+
+

दार्चुलामा मन्त्री र पूर्वमन्त्रीबीच रोचक प्रतिस्पर्धा

यसपटक दार्चुलामा बहालवाला मन्त्री र पूर्वमन्त्रीबीच प्रतिस्पर्धा रहेकाले चासोका साथ हेरिएको छ । नेताहरुले यो चुनावलाई प्रतिष्ठाकै विषय बनाएको देखिन्छ । प्रचार अभियान उद्घाटन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुला नै रोजेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते २१:४०

१७ कात्तिक, दार्चुला । आगामी चुनावको प्रचार अभियान दार्चुलाबाट सुुरू गरेर नेकपा एमालेले अलग राजनीतिक सन्देश दिन खोजेको छ । किनकी यसअघि दलहरुले कुनै अभियान उद्घाटन देशका मुख्य शहर अथवा पूर्वी नेपालबाट सुरु गर्ने प्रचलन थियो ।

तर एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दार्चुला सदरमुकामबाट प्रचार अभियानको उद्घाटन गर्दैछन् । परम्परा बदलेर एमालेले दिन चाहेको राजनीतिक सन्देश अलग पाटो भयो । तर दार्चुलामा यो चुनाव रोचक हुने पृष्ठभूमि भने तयार भइसकेको छ ।

मुख्य प्रतिस्पर्धी उम्मेदवारका पृष्ठभूमि, राजनीतिक समीकरण र स्थानीय चुनावको नतिजाका कारणले दार्चुलाको चुनावलाई चासोका साथ हेरिएको हो । मुख्य प्रतिस्पर्धी शक्ति सत्तारुढ र विपक्षी गठबन्धनका नेताहरुको अभिव्यक्ति, गतिविधि र दावीले पनि चुनावलाई थप रोचक बनाएको छ ।

परिचित प्रतिस्पर्धी, प्रतिष्ठाको लडाइँ

सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले जीवनकै अन्तिम चुनाव भन्दै मत मागिरहेका छन् । लामो समयदेखि कांग्रेस केन्द्रीय नेतृत्वमा रहेका बडूलाई सत्ता गठबन्धनका दलहरुको समर्थन छ । यद्यपि जीवनकै अन्तिम चुनाव भनी प्रचार गर्नुले उनी जसरी पनि जित्ने दाउमा रहेको बुझ्न गाह्रो पर्दैन ।

बडू यसपटकको निर्वाचनमा ठगुन्नाविरुद्ध पहिलो जित निकाल्ने योजनामा छन् ।बडूसँग प्रतिस्पर्धा र जित निकालेरै राष्ट्रिय राजनीतिमा चिनिएका ठगुन्नाले पनि आफूलाई कमजोर ठानेका छैनन् ।

२०४८ देखि दार्चुलाबाट चुनाव लड्दै आएका बडूको यो छैटौं प्रतिस्पर्धा हो । यसअघि उनले दुईपटक जितेका छन् भने तीन पटक पराजित भएका छन् । २०४८ र २०५६ को चुनाव जितेका बडूले बाँकी चुनावमा पराजय ब्यहोरे । ६८ वर्ष पुगेका बडू २०५१ मा एमालेका प्रेमसिंह धामी, २०६४ मा माओवादीका लक्ष्मणदत्त जोशी र २०७० मा एमालेका गणेशसिंह ठगुन्नासँग पराजित भए । २०७४ मा भने प्रत्यक्ष चुनाव नलडी समानुपातिक पद्धतिबाट सांसद भए ।

यसपटक पनि एमालेका ठगुन्नासँगै उनी प्रतिस्पर्धामा छन् । ठगुन्नासँग बडूको यो तेस्रो प्रतिस्पर्धा हो । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका लक्ष्मणदत्त जोशीले जित्दा बडूले भन्दा धेरै मत ठगुन्नाले पाएका थिए । त्यसैले बडू यसपटकको निर्वाचनमा ठगुन्नाविरुद्ध पहिलो जित निकाल्ने योजनासहित मैदानमा छन् ।

कांग्रेसका बडूसँग प्रतिस्पर्धा र जित निकालेरै राष्ट्रिय राजनीतिमा चिनिएका एमाले नेता ठगुन्नाले पनि आफूलाई कमजोर ठानेका छैनन् । आफू जिल्लामा भिजेको र तल्लो तहबाटै काम गरेर आएकाले जनताको साथ पाउने ठगुन्ना दावी गर्छन् ।

२०४६ सालमा तत्कालीन मालेको जिल्ला सदस्य हुँदै चार पटक एमाले जिल्ला अध्यक्ष रहेका ठगुन्ना २०५४ को स्थानीय चुनावबाट जिल्ला विकास समितिका सभापति निर्वाचित भएका थिए ।

२०६४ पछि उनी लगातार संसदीय चुनाव लड्दै आएका छन् । ‘जनताको समस्या बुझेको छु, त्यसलाई समाधान गर्न जनतासँगै उभिएको छु’ ठगुन्ना भन्छन् । २०७० र २०७४ को चुनाव जितेका ठगुन्ना केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री भए ।

अर्थात्, यसपटक दार्चुलामा बहालवाला मन्त्री र पूर्वमन्त्रीबीच प्रतिस्पर्धा रहेकाले चासोका साथ हेरिएको छ । नेताहरुले यो चुनावलाई प्रतिष्ठाकै विषय बनाएको देखिन्छ । प्रचार अभियान उद्घाटन गर्न एमाले अध्यक्ष ओलीले दार्चुला नै रोज्नुले यहाँको प्रतिस्पर्धालाई दिइएको महत्वबारे अनमान लगाउन सकिन्छ ।

बडूसँग त मन्त्रीको हैसियत र सत्ता गठबन्धनका दलहरुकै साथ छ । २०६४ यता लगातार चुनाव जित्दै आएका कम्युनिष्ट नेताहरु नै जिताउन हिँड्दा पनि नजिते जान सक्ने सन्देशबाट बडू र कांग्रेस नेताहरु सचेत देखिन्छन् ।

कम्युनिष्टहरुको समेत उम्मेदवार बन्नुलाई मन्त्री बडू विशिष्ट परिस्थितिको उपज ठान्छन् । ‘केपी ओलीलाई ०७४ मा जनताले झण्डै दुई तिहाइ मत दिएकै हो । तर जनमत जोगाउन सकेनन्’ बडू भन्छन्, ‘संविधान र व्यवस्थामाथि प्रहार भयो । संविधान रक्षाका लागि गठबन्धन बनेकाले रुख र हसिया सँगै बोकेर हिँडेका हौ ।’

तर स्थानीय चुनावको नतिजा नियाल्दा भने बडू ढुक्क हुने अवस्था देखिन्न । दार्चुलाका स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतमा सत्तारुढ गठबन्धन र एमाले हाराहारीको शक्ति भएपनि कांग्रेसले एउटै पनि पालिका जित्न सकेन । नौ स्थानीय तहमध्ये एमालेले पाँच र माओवादी केन्द्रले चार पालिका जितेको छ ।

एमालेले शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका, दुहँु गाउँपालिका र व्याँस गाउँपालिका प्रमुख जितेको छ । माओवादी केन्द्रले अपीहिमाल गाउँपालिका, लेकम गाउँपालिका, नौगाड गाउँपालिका र मार्मा गाउँपालिका प्रमुख जितेको छ ।

वडाध्यक्षका उम्मेदवारहरुले ल्याएको मत जोडदा एमालेसँग २९ हजार ३९७ हुन्छ । कांग्रेसले २१ हजार ५५४ र माओवादी केन्द्रले ७ हजार ८८१ मत ल्याएको छ । स्थानीय तह निर्वाचनमा कांग्रेस र एकीकृत समाजवादीसँग गठबन्धन गर्नुको लाभ माओवादी केन्द्रलाई मिलेको थियो । कांग्रेस भन्दा दुई गुणा कम मत ल्याएर पनि माओवादी केन्द्रले चार पालिका प्रमुख जित्यो । यसर्थ आगामी चुनावमा गठबन्धनको मत पाउनु मन्त्री बडुको चुनौती हो ।

तर २०६४ सालदेखि कम्युनिष्ट उम्मेदवारलाई जिताउँदा दार्चुला पछाडि परेको अनुभूति जनताले राम्रैसँग गरेको मन्त्री बडू तर्क गर्छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, सञ्चार क्षेत्रको विकासका लागि आफूलाई मत दिए पाँच वर्ष अहोरात्र खटिने उनी बताउँछन् ।

नभएको परिवर्तन

यो चुनावको रोचक पक्षकै कुरा गर्दा बडू र ठगुन्ना एउटै वडाका हुन् । महाकाली नगरपालिका–५ का बडू र ठगुन्नाले मतदान पनि एउटै केन्द्रबाट गर्छन् । दुवैले नाम्पा संरक्षण क्षेत्रबाट मतदान गर्छन् । यसको अर्थ उनीहरुले हेर्नुपर्ने जनता एकै हुन् ।

तर लगातार प्रतिस्पर्धामा उत्रिरहेका बडू र ठगुन्नाको दावी जस्तो काम दार्चुलामा हुन नसकेको स्थानीय वासिन्दा बताउँछन् । ‘व्याँसका नागरिकको लागि त झन् न सडक सुविधा छ, न बाटोघाटो नै’ ब्याँसका स्थानीय योगेश बोहरा भन्छन् । नेताहरुले चुनावको बेला आश्वासनबाहेक केही दिन नसकेको उनी बताउँछन् ।

‘ब्याँसी जनतालाई घरमै आएर भेट्न नसक्ने नेताहरुलाई किन भोट दिने ?’ बोहराको प्रश्न छ । हुन पनि एक दशक अगाडि सुरु भएको सदरमुकाम खलंगादेखि ब्यासको तिंकर हुँदै चीनको ताक्लाकोट जोड्ने सडक पूरा हुन सकेको छैन । यो सडक खण्डालाई अहिले कञ्चनपुरको ब्रह्मदेव, डडेलधुरा बैतडी हुँदै दार्चुलाको तिंकर पुग्ने गरी महाकाली करिडोर नामकरण गरिएको छ ।

हरेक चुनावमा दलहरुको एजेण्डामा पर्ने यो सडकखण्ड निर्माणमा कुनै तत्परता नदेखाइएको स्थानीयको गुनासो छ । दुई दशक अघिबाटै गोकुलेश्वर विमानस्थलमा विमान चल्न छोडेको छ । ब्याँस क्षेत्रका नागरिक अझै तुइनकै सहारामा वारपार गर्न बाध्य छन् ।

प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले तुइनमुक्त बनाउन नेपाल–भारत जोड्ने झोलुङ्गे पुल बनाउने भनेपनि अझै ब्याँस–२ दुम्लिङमा झोलुङ्गे पुल छैन । तर यसपटक पनि उम्मेदवारहरुले फेरि सडक, विद्युत, विमानस्थल, तुइन, खानेपानी जस्ता विकासका पूर्वाधारलाई चुनाव जित्ने एजेण्डा बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?