+
+

हरेक चुनावमा सांसद फेर्छ भक्तपुर २

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १०:५३
भक्तपुर २ मा चुनाव जितेका दुर्लभ थापा । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

८ मंसिर, भक्तपुर । भक्तपुर १ मा सधैं नेमकिपाले जित्छ । भक्तपुर २ भने सधै‌ं नयाँ अनुहारको खोजीमा भाैंतारिन्छ ।

०४८ सालदेखि भक्तपुर १ मा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे राेहितले जित्दै आए । २०७० सालको चुनाव पनि जितेका रोहितले राजनीतिमा अभिभावकीय भूमिका निर्वाह गर्ने भन्दै चुनाव नलड्ने घोषणा गरे । त्यसपछि यो क्षेत्रमा उनकै पार्टी प्रेम सुवाल २०७४ सालको चुनावमा उम्मेदवार बनेर रोहितको उत्तराधिकारीका रुपमा देखिए ।

नेमकिपा र भक्तपुर १ अब त पर्याय नै भइसके । यतिसम्म कि यहाँ चुनाव नै नगरी यो क्षेत्रमा नेमकिपालाई विजयी घोषित गरे हुन्छ भन्ने चर्चासमेत चल्छ । यसपल्ट पनि त्यो चर्चा अनुसार नै भक्तपुर एकमा प्रेम सुवाल निर्वाचित भए । उनले ४२ हजार ७६१ मत पाए । उनको जितको अन्तर यति धेरै छ कि उनका प्रतिस्पर्धी सबैको मत जोड्दा पनि उनी अघि हुन्छन् ।

भक्तपुर  २  भने नितान्त भिन्न छ । यो क्षेत्रमा पनि ०५१ को चुनाव नेमकिपाले नै जित्यो ।  तर यहाँको विशेषता नै भनाैं अहिलेसम्म कुनै पनि निर्वाचित उम्मेदवार दोहोरिएका छैनन् ।  मतदाता हरुले संसदीय निर्वाचनमा पार्टी नभई अनुहार हेर्ने गरेको विगत बोकेको छ भक्तपुर २ ले । २०४८ मा यहाँबाट कांग्रेसका जगन्नाथ आचार्यले जिते।

२०५१ मा नेमकिपाका आशाकाजी बासुकलाले जिते ।  २०५६  मा कांग्रेसका लेखनाथ न्यौपानेले जिते । २०६४ मा सुनिल प्रजापतिले नेमकिपाबाटै जित रचे । २०७० सालमा  रामेश्वर ढुंगेलले जिते पनि उनीसमेत दोहोरिन सकेनन् । २०७४ मा एमालेका महेश बस्नेतले जिते ।  २०७९ मा  बस्नेतले दोहोरिन चाहेर पनि समेत जित्न सकेनन् । यसपल्ट भक्तपुर २ ले छानेको छ  कांग्रेसका दुर्लभ थापालाई ।

भत्तपुर क्षेत्र नम्बर १ को मत एकनास खस्दा क्षेत्र २ किन यति चलायमान ?

नेमकिपाका नेता निरज लवजु स्थानीय जनप्रतिनिधिको काम र बलियो संगठनलाई मुख्य कारण मान्छन् । उनले भने, ‘क्षेत्र १ मा नेमकिपाको सांगठानिक आधार पञ्चायतकालको किसान आन्दोलनपछि जस्ताको तस्तै छ । कहिलेकाहीँ लहरहरु उठे पनि यहाँ फरक पर्दैन । तर क्षेत्र २ मा बलियो संगठन कसैको पनि नहुनु नै यसको कारण हो ।’

भक्तपुर १ मा चुनाव जितेका प्रेम सुवाल । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका समेटिएको यो क्षेत्रको भक्तपुर नगरपालिकामा नेमकिपाले नै वडा सदस्यदेखि मेयरसम्म सबै जनप्रतिनिधि जितेको छ । जसले गर्दा उसलाई भक्तपुर नगरपालिकामा बनाएका कुनै पनि योजना कार्यान्वयनमा समस्या छैन । नेमकिपाले नगरपालिकामा राम्रो काम गरेको र त्यही कामलाई मन पराएर जनताले चुनाव जिताउने गरेको लवजु बताउँछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?