+
+

एसिया रग्बी यू-१८ च्याम्पियनसिप : नेपाललाई अनुभव बटुल्ने मौका

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ मंसिर २३ गते १९:१२

२३ मंसिर, काठमाडौं । एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा पहिलो पटक काठमाडौंमा एसियाली स्तरको रग्बी प्रतियोगिता आयोजना हुँदैछ । एसिया रग्बी यू-१८ सेभेन्स च्याम्पियनससिपमा महिला र पुरुष दुवैको प्रतियोगिता हुन लागेको हो ।

शनिबार र आइतबार दशरथ रंगशालामा आयोजना हुने दुई दिने रग्बी प्रतियोगिताका लागि सहभागी टिम नेपाल आइसकेका छन् । पुरुषतर्फ ८ र महिलातर्फ ५ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो पटक घरेलु मैदानमा यति ठूलो प्रतियोगिता आयोजना हुँदा नेपालको लागि यो अनुभव बटुल्ने राम्रो अवसर हुनेछ । अन्तर्राष्ट्रिय स्तरमा रग्बी चर्चित खेल भए पनि नेपालमा भने यो खेलको बारेमा धेरै चर्चा सुनिदैन । यद्यपी पछिल्लो एक दशकमा नेपालले रग्बीको घरेलु प्रतियोगितादेखि अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेत खेलिसकेको छ

नेपालले घरेलु मैदानमा पहिलो पटक ठूलो प्रतियोगिता खेल्दा उपाधि जित्ने भन्दा पनि एक्सोसरको अवसर हुनेछ । ‘हामीले एक महिना क्याम्प राखेर तयारी गर्‍यौं, पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको खेल खेल्दैछौं, राम्रो गर्ने आशा छ,’ नेपालका कप्तान रोहन डंगोलले भने, ‘खेलमा जित हार हुन्छ । हाम्रो लागि यो प्रतियोगितामा खेल कठिन हुनेछ । तर पहिलो पटक खेल्न लागेकोले हामी सबै उत्सहित छौं ।’

पुरुषतर्फ ८ टिम सहभागी छन् । जसमा नेपाल रहेको पुल ए मा थाइल्याण्ड, मलेसिया र भारत पनि छन् । नेपालले शनिवार थाइल्याण्डसँग पहिलो खेल खेल्दै प्रतियोगयोगिता सुरु गर्नेछ ।

नेपालका विदेशी प्रशिक्षक लेभीले नेपालको लागि प्रतियोगिता सिक्ने र रग्बी खेललाई चिनाउने अवसरको रुपमा रहेको बताए । भने, ‘हाम्रो लागि यो प्रतियोगिता कठिन हुनेछ । यो पहिलो अन्तर्राष्ट्र खेल हो र रग्बीलाई खेलको रुपमा देखाउने र सेलेब्रेसनको रुपमा खेल्नेछौं।’

यस्तै पुल बी मा दक्षिण कोरिया, बंगलादेश, युएई र मलेसिया छन् । पुरुषतर्फ दक्षिण कोरिया, भारत र युएईले उपाधि जित्ने लक्ष्य राखेको छ । दक्षिण कोरियाले राम्रो तयारी गरेको र उपाधि जित्ने लक्ष्य राखेको छ ।

युएई, चाइनिज ताइपेई र भारतले पनि तयारी राम्रो भएको भन्दै राम्रो प्रदर्शन गर्ने बताए । सहभागी टिमका कप्तानहरु नेपालमा आएर खेल्न उत्साहित रहेको बताए ।

बंगलादेशले जित हार भन्दा पनि यस प्रतियोगितालाई सिक्ने अवसरको रुपमा लिएको बताएको छ । पुरुषतर्फ दुवै पूलका शीर्ष दुई सेमिफाइनलमा पुग्नेछन् र सेमिफाइनल विजेताबीच फाइनल हुनेछ ।

महिलातर्फ ५ टिम सहभागि छन् । महिलातर्फ नेपाल, भारत, युएई, थाइल्याण्ड र मलेसियाबीच राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा हुनेछ र शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।

नेपालको महिला टिमकी कप्तान मनिषा घिसिङले तयारी राम्रो भएको भन्दै प्रतियोगितामा राम्रो प्रदर्शनको अपेक्षा राखेकी छन् । भनिन्, ‘हामीले यस प्रतियोगितालाई सिक्ने अवसरको रुपमा लिएका छौँ । राम्रो खेल देखाउने प्रयास गर्नेछौँ ।’

यसअघि २०२१ मा भएको यू १८ महिला मा युएईले भारतलाई हराएर उपाधि जितेको थियो । त्यसैले यसपटक पनि युएई र भारत दाबेदारको रुपमा रहेको छ ।

नेपालमा हुन लागेको एसिया रग्बी यू-१८ सेभेन्स सेभेन ए साइड प्रतियोगिता हो । यस प्रतियोगिताको हरेक खेल १४ मिनेटको हुनेछ । जसमा ७ मिनेटको दुई हाफ हुनेछ ।

नेपालले पुरुषतर्फ पहिलो खेल शनिबार थाइल्याण्डसँग खेल्नेछ । यो खेल बिहान ९:२२ बजे सुरु हुनेछ । नेपालले शनिबारै मलेसियासँग र थाइल्याण्डसँग पनि खेल्नेछ ।

महिलातर्फ नेपालले पहिलो खेल शनिबार थाइल्याण्डसँग नै खेल्नेछ । यो खेल बिहान १०:२८ बजे सुरु हुनेछ । महिलातर्फ नेपालले युएईसँग शनिबार नै खेल्नेछ भने भारत र मलेसियासँग आइतबार खेल्नेछ ।

नेपाल रग्बी संघले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नु ठूलो अवसर भएको बताएको छ । साथै नेपाली टिमको लागि यो अन्तर्राष्ट्रिय एक्सपोजर लिने अवसर भएको पनि संघका सचिव गोविन्द घिमिरेले बताए ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?