+
+

अपूर्वलाई पुनः पक्राउ गरेर सरकारले ज्यादती गरेको भन्दै विरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १२:२०

काठमाडौं । स्ट्यान्डअप कमेडियन अपूर्व क्षितिज सिंह पुनः पक्राउ परेपछि यसको चौतर्फी विरोध सुरु भएको छ ।

सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा बुधबार चार अलग-अलग मुद्दा दायर गरेपछि दलका नेताहरुसमेत यसविरुद्ध बोल्न थालेका छन् ।

राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले हास्य कलाकार सिंहमाथि ज्यादती भएको बताउँदै यसलाई समाजमा सद्भाव कमजोर भएको घटनाको रुपमा उल्लेख गरेका छन् ।

उनी लेख्छन्, ‘जातीय भावना÷सद्भाव कसरी कमजोर हुँदैछ भन्ने कुराको ज्वलन्त उदाहरण हो, ‘स्ट्यान्डअप कमेडियन’ अपूर्व क्षितिजको घटना ।

जातीय विद्वेष फैल्याउने, सद्भाव विखण्डित पार्नेहरू आज छाती फुलाएर, नेता भएर हिंडेका छन् । अपूर्व क्षितिजले माफी मागिसके । युट्युबबाट कमेडी हटाइसके । तैपनि उनीमाथि यो ज्यादती ! अति नगरौं । समाज यसरी बिग्रियो भने त्यसको रापमा हामी/हाम्रै सन्तान खरानी हुनेछन्, अन्य कैयौं देशमा जस्तै ।’

फिल्म समीक्षक तथा लेखक यज्ञशले पनि सिंहलाई पुनः पक्राउ गरिएकोप्रति आपत्ति जनाउँदै सरकारले बहादुरी देखाएको भन्दै व्यंग्य गरेका छन् ।

उनी लेख्छन्, ‘कमेडियन क्षितिजलाई गल्ती स्वीकार गरेर, माफी मागेर भिडियो डिलिट गरिसकेको र एकफेर हिरासत बसिसकेको ’अपराध’मा फेरि पक्राउ गरेर यो सरकारले ठूलो बहादुरी देखाएछ । लोकतन्त्रमा कलाकारको यत्तिको सम्मान कसले गर्न सक्थ्यो र ? देउवा–दाहाल सरकारको यो विश्वस्तरीय कामका लागि यिनलाई कसरी सम्मान फिर्ता गर्ने ?’

सरकारी वकिल कार्यालयले बुधबार दायर गरिएको अभियोगपत्रमा जातीय भेदभाव गरेको, अपमानजनक वा अमानवीय व्यवहार गरिएको, सामाजिक रीतिथितिमा खलल पुर्‍याएको र सार्वजनिक शान्तिमा खलल पु¥याएको समेत आरोप लगाइएको छ ।

अभद्र व्यवहार गरेको अभियोगमा उनीविरुद्ध अर्को छुट्टै मुद्दा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गर्ने तयारी भइरहेको समेत जनाइएको छ ।

युट्युबमा अपलोड गरेको भिडियो हटाएर माफी मागेको भिडियो अपलोड गरेका सिंह आफू प्रहरी कार्यालय पुगेको बेला पक्राउ परेका हुन् । गत भदौ १२ गते पक्राउ परेका उनी कोरोना संक्रमण भएपछि भदौ २२ गते हाजिरी जमानीमा छुटेका थिए ।

सोमबार हाजिर हुन जाँदा उनलाई पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?