
२७ मंसिर, हेटौंडा । राष्ट्रिय अपांग महासंघ बागमती प्रदेश कार्यसमितिले बागमती प्रदेश सभाको संरचना अपाङ्गमैत्री बनाउन ध्यानाकर्षण गराएको छ ।
प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई मंगलबार दिउँसो ध्यानाकर्षण पत्र बुझाउँदै अपाङ्गता भएका प्रदेश सभा सदस्य तथा अन्य व्यक्तिहरुलाई सहज आवतजावतको वातावरण बनाउन उनीहरुले माग गरेका हुन् ।
महासंघका बागमती प्रदेश अध्यक्ष अश्विन लम्सालले बागमती प्रदेश सभामा समानुपातिक तर्फबाट निर्वाचित अपाङ्गता भएकी लक्ष्मी घिमिरेलाई प्रदेश सभामा गर्नुपर्ने नियमित कामकारवाही सहज हुने गरी संरचनाहरु निर्माण गरिनुपर्ने बताए ।
मंसिर ४ गते भएको निर्वाचनबाट बागमती प्रदेश सभा सदस्यमा स्पाइनल इञ्जुरी भएकी रामेछापकी घिमिरे निर्वाचित भएकी थिइन् । उनी ह्वीलचेयरको सहायतामा हिँडडुल गर्ने गरेकी छिन् ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रदेश सभा सचिवालयका सचिव खड्काले प्रदेश सभाको सभाहल अपांगमैत्री रहेको जानकारी गराएका थिए । उनले समितिका कार्यालयहरु, संसदीय दलको कार्यालय र चमेनागृह लगायतका पूर्वाधारलाई तत्काल अपांगमैत्री बनाउन निर्देशन समेत दिए । उनले घिमिरेको सपथ ग्रहणलाई सहज बनाउन स्टेज समेत सोही अनुसार बनाइने बताए ।
सांसद घिमिरेको सहजताका लागि स्वकीय सचिवलाई छुट्टै अधिकारसहित सभा हल र संसदीय समितिको बैठकहरुमा समेत आवतजावतको वातावरण तयार गर्न पहल गर्ने सचिव खड्काले बताए ।
प्रतिक्रिया 4