+
+

स्मार्ट पार्किङ, आकाशे पुल र सोलार बत्तीको सम्झौता अध्ययन गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते २१:२१

३ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न करारहरुबाट हुने आयसम्बन्धी सम्झौताबारे अध्ययन गर्ने भएको छ । उपप्रमुख एवम् समितिकी संयोजक सुनिता डंगोलको संयोजकत्वमा बसेको महानगरको राजस्व परामर्श समितिको बैठकले स्मार्ट पार्किङ्, आकाशे पुल, सोलार पोल, सहरी सेवा केन्द्र लगायतका सम्झौताको अध्ययन गर्ने निर्णय गरेको हो ।

उपप्रमुख डंगोलले आकाशे पुल पैदल यात्रीमैत्री नभएको उल्लेख गर्दै सेवा सञ्चालनका लागि गरिएका सम्झौताको शर्त, बन्देज तथा दायित्वका पुनरावलोकन गर्नुपर्ने बताइन् । यसबाट देखिएको अवस्थाअनुसार थप निर्णय हुनुपर्ने उनको भनाइ थियो ।

‘सम्झौता र यसको पालनाका विषयमा अध्ययन विश्लेषण गरौं, त्यसबाट पूरा भएका दायित्व र पूरा नभएका कामका विषयमा प्रतिवेदन बनाऔं,’ उनले भनिन्,’यसबाट अगाडि कसरी बढ्ने पूर्व तयारी र वैकल्पिक व्यवस्था योजना बनाउन सकिन्छ ।’

बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, सम्झौताबमोजिम पूरा गर्नुपर्ने दायित्व पूरा नभएको भए तत्काल पत्राचार गर्नुपर्ने बताए । ‘सम्झौताबमोजिम गर्नुपर्ने तर, नगरिएका काममाथि निगरानी गर्न सम्झौता नै आधार हो । यहाँबाट काम थाल्नुपर्छ,’ उनले भने ।

बैठकमा समितिका सदस्य सचिव एवम् राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले गएको आर्थिक बर्षको पहिलो ३ महिनाको तुलनामा यस वर्षको पहिलो ३ महिनामा ८४.४३ प्रतिशत आय वृद्धि भएको जानकारी गराए ।

गएको बर्षको यस अवधिमा १ अर्ब २८ करोड ७१ लाख ३२ हजार ६७७ रुपैयाँमा आय संकलन भएकोमा यस बर्ष २ अर्व ३७ करोड २५ लाख १८ हजार २७६ रुपैयाँ आम्दानी भएको उनले बताए । यस अवधिमा करदाता पनि थपिएका छन् । व्यवसाय दर्ता गर्नका लागि १ महिने समय दिएर सार्वजनिक सूचना प्रकाशित गरिएको र दर्ता प्रक्रियामा नआएका क्यासिनोलगायतका व्यवसायलाई पत्राचारमार्फत सम्पर्क र करको दायरामा ल्याइएको जानकारी दिए ।

आवश्यक अनुगमन गरेर सम्झौताको पुनरावलोकन तथा अध्ययन राजस्व विभाग र सार्वजनिक निजी साझेदारी एकाईबाट संयुक्त रुपमा हुनुपर्ने निचोड बैठकले निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?