+
+

मधेशमा नयाँ सत्ता समीकरण बनाउने ४ दलबीच सहमति

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ वैशाख ३० गते १८:४४

३० वैशाख, जनकपुरधाम । मधेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच नयाँ सरकार गठन गर्ने सहमति भएको छ ।

चार दलबीच नयाँ समीकरण बनाउने सहमति भएपछि एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकार छाडेका छन् । मधेश सरकारमा एमालेबाट मन्त्री रहेका नेताहरु सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल र राज्यमन्त्रीहरु केशव राय र शारदा थापाले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन् ।

त्यस्तै माओवादी केन्द्रबाट सरकारमा रहेका नेताहरु भरतकुमार साह र युवराज भट्टराईले पनि मुख्यमन्त्रीलाई राजीनामा बुझाएका छन् ।

एमाले माओवादीले सरकार छाड्नुअघि चारदलका नेताहरुको बैठकमा नयाँ सत्ता समीकरणबारे छलफल भएको बैठकमा सहभागी एक सांसदले बताए ।

बैठकपछि एमाले संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी दलका नेता भरतप्रसाद साह, जनमतका नेता महेश प्रसाद यादव, लोसपाका दलका उपनेता उपेन्द्र महतो, एमाले सचेतक हरिनारायण महतो, लोसपा सांसद रानी शर्मा तिवारी, माओवादीका नेता युवराज भट्टराईको सामूहिक तस्वीर पनि सार्वजनिक भएको छ ।

दलहरुबीच अहिले पनि नयाँ सत्ता समीकरणबारे छलफल भइरहेको छ । स्रोतका अनुसार सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने सहमति हुन सकेको छैन ।

निवर्तमान उद्योग तथा पर्यटन मन्त्री युवराज भट्टराईको सरकारी आवासमा भएको बैठकमा सरकारको नेतृत्व कसले गर्ने, सरकारमा दलीय प्रतिनिधित्व कसरी गर्ने लगायतका विषयमा छलफल भएको छ ।

१०७ मधेश प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २४, जनमतको १३, माओवादी केन्द्रको ९ र लोसपाको ८ सिट रहेको छ । यसले सरकारको लागि आवश्यक बहुमत पुग्छ । केन्द्रमा विभाजन भएको जसपा नेपालको मधेशमा आशोक राई नेतृत्वमा सांसदहरु खुल्न बाँकी छ ।

आजै सरकार नछाडे यसै सरकारले बजेट ल्याउन सक्ने, केन्द्रमा भएको जसपा नेपालको विभाजन पश्चात पनि प्रदेशमा उसको सांसदहरु नुखल्ने जस्ता सम्भावना देखेपछि आन्तरिक गृहकार्य गरी दुबै दलले सरकार छाडेको माओवादी केन्द्रका एक नेताले बताए ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?