+
+
प्रधानमन्त्री कप क्रिकेट :

नाटकीय बराबरीपछि मधेश सेमिफाइनलमा, जितविहीन बन्यो वागमती

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते १७:०९

२१ कात्तिक, काठमाडौं । वागमती प्रदेशसँग रोमान्चक बराबरी भएपछि मधेश प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह बी अन्तर्गत आफ्नो तेस्रो खेलमा मधेशले वागमती प्रदेशसँग बराबरी खेल्दै अंक बाँडेको हो । यो बराबरीले मधेशको ३ खेलबाट ५ अंक भएको छ । समूहका चारै खेल खेलिसकेको लुम्बिनी प्रदेश भने समूह चरणबाटै घर फर्किने निश्चित भएको छ । यो समूहबाट नेपाल पुलिस यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।

राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको वागमती प्रदेशका लागि भने प्रधानमन्त्री कपको यो संस्करण बिर्सनलायक रह्यो । समूहका चारै खेलमा जितविहीन भएको वागमतीले १ अंकमात्र जोड्न सक्यो ।

त्रिवि क्रिकेट मैदानमा मधेशले दिएको १९१ रनको लक्ष्य पछ्याएको वागमतीले सुरुवात राम्रो गरेको थियो । तर, मध्यक्रमका ब्याट्सम्यानले जिम्मेबारी पूरा गर्न नसक्दा खेल रोमान्चक मोडमा पुगेको हो ।

अन्तिम तीन ओभर बाँकी हुँदा वागमतीलाई जितका लागि १३ रन आवश्यक थियो । वागमतीसँग २ विकेटमात्र बाँकी थियो । सूर्य तामाङ र रामनरेश गिरी क्रिजमा थिए । ४७औं ओभरको सुरुवाती दुई बलमा सूर्यले छक्का र चौका प्रहार गरेपछि वागमतीलाई जितका लागि तीन रन आवश्यक थियो ।

सोही ओभरको चौथो बलमा मधेशका प्रदीप पासवानले सूर्यलाई २८ रनको स्कोरमा विशाल शुस्लिङको हातबाट क्याचआउट गराए । अन्तिम विकेटका रुपमा रामनरेश र रिजनले थिए । वागमतीले ४९औं ओभरमा २ रन थपेपछि खेल बराबरीको अवस्थामा आयो ।

अन्तिम ओभरमा राजेश यादव बलिङका लागि आए । वागमतीलाई ६ बलमा १ रन चाहिएको थियो । पहिलो बलमा राजेशले रन बनाउन दिएनन् । दोस्रो बलमा रिजनलाई विकेटकिपर अनिल साहको हातबाट क्याचआउट गराएसँगै खेल बराबरी भयो । बराबरीकै नतिजाले पनि मधेशको सेमिफाइनल प्रवेश निश्चित बन्यो ।

त्यसअघि वागमतीका शीर्षक्रमका चार ब्याटरले राम्रो सुरुवात दिएका थिए । रित गौतम र इशान पाण्डेले ६५ रनको ओपनिङ साझेदारी गरेका थिए । रितले ३२ र इशानले ३१ रन बनाए । तेस्रो नम्बरमा आएका पृथु बास्कोटाले सर्बाधिक ४० रन बनाए । विवेक मगरले २५ रन थपे । कप्तान ज्ञानेन्द्र २ रनमै आउट भए । बलिङतर्फ मधेशका लागि प्रदीप पासवान र राजेश यादवले समान ३÷३ विकेट लिए । रुपेश सिंहले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको मधेश प्रदेश ४६.२ ओभरमा सबै विकेट गुमाएर १९० रनको योगफल खडा गरेको थियो । मधेशका लागि रोहन विकले ६३ रनको अर्धशतकीय पारी खेले । उनले ९४ बलमा ६ चौका र २ छक्का प्रहार गरे । सन्तोष कार्कीले २३ र हरिशंकर साहले १३ रन बनाए ।

बलिङतर्फ वागमतीका नन्दन यादव र सूर्य तामाङले ३–३ विकेट लिए । प्रतीश जिसी र रामनरेश गिरीले २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?