+
+

विश्वकपमा ‘द एटलस लायन्स’को पहिलो क्वाटरफाइनल यात्रा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते १६:५३
कतारमा देखिएका मोरक्कोका समर्थक ।

२१ मंसिर, काठमाडौं । कतारको एजुकेसन सिटी स्टेडियममा मंगलबार मोरक्को फुटबल इतिहासमा लेखिने एक स्वर्ण दिन बन्यो ।

सामान्य ९० मिनेटमा केही नभएपछि ३० मिनेट समय थपियो त्यसमा पनि दुवै तर्फबाट गोल भएन ।

खेल पेनाल्टीमा गयो, कसले पहिले सुट हान्ने र कसले रोक्ने भन्ने निर्णय रेफ्रीले टसमार्फत गरे ।

टस जितेर मोरक्कोले पहिले सुट गर्ने निर्णय गर्‍यो । मोरक्कोका अब्देल हामिदी साबिरीले पहिलो पेनाल्टीलाई गोलमा परिणत गरे ।

त्यसपछि पालो आयो स्पेनको । स्पेनका पाब्लो साराबियाको पेनाल्टी बारमा लाग्यो । मोरक्को १–० ले अघि भयो ।

मोरक्कोका लागि हाकिम जियाचीले हानेको दोस्रो पेनाल्टी गोल भयो ।

२–० ले पछि परेको स्पेनका लागि दोश्रो पेनाल्टी हान्न कार्लोस सोलेर आए । उनको दाहिने खुट्टाको प्रहारलाई मोरक्कोका गोलकिपर बोनोले दाहिने कुनामा ड्राइभ हानेर बचाए ।

मोरक्कोको दुई पेनाल्टी गोल भइ सकेको थियो भने स्पेनको दुवै पेनाल्टी रोकिएको थियो । त्यसैले मोरक्कोले हान्ने तेस्रो पेनाल्टी निर्णायक थियो ।

मोरक्कोका लागि विजयी पेनाल्टी हान्न बाद्रा बिनाउन अघि सरे । तर उनको दाहिने खुट्टाको प्रहार स्पेनका गोलकिपरले देब्रे कुनातिर ढलेर रोके ।

स्पेनले तेश्रो पेनाल्टी हान्ने मौका पायो । सर्जियो बुस्केटले त्यो मौका सदुपयोग गर्न सकेनन् । उनको दाहिने खुट्टो प्रहार मोरक्कोका गोलकिपरले रोके ।

खेलमा मोरक्कोको अग्रता २–० नै रह्यो । मोरक्कोका लागि चौथो पेनाल्टी गोल भए क्वार्टरफाइनल प्रवेश गर्ने स्थिति बन्यो ।

मोरक्को र स्पेन दुवै देशका लागि यो खेल निकै महत्वपूर्ण थियो । एक देशका लागि इतिहास रच्ने दिन थियो भने, स्पेनका लागि साख जोगाउने महत्वपूर्ण अवसर ।

खेल पेनाल्टी सुटआउटमा पुगेपछि दुवै देशका समर्थक कोही पनि सिटमा बसेका थिएनन् । कोही उभिएका थिए । कोही बेञ्चमा टेकेर अग्लिएका । भीआईपी र मिडियाबक्समा रहेका बाहेक अरु सबैले यो खेल उभिएरै हेरे । अन्तिम पेनाल्टी लिने बेला सबैको मुटुको धड्कन बढेको थियो ।

आफ्नो टिमका लागि चौथफ पेनाल्टी हान्न मोरक्कोका असरफ हाकिमी अघि बढे । उनी बल समातेर पोष्टतिर जाँदै गर्दा स्पेनका समर्थकले गोलपोस्ट पछिबाट मोबाइलको लाइट बालेर उनलाई बिथोल्ने प्रयास गरे ।

हाकिमी कतै पनि विचलित भएनन् । हकिमीले मोरक्कोका लागि तेस्रो पेनाल्टीलाई गोलमा परिणत गरे । त्यो गोल, जित थियो र त्यहि जित मोरक्को लक्ष्य थियो । एक अद्भुत क्षण मोरक्को फुटबलका लागि उत्सवको क्षण थियो ।

मोरक्कोका वैकल्पिक खेलाडीले आफ्नो झन्डा बोकेका थिए । जुन उनका समर्थकहरुले उनीहरुमाथि फ्याकेका थिए । यो दिन मोरक्को फुटबल इतिहासका लागि अविस्मरणीय बन्यो । मोरक्को पहिलो पटक विश्वकपको क्वाटरफाइनल प्रवेश गर्‍यो ।

जीतपछि प्रशिक्षकलाई उफार्दै मोरक्कोका खेलाडी ।

मोरक्कोका समर्थकको खुसीको सीमा रहेन । मैदानमा खेलाडी प्रशिक्षक र टिमको उत्सव पनि कम रहेन । गोलकिपर बोनोलाई सबैले प्रशंशा गर्दै उफारे । उनको उत्कृष्ट पेनाल्टी सेभका कारण नै मोरक्कोले पहिलो पटक क्वाटरफाइनलको यात्रा तय गर्न सकेको थियो ।
खेल सकिए पछि मोरक्कोका एक हुल समर्थकले भने, ‘यो नतिजा हाम्रो लागि संसारको सबै खुसी एकै ठाउँमा ल्याएर राखेको जस्तो हो । हामी एकदमै खुसी छौं ।’

उनीहरु खुसीले गद्गद् भएर चिच्चाए । ‘हामीले जित्छौं भन्नेमा हामी विश्वस्त थियौं । किनभने हामी मोरक्कोबासी हौं, हामी सिंह हौं’, रंगशालाबाट खुसीको क्षण साट्दै बाहिरिएका मोरक्को समर्थक हुलले भन्यो । उनीहरु गित गाउँदै झन्डा लहराउँदै चिच्चाउँदै कराउँदै रंगशाला बहिर आइरहेका थिए ।

एक समर्थकले भने, ‘मलाई मोरक्कोन हुनुमा गर्व छ । हामी अद्भुत छौं, यो समयमा दुनियाँमा सबैभन्दा राम्रो अनुभव भइरहेको छ । म अर्को खेल हेर्न आतुर छु । म घर फर्किन्न, म कतार नै बस्छु ।’

मोरक्कोकी समर्थक फिरदोसको बिहीबार बिहान मोरक्को फिर्ता जाने टिकट छ । उनी मोरक्को पुगेर फेरि कतार फर्कने छिन् । ‘यो निकै ठूलो खुसी हो । मोरक्कोले हालसम्म पाउन नसकेको यो एकदमै ठूलो उपलब्धि हो । म मोेरक्को फर्कर्दै छु तर म अर्को खेल हेर्न पुन आउनेछु’, उनले भनिन् ।

अर्का मोरक्को समर्थक मोहम्मद करम भन्छन्, ‘मलाई अझै सपना जस्तो लाग्दै छ । धेरै तनाव थियो धेरै खालको अनुभव थियो । तर हामीले गर्‍यौं हामी क्वाटरफाइनलमा पुग्यौं ।’ उनले यो खेललाई उनको जीवनमा हेरेको सबैभन्दा उत्कृष्ट खेलको संज्ञा दिए ।

मोरक्कोका समर्थक चिच्चाउँदै कराउँदै थिए । भने अर्को तर्फ स्पेनका समर्थक रुञ्चे मुख लगाएर चुपचार रंगशाला बाहिर निस्किरहेका थिए ।

मौन समर्थकलाई मोरक्कोका समर्थकले जिस्काउँदै भने, ‘स्पेना, स्पेना, एयरपोर्ट जाने बाटो यता हो स्पेना ।’ मोरक्कोका गोलकिपर बोनोको उत्कृष्ट प्रदर्शनसँगै २०१० को विश्वकप विजेता स्पेनको विश्वकप यात्रा रोकिएको थियो ।

मोरक्कोले छैटौं पटकको प्रयासमा विश्वकपको क्वाटरफाइनल यात्रा तय गर्‍यो ।

सन् १९७० मा पहिलो पटक विश्वकपमा छनोट भएको मोरक्को पहिलो पटक समूह चरणबाट बाहिरिएको थियो । १९८६ मा पहिलो पटक अन्तिम १६ मा स्थान बनाएको मोरक्को त्यसपछि १९९४, १९९८ मा समुह चरणबाटै बाहिरिएको हो । त्यसपछि २००२, २००६, २०१० र २०१४ मा विश्वकपमा छनोट हुन सकेन । २०१८ मा पुन विश्वकपमा फर्किएको मोरक्को पुन समुह चरणबाटै बाहिरिएको थियो ।

– अलजजिराको सहयोगबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?