिंह सम्राले शतक प्रहार गर्दै पोखरालाई यस सिजनको पहिलो जित दिलाउन मद्दत गरे । साथै उनी एनपीएलको सेन्चुरी क्लब समावेश हुने पोखरा एभेन्जर्सको तेस्रो र समग्रमा चौथो खेलाडी बने ।

एनपीएलको तेस्रो सिजनमा पहिलो शतक प्रहार गर्ने क्रममा सम्राले ४५ बलमा शतक पूरा गरे । उनले ४८ बलमा १० चौका र ६ छक्कासहित १०२ रन बनाए ।

उनको आक्रामक ब्याटिङ मद्दतमा पोखराले २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनाएको थियो । यस सिजन २०० रन कटाउने पनि पोखरा पहिलो टोली बन्यो । यस्तै एनपीएल इतिहासमा दुई पटक २०० रनको स्कोर पूरा गर्ने पनि पोखरा पहिलो र एक मात्र टिम हो ।

अहिलेसम्म तीन पटक एकै इनिङ्समा २०० रन बनेको छ । सर्वाधिक योगफलको कीर्तिमान भने विराटनगर किंग्सको नाममा छ । विराटनगरले दोस्रो सिजनमा पोखरा विरुद्ध नै २२० रन बनाएको थियो ।

पोखराले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली १५४ रनमा अलआउट भयो र  पोखराले ६३ रनको जित हात पार्‍यो । यो जारी सिजनमा पोखराको पहिलो जित समेत हो ।

यो जितले पोखराको प्लेअफ पुग्ने झिनो सम्भावना बाँकी रहँदा कर्णालीको प्लेअफ यात्रामा भने केही धक्का लागेको छ ।

एनपीएलका चार शतकमध्ये तीन पोखराका

एनपीएल इतिहासमा अहिलेसम्म चार शतक बनेका छन् । त्यसमा हरेक संस्करणमा पोखराका खेलाडीले शतक प्रहार गरेका छन् । एनपीएलकै पहिलो शतक पोखरा एभेन्जर्सकै आन्द्रेस गौसले बनाएका थिए । उनले सन् २०२४ मा पहिलो संस्करणमा लुम्बिनी लायन्सविरुद्ध अविजित १०४ रन बनाएका थिए ।

दोस्रो सिजनमा पनि पोखराकै  इंग्लिस खेलाडी एडम रोसिङ्टनले शतक प्रहार गरे । रोसिङ्टनले पनि कर्णाली याक्सविरुद्ध नै शतक प्रहार गरेका गरेका थिए । उनले ५५ बलमा शतक प्रहार गरेका थिए  भने ५८ बलमा अविजित १०८ रन बनाएका थिए ।

दोस्रो सिजनमै कर्णाली याक्सका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध ४४ बलमा अविजित ११४ रन बनाएका थिए । वाटले ४१ बलमै शतक प्रहार गर्दै एनपीएल इतिहासकै सबैभन्दा छिटो शतकको कीर्तिमान समेत बनाएका थिए ।

एनपीएलको तेस्रो सिजनमा पोखरा एभेन्जर्सका युवराज सम्राले पहिलो शतक प्रहार गरे । समग्रमा एनपीएलमा शतक बनाउने खेलाडीको संख्या चार पुगेको छ । तीमध्ये तीन जना पोखराका खेलाडी हुन् ।

कर्णालीविरुद्ध शतक प्रहार गरेका रोसिङटन

पोखराको रोचक संयोग

पोखराका खेलाडीले शतक बनाएका तीनवटै खेलमा टोलीले जित हात पारेको छ । गौसको शतकमा पोखराले लुम्बिनीलाई १० विकेटले पराजित गरेको थियो । त्यसबेला गौस र दिनेश खरेलले पहिलो विकेटका लागि कीर्तिमानी १७६ रनको साझेदारी गरेका थिए ।

यस्तै दोस्रो सिजन रोसिङ्टनको शतकमा पोखराले कर्णालीलाई पराजित गरेको थियो भने तेस्रो सिजन पनि सम्राले शतक प्रहार गर्दा पोखराले कर्णालीलाई ६३ रनले पराजित गरेको छ ।

एनपीएलको यसअघि दुई संस्करणमा पोखरा एभेन्जर्स प्लेअफ पुग्न नसकेको पनि शतक र ब्याटिङमा भने दबदबा रहेको थियो । यस पटक पनि सुरुवाती चार खेलमा लगातार पराजित हुँदा पोखराको प्लेअफ होड कमजोर बनिसकेको छ ।

तर पाँचौं खेलमा सम्राको शतक अनि कुशल भुर्तेलको पनि अर्धशतकमा पोखराले यस सिजनकै सर्वाधिक योगफल बनाउँदै कर्णाली विरुद्ध जित हात पार्दा विभिन्न रोचक संयोग पनि बनेको छ ।

एनपीएलमा व्यक्तिगत रुपमा शतकको कीर्तिमान देखि ठूलो स्कोर बनाउने टिमको नाममा पोखराकै नाम अघि आउनेछ ।

चार शतक, तीन पोखराका खेलाडी र तीनवटै खेलमा जित । एनपीएलको सेन्चुरी क्लबमा पोखरा एभेन्जर्सको यो दबदबा आफैंमा रोचक तथ्य बनेको छ ।

एनपीएल एनपीएल २०२६ पोखरा एभेन्जर्स
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय