+
+

जाँदाजाँदै खेलकुदमन्त्री गहतराजले तेक्वान्दोसहित तीन खेल संघ विघटन गरे

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ पुष ५ गते २३:०९

५ पुस, काठमाडौं । खेलकुद मन्त्रालयमा आफ्नो करिब १५ महिने कार्यकालको लगभग अन्तिम समयमा रहेका मन्त्री महेश्वरजंग गहतराजले जाँदा-जाँदै तीनवटा खेल संघ विघटन गरेका छन् ।

राखेपका अध्यक्षसमेत रहेका गहतराजको निर्देशनमा राखेपले मंगलबार तेक्वान्दो, उसु र शारीरिक सुगठन संघलाई पुनर्गठन गरेको हो । राखेपले पुनर्गठित समितिका सबै सदस्यलाई पत्र पठाएको छ ।

पुनर्गठित नेपाल तेक्वान्दो संघको अध्यक्षमा संघका पूर्व उपाध्यक्ष तथा पहिलो पुस्ताका खेलाडीसमेत रहेका प्रदीप जोशीलाई संयोजक र अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरलाई महासचिवको जिम्मेवारी दिइएको छ ।

उसु संघमा राखेप सदस्य जनक बर्तौला अध्यक्ष र नवराज ढुंगानालाई महासचिवको जिम्मेवारी दिइएको छ ।

नेपाल शारीरिक सुगठन संघमा भने विवादित दुवै संघका प्रतिनिधिको सहमतिमा कार्यसमिति पुनर्गठन गरिएको हो । अध्यक्षमा राजेशबाबु श्रेष्ठ र महासचिव अजय महर्जनसहितको तदर्थ समिति बनाइएको हो ।

गत वैशाख ९ गते बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप)को ११३औं बोर्ड बैठकले उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा संघसंस्था विवाद समिति गठन गरेको थियो ।

विवाद समाधानका लागि तेक्वान्दो र उसु संघका विवादित मध्येको एउटा कार्यसमितिका कुनै पनि प्रतिनिधि वार्तामा नआएका कारण समितिले ऐनअनुसार आफ्नो निर्णय राखेप अध्यक्षसामु पेश गरेको समितिका संयोजक कोइरालाले जानकारी दिए ।

उल्लेखनीय कुरा के छ भने तेक्वान्दोका विवादित दुई संघमध्ये एउटा संघका अध्यक्ष कोइराला स्वयम् थिए । राखेपका तत्कालीन सदस्यसचिव युवराज लामाले २०६९ सालमा राष्ट्रिय तेक्वान्दो संघ गठन गरेसँगै नेपालमा एकै प्रकृतिका दुई खेल संघ अस्तित्वमा आएका थिए।

२०७७ असार १७ गते जारी भएको खेलकुद ऐनमा एकै प्रकृतिका दुई खेल संघ अस्तित्वमा रहेको अवस्थामा तीन महिनाभित्र एक हुनैपर्ने बाध्यकारी व्यवस्था छ । तर, ऐन जारी भएको साढे दुई वर्ष भइसक्दा पनि कार्यान्वयन भइरहेको थियो ।

विवाद समितिको सुझावअनुसार मन्त्री गहतराजले मंसिर २४ गते तीनवटा संघ विघटन गर्ने निर्णय गरेका हुन् । मन्त्रीको निर्देशनअनुसार राखेप सदस्यसचिव टंकलाल घिसिङले राखेपको खेलकुद विकास विभागमार्फत संघसंस्था समन्वय शाखामार्फत तदर्थ समितिका सबै सदस्यलाई नियुक्तिपत्र पठाइएको हो ।

तीनै संघका तदर्थ समितिले नयाँ खेलकुद ऐनअनुसार तीन महिनाभित्र स्थानीय तह, प्रदेश हुँदै केन्द्रसम्मको निर्वाचन सम्पन्न गर्नुपर्ने हुन्छ ।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै देशमा नयाँ सरकार बनाउने प्रक्रिया सुरु भएको छ । अर्को सातासम्म नयाँ सरकार गठन हुँदैन । प्रतिनिधिसभा निर्वाचनमा बाँके १ बाट पराजित भएपछि गहतराज पुनः मन्त्री हुने छैनन् ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?