+
+

एमाले छोडेपछि बल्ल टिकट पाएका श्रीनाथ

अमृत सुवेदी अमृत सुवेदी
२०७९ कात्तिक २६ गते १४:४३

२०४४ सालतिर पञ्चायतविरोधी अभियानमा पोखराको पृथ्वीनारायण क्याम्पसका विद्यार्थी नेताहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि विद्यार्थी नेता श्रीनाथ बराल आमरण अनशन बसे ।

तत्कालीन अनेरास्ववियुका नेताहरु तुलबहादुर गुरुङ, रामनाथ गुरुङ र विजय गुरुङलाई प्रहरीले पक्राउ गरिसकेको थियो । तत्कालीन अञ्चलाधीश नरेन्द्र चौधरीले धम्की दिए, ‘तुरुन्त आवरण अनसन तोड, नत्र मर्छस् ।’

१३ दिन आमरण अनशन बसिसकेपछि उनको स्वास्थ्य गम्भीर बन्यो र प्रहरी घेराभित्रबाट अनशन तोडाइयो । स्वास्थ्य बिग्रदै गएपछि अञ्चलाधीशले मर्छस् भनेका श्रीनाथ अहिले कास्की–२ बाट लोकतन्त्र बचाउने भन्दै मत मागिरहेका छन् । नेकपा एमाले छँदा एक पटक तत्कालीन जिल्ला विकास समितिको उपाध्यक्ष भएका श्रीनाथले एमाले नछोडी संसदीय निर्वाचन लड्न पाएनन् ।

२०६४ यताका हरेक निर्वाचनमा आकांक्षा राखेर पनि टिकट नपाएका श्रीनाथले एमाले विभाजनपछि माधवकुमार नेपाल नेतृत्वमा गठित एकीकृत समाजवादी पार्टीमा लागे । कास्कीमा अभागी नेताका रुपमा चिनिएका श्रीनाथ चुनाव जितेर संसद छिर्ने ‘अधुरो सपना’ पूरा गर्न लागि परेका छन् । तर, यो सपना पूरा गर्न उनलाई फलामकै चिउरा बन्ने निश्चित छ ।

एमालेको गढ मानिएको कास्की–२ मा एकीकृत समाजवादीको जनाधार कमजोर छ । नेपाली कांग्रेसको सहारामा चुनाव लडेका श्रीनाथ आफूप्रतिको सहानुभूतिलाई समेत मतमा बदल्दै चुनावी जित्ने अभियानमा छन् । श्रीनाथसँग अर्को संयोग पनि छ, अघिल्लो निर्वाचनमा जसलाई जिताउन हिँडे, यसपटक उनैसँग प्रतिस्पर्धा गर्नुपरिरहेको छ ।

रवीन्द्र अधिकारीको निधनपछि उपनिर्वाचनमार्फत संसद छिरेकी उनकी पत्नी विद्या भट्टराई यसपटक चुनाव लडेर पूरा कार्यकाल सांसद बन्न कस्सिएर लागेकी छन् । दोस्रो पटक जनताको अभिमत प्राप्त गर्न मैदान उत्रिएकी विद्या नै श्रीनाथको पहिलो चुनौती बनेकी छन् ।

श्रीनाथका निम्ति अर्को चुनौती भनेको कांग्रेसकै मतको भर पर्नुपर्ने क्षेत्रमा कांग्रेसका नेता तथा पूर्वमन्त्री महादेव गुरुङले बागी उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसको आफ्नै चुनाव चिह्न नभएकाले यसपटक महादेवले राम्रै मत ल्याउन सक्ने र त्यसको सोझो फाइदा विद्या भट्टराई नै हुने चर्चा निर्वाचन क्षेत्रमा छ ।

महादेवको उम्मेदवारी निष्क्रिय गराएर श्रीनाथको पक्षमा सघाउन कांग्रेस सभापति शेरबहादुर देउवाले आग्रह गरेका थिए । महादेवले कारबाही सहने तर उम्मेदवारी फिर्ता नगर्ने जवाफ दिए । माधवकुमार नेपालले पोखरामा आउँदा महादेवलाई भेटेर श्रीनाथलाई सघाउन भनेका थिए । तर, महादेवले जवाफ फर्काए, ‘पार्टीबाट किन विद्रोह गरिन्छ त्यो तपाईंलाई थाहा छ, मैले शेरबहादुर देउवासँग विद्रोह गरेको हुँ ।’

स्थानीय तहको निर्वाचनमा पनि पोखराको मेयर एकीकृत समाजवादी पार्टीले नै पायो र एमालेकै मतसमेत काटेर सत्ता गठबन्धनबाट धनराज आचार्य मेयरमा निर्वाचित भए । श्रीनाथले पनि एमालेकै मत काट्ने रणनीति अपनाइरहेका छन् । तर मेयर आचार्यलाई जस्तो श्रीनाथको पक्षमा मत नजाने विश्लेषण नेताहरुको छ ।

पृथ्वीनारायण क्याम्पसमा समाजशास्त्र तथा मानवशास्त्र विषयमा स्नातकोत्तर गरेका श्रीनाथ पोखराको मेयर हुने आकांक्षा पनि राखेका थिए । श्रीनाथप्रति मतदाताको सहानुभूति भए पनि एमालेको मत नै काट्ने गरी आकर्षण नभएको नेताहरुको भनाइ छ ।

कास्की–१ बाट सिफारिस भएका श्रीनाथले कास्की–२ बाट टिकट पाए । कास्की–१ कांग्रेसको भागमा परेपछि एमालेकै पूर्वसहकर्मी रवीन्द्र अधिकारीको बिरासत ढलाउने होडमा उनी छन् । तर, उनी आफैंले भने आफूलाई मत हाल्न पाउँदैनन् ।

कास्कीको एमाले पहिलेदेखि नै ओली समूहको वर्चश्व भएको जिल्ला हो । यहाँ माधवकुमार नेपाल समूहले कमैमात्र अवसर पाएको र सधैं मारमा पर्ने गरेको गुनासो सुनिन्थ्यो । श्रीनाथ पनि पटक पटक सिफारिस भएर टिकट नपाएका पात्रमध्ये पर्छन् ।

२०७४ सालको निर्वाचनमा उनले आकांक्षा राखेनन् तर कास्की–१ मा खगराज अधिकारीले जिताउने कमाण्डनै सम्हालेका थिए । २०७६ मा भएको उपनिर्वाचनमा श्रीनाथ विद्यालाई चुनाव जिताउने कमाण्डरमध्येकै एक थिए ।

अघिल्लो निर्वाचनमा जसलाई जिताउन लागिपरेका थिए, अहिले उनैलाई हराउने अठोटका साथ श्रीनाथ ५ दलीय गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका छन् ।

नेकपा विवादले एमाले–माओवादी अलग गराइदिएपछि एमालेबाट माधवकुमार नेपाल समूह पनि अलग भयो, उनी केन्द्रीय पोलिट्ब्यूरो सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज भए ।

संसदीय निर्वाचन लड्ने हुटहुटी लिएर बराल कास्की–२ मा उम्मेदवार बन्न त सफल भएका छन् तर संसदयात्रा तय गर्न भने चुनौतीपूर्ण देखिएको छ । कास्की–२ मा सत्तारुढ गठबन्धन एमालेभन्दा १ हजार मतले मात्र अगाडि छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?