+
+
हस्तलेखन कला :

बालबच्चालाई कसरी सुन्दर अक्षर लेख्न सिकाउने ?

रुपेश कुशवाहा रुपेश कुशवाहा
२०७९ पुष ५ गते १७:३१

जब कुनै बच्चाले सुन्दर अक्षर लेख्न सिक्छन्, उनीहरुमा लेख्ने हौसला थप बढ्न थाल्छ । यो एउटा गज्जब कला हो ।

हरेक बच्चाले असाध्यै राम्रो अक्षर लेख्न सक्छन् । सिकाउनुपर्ने कुरा के मात्र हो भने, अक्षर कुन विधिबाट लेख्दा राम्रो हुन्छ । अतः यसको एउटा सरल विधि छ । हस्तलेखन शिक्षाको महत्वपूर्ण पक्ष हो । हस्तलेखन भाषिक कला पनि हो । एउटा कलाकारले जसरी गाउन, नाच्न, चित्र कोर्न कठोर साधना गर्छन् हस्तलेखन कलाको लागि पनि साधना र लगाव आवश्यक हुन्छ ।

अहिलेको आधुनिक युगमा प्राय: सबैको साथमा मोबाइल र ल्यापटप छ तर हस्तलेखनको महत्व भने कम भएको छैन । विकसित मुलुकहरूको कुरा गर्ने हो भने पनि अधिकांश परीक्षा लिखित माध्यमबाट नै हुन्छ ।

नेपाली परिवेशमा पनि परीक्षा लिखित माध्यमबाट नै हुन्छ । स्कुल, कलेज, लोकसेवा आयोग लगायतका परीक्षाहरू पनि लिखित माध्यमबाट नै हुने भएकोले अक्षर राम्रो हुनु आवश्यक छ । कसैले अरूको लेख्ने तरिका नक्कल गरेर, इन्टरनेटमार्फत विभिन्न तरिका हेरेर पनि अक्षर राम्रो बनाउने प्रयास गर्छन् । अक्षर बिग्रने कारण धेरै छन्, जसलाई सुधार गर्न सकियो भने अक्षर राम्रो हुन्छ ।

कलिलो उमेरबाट नै बालबालिकालाई लेख्ने शैली सिकाइयो भने उनीहरूको हात त्यसमै बस्छ र अक्षर पनि राम्रो हुन्छ । बालबालिकालाई स्कुल जाने बित्तिकै सिधै क, ख, ग, तथा ए, बी, सी ,डी सिकाउनु भन्दा पनि हस्तलेखनको केही सामान्य ज्ञान दिनु उपयुक्त हुन्छ । खासगरी सिधा लाइन, तेस्रो र सी जस्तो कर्भ लाइन तान्न सिकाउनुपर्छ ।

बालबालिकाको लेखन शैली कुन लिपि (फन्ट)को जस्तो छ त्यस्तो लिपिअनुसार लेख्न सिकाइयो भने झन् धेरै सहज हुने भयो । करसिभ, केलिग्राफी र प्रिन्ट लिपि कुन लिपिमा उसले राम्ररी लेख्न सक्छ त्यही लिपि सिकाउनुपर्छ । कुनै एउटा मात्र लिपिमा लेख्ने बानी बसाउनुपर्छ । दुईवटा लिपि मिसाउँदा अक्षर झन् बिग्रन सक्छ । त्यसैले एउटै लिपिमा लेख्नुपर्छ ।

चार कुरामा ध्यान

अक्षर राम्रो बनाउन मुख्यतया चारवटा कुरामा ध्यान दिनुपर्छ । लिपि, अक्षर कता फर्काउने, कति खाली ठाउँ छोड्ने र आकार महत्वपूर्ण हुन्छ । अक्षर राम्रो बनाउने हो भने यी कुरामा ध्यान दिनुपर्छ ।

बालबालिकालाई ३ देखि ४ वर्षको उमेरबाट विद्यालय पठाउन थालिन्छ । राम्ररी कलम समाउन नजानेका बालबालिकालाई विद्यालय पठाउने बित्तिकै क, ख, ग र ए, बी, सी सिकाउन थालिन्छ ।  यसरी सानै उमेरमा यस्तो लेख्न गाह्रो हुने अक्षर सिकाउने भन्दा पनि लेख्ने ढाँचा सिकाउनुपर्छ ।

सिधा लाइन कसरी तान्ने ? अण्डाकार अर्थात् ओभल कसरी बनाउने ? गोलो कसरी बनाउने ? अर्ध गोलाकार (कर्भ) कसरी बनाउने भन्ने लगायतका कुरा सिकाउनुपर्छ  । यी कुरा हस्तलेखन सिकाउनु भन्दा अघि सिकाउनुपर्छ । पाँच वर्षको उमेरदेखि नै बालबालिकालाई हस्तलेखनको ढाँचा सिकाउनुपर्छ ।

सानै उमेरदेखि एउटा तरिकाको अक्षर लेखिरहेको मान्छेले त्यही तरिकाको लिपिमा लेख्छ भने उसको त्यसमा हात बसिसकेको हुन्छ र छिटो लेख्न सक्छन् । तर एउटा तरिकाले लेखिरहेकाहरूले अर्को तरिकामा लेख्न खोज्छन् भने उनीहरूको लेखन ढिलो हुन्छ । अक्षर राम्रो बनाउन दैनिक ४-५ पेज हस्तलेखन लेख्नुपर्दैन । गृहकार्य गर्दा अक्षर राम्रो बनाएर लेख्ने  प्रयासले नै पनि अक्षर राम्रो हुन्छ ।

नेपाली र अंग्रेजी अक्षर राम्रो बनाउने विधि

नेपाली अक्षरको आफ्नै मौलिक नियम छन् । नेपाली अक्षरलाई लाइनभन्दा मुनि झुण्ड्याएर लेख्नुपर्छ । एउटै आकारको हुनुपर्छ सानो ठूलो हुनु हुँदैन । अक्षरमाथि अनिवार्य रूपमा धर्का अर्थात् डिको दिनुपर्छ । अक्षरसँगै मात्राहरूले पनि डिको छुनुपर्छ । एउटा अक्षरले अर्को अक्षरलाई छुनु हुँदैन । एउटा शब्दले अर्को शब्दलाई छुनु हुँदैन ।

अंग्रेजी अक्षर सबै एउटै आकारको हुनुपर्छ । दुई लाइन कपीमा अंग्रेजी अक्षर लेख्दा माथिको लाइन छुनु हुँदैन । चार लाइनको कपी हो भने चार लाइन र दुई लाइन राम्ररी छोएर लेख्नुपर्छ । अक्षरहरू एउटै साइडमा ढल्केको हुनुपर्छ, सिधा छ भने सबै सिधा, दायाँतिर फर्केको छ भने सबै दायाँ हुनुपर्छ । एउटा शब्दले अर्को शब्द छुनु हुँदैन ।

बालबालिकाले अक्षर कसरी बिगार्छन् ? 

बालबालिकालाई हस्तलेखनको ढाँचा नसिकाएर  एकैपटक अक्षर र शब्द लेख्न सिकाउँदा उनीहरूको अक्षर बिग्रन्छ । बालबालिकालाई सानैदेखि हस्तलेखन अभ्यास गराउँदै जानुपर्छ । उनीहरूलाई सिधै अक्षर र शब्द लेख्न सिकाउनु भन्दा अघि हस्तलेखनको ढाँचा सिकाइयो भने उनीहरूको अक्षर राम्रो हुन्छ । लेख्ने बेलामा बस्ने पोजिसन नमिलेर पनि अक्षर बिग्रन्छ । राम्ररी कलम समाउन नजानेर पनि अक्षर बिग्रन्छ । सिधा पोजिसनमा बसेर कपिलाई अलिकति बाङ्गो राखेर राम्ररी कलम समातेर लेख्दा अक्षर राम्रो हुन्छ ।

शिक्षक र अभिभावकले राम्रो अक्षर लेख्ने प्रेरणा नदिंदा पनि  बालबालिकाको अक्षर बिग्रन्छ । बालबालिकाले लेख्ने अक्षर कुन फन्टसँग मिल्छ त्यही अनुसार अभ्यास गराउँदा उनीहरूको लेखाइ राम्रो हुँदै जान्छ । कति पेज लेख्ने भन्दा पनि  कसरी लेख्ने भन्ने कुरा बालबालिकालाई सिकाउनुपर्छ । राम्रो अक्षरले लेख भनेर मात्र हुँदैन कस्तो अक्षरलाई राम्रो भन्छ भन्ने कुरा बच्चालाई सिकाउनुपर्छ ।

हस्तलेखन किन सुन्दर हुनुपर्छ ?

जुन बालबालिकाको अक्षर राम्रो हुन्छ उनीहरूको पढाइ पनि राम्रो हुन्छ । राम्रो अक्षर लेख्नेहरूको व्यक्तित्व पनि राम्रो हुन्छ । सुन्दर हस्तलेखनले व्यक्तिलाई एकाग्र बनाउँछ । सुन्दर हस्तलेखनले आत्मविश्वास बढाउँछ ।

विद्यार्थीको हस्तलेखन त झन् राम्रो हुनुपर्छ । किनकि राम्रो हस्तलेखनले उनीहरूको परीक्षाको नतिजालाई प्रत्यक्ष असर गर्छ ।

सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?