+
+

नेदरल्याण्ड्स र इक्वेडरबीच बराबरी, कतार विश्वकपबाट बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १० गते ०:००

९ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप फुटबलमा शुक्रबार नेदरल्याण्ड्सले १-१ को बराबरी खेलेका छन् ।

समूह ए मा नेदरल्याण्ड्स र इक्वेडरको खेल बराबरीमा सकिएपछि आयोजक कतार भने एक खेल खेल्नुअघि नै समूह चरणबाटै बाहिरिएको छ । शुक्रबारै भएको पहिलो खेलमा सेनेगलसँग ३-१ ले पराजित भएको कतारले लगातार दोस्रो हार बेहोरेको थियो ।

सन् २०१० मा दक्षिण अफ्रिकापछि समूह चरणबाटै बाहिरिने कतार पहिलो आयोजक देश बनेको छ । पहिलो खेलमा कतार इक्वेडरसँग २-० ले पराजित भएको थियो ।

विश्वकप सुरु भएको ६ दिनपछि नै समूह चरणबाट बाहिरिएको कतार आयोजकको रुपमा विश्वकपबाट सबैभन्दा चाँडै बाहिरिने आयोजक टिम बन्यो ।

इनर भ्यालेन्सिया चम्कँदा इक्वेडर बराबरी गर्न सफल

इक्वेडरका कप्तान इनर भ्यालेन्सियाले गोल गर्ने क्रमलाई जारी राख्दा इक्वेडरले नेदरल्याण्ड्ससँग बराबरी खेल्दै अंक खोसेको हो ।

खेलको छैटौं मिनेटमै कोडी गाक्पोको गोलमा नेदरल्याण्ड्सले पहिले अग्रता लिएको थियो । तर दोस्रो हाफमा इक्वेडरले बराबरी गोल फर्कायो । इनर भ्यालेन्सियाले ४९औं मिनेटमा बराबरी गोल गरेका थिए ।

इक्वेडरका पर्भिस इस्तुपिनानले पहिलो हाफको इन्जुरी टाइममा गोल गरेपनि अफसाइड भएको थियो ।

उनले उद्घाटन खेलमा कतारविरुद्ध दुई गोल गरेका थिए । अहिले तीन गोलसहित इनर कतार विश्वकपमा सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छन् । इक्वेडरले विश्वकपमा गरेको पछिल्लो ६ गोल नै इनर भ्यालेन्सियाको नाममा छ ।

बराबरीपछि नेदरल्याण्ड्स र इक्वेडरको समान ४ अंक छ । दुई खेलपछि अंकविहीन रहेको कतार २२औं संस्करणबाट बाहिरिने पहिलो टिम बनेको छ ।

आयोजकको हैसियतले विश्वकपमा डेब्यु गर्ने मौका पाएको कतारले सोचेजस्तो प्रदर्शन भने देखाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?