+
+

जसपाको दबावमा पर्सामा एमालेले सोध्यो आफ्नै कार्यकर्तालाई स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते १४:५०
जसवन्त यादव र मनोज गुप्ता ।

२२ कात्तिक, वीरगञ्ज । नेकपा एमाले पर्साले पार्टी निर्णय विपरीत लागेको आरोपमा केहि नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

पार्टीका जिल्ला सचिव एवं छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता, सखुवा प्रसौनी गाउँपालिका इञ्चार्ज तथा गाउँपालिका अध्यक्ष जसवन्त यादव र पटेर्वासुगौली गाउँपालिकाका पूर्व अध्यक्ष हरि नारायण चौधरी लगायत नेतालाई स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।

एमाले पर्सा अध्यक्ष जयप्रकाश थारुले पार्टी विरोधी गतिविधि गर्ने जुनसुकै ओहोदाको नेता भए पनि स्पष्टीकरण सोधेर सचेत गराउने निर्णय भएको बताए ।

शनिबार राति जनता समाजवादी पार्टीका उम्मेदवार र एमाले पर्साका केहि नेताको संयुक्त बैठक बसेको थियो । बैठकमा जनता समाजवादी पार्टीका उम्मेदवारहरुले असहयोग गर्ने एमाले नेताहरुको नाम बताएका थिए । जसपाको दबावमा एमालेले आफ्ना कार्यकर्तामाथि स्पष्टीकरण सोध्न लागेको भन्दै कतिपय नेता तथा कार्यकर्ताले आलोचना गरेका छन् । पर्सामा एमाले नेतृत्व असक्षम भएकोले पार्टी भित्र जसपा हावी भएको उनीहरुको आरोप छ ।

एमालेलाई जसपाले चलाउन खोज्नु गलत भएको छिपरमाई गाउँपालिकाका अध्यक्षसमेत रहेका मनोज गुप्ताकोे टिप्पणी छ । ‘अहिलेसम्म स्पष्टीकरण पत्र आएको छैन’, उनले भने, ‘एमाले र जसपाबीच चुनावी तालमेल भएको हो, कपोलकल्पित आरोप लगाएर जसपाले भनेको भरमा कारबाही गर्छन भने गरुन । त्यसको जवाफ दिन तयार छु ।’

उनले आफ्ना हजुरबुवाले स्वतन्त्र उम्मेदवारी दिएको कारण आफूलाई स्पष्टीकरण सोधिएको हुन सक्ने बताए । एमाले छिपहरमाई गाउँ कमिटी अध्यक्ष त्यागेर उनका हजुरबुवा प्रल्हाद साह कानुले पर्सा क्षेत्र नं. ४ को २ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यहाँ एमाले जसपा गठबन्धनका तर्फबाट निर्वतमान प्रदेश सभा सदस्य सिंगासन साह कलवार उम्मेदवार छन् ।

हजुरबुवाले स्वतन्त्र उमेदवारी दिएको बहानामा पार्टीले आफूलाई कारबाही गर्ने कुरा उचित नभएको छिपहरमाई गाउँपालिकाका अध्यक्ष गुप्ताको तर्क छ । ‘पार्टीकै केहि नेताको दाजु एउटा पार्टीमा भाइ अर्को पार्टीमा लागेका छन्, मेरो हजुरबुवाले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो,’ उनले भने ‘मलाई कारबाही हुन्छ भने उनीहरुलाई किन कारबाही हुँदैन ?’

पर्सा क्षेत्र नं. ३ मा केन्द्रिय सदस्य राजकुमार गुप्ता समेतको पहलमा पर्सा ३ को प्रदेश सभा १ मा उम्मेदवार बनाउने आश्वासनमा कांग्रेसका नेता निरराज गिरीलाई एमालेमा ल्याइएको थियो । तर जसपा परित्याग गरि एमालेमा प्रवेश गरेका निवर्तमान प्रदेश सभा सदस्य अब्दुल रहिम अन्सारीले टिकट हात पारे । एमालेबाट टिकट नपाएपछि निरराज गिरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनै गिरीको समर्थनमा लागेको आरोप सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्तलाई लगाइएको छ ।

त्यस्तै पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको अरोप हरिनारायण चौधरीलाई पनि लगाइएको छ । तर ती नेताहरुले भने आफूहरुलाई स्पष्टीकरण सम्बन्धी कुनै आधिकारिक पत्र नआएको बताएका छन् ।

सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यादवले आफू निर्वाचित जनप्रतिनिधि भएकोले निर्वाचन आचारसंहिता अनुरुप काम गरिरहेको बताए ।

‘नेताहरुले मिलेर टिकट वितरणमा मनलाग्दी गर्ने, १६ वटा वडा कमिटीले सर्वसम्मत सिफारिस गरेको व्यक्तिको नाम काटेर अर्कोलाई दिने’, उनले भने, ‘अहिले पूर्वाग्रह राखेर कारबाहीको धम्की दिएर हुन्छ ?’ उनले पार्टीमा लागेको व्यक्ति भएकोले पार्टी निर्णय बाहिर गएर कुनै गतिविधि नगरेको समेत दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?