
११ पुस, वीरगञ्ज । बाराको कलैयामा व्यवसायीले मौन विरोध र्याली निकालेका छन् । बैंकको चर्को ब्याजदर तथा प्रतिकुल नीतिहरुको विरोधमा मौन विरोध र्याली निकालेका हुन् ।
कलैयाको रामजानकी मन्दिरमा भेला भएर व्यवसायीहरुले ¥याली निकालेका थिए । र्याली कलैया बजारको परिक्रमापछि जिल्ला प्रशासनमा पुगेको थियो ।
बारा उद्योग वाणिज्य संघ कलैयाको आह्वानमा भएको र्यालीपछि उनीहरुले प्रमुख प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालमार्फत अर्थमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
ज्ञापनपत्रमा कोभिड महामारीले वर्वाद हुन थालेको निजी क्षेत्रलाई आर्थिक सहुलियत, छुटको दिएर पुनरुत्थान गर्नुको साटो राष्ट्र बैंकले चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन लागु गरेर निजी क्षेत्रमा झन् जटिलता र अन्यौलको अवस्था सृजना गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । मुलुकलाई आर्थिक दुर्घटनाबाट बचाउन सरकारको तर्फबाट सुधारात्मक कदम चल्नु आवश्यक रहेको उनीहरुको भनाइ छ ।
उनीहरुले अर्थ मन्त्रालयलाई ११ बुँदे सुझाव पेश गरेका छन् । बैंकहरुको सेवा शुल्क, कर्जा स्वीकृति शुल्क, एल.सी नेगोसिएसन शुल्कमा भएको दोब्बर वृद्धिलाई अन्त्य गर्नुपर्ने, कर्जामा एक अकंको व्याजदर कायम गर्नुपर्ने, बैंकहरुको आफ्नो खर्चमा कटौती गरी स्प्रेड दर ३ प्रतिशत राखी जोखिमका आधारमा २ प्रतिशत मात्र प्रिमियम लिन पाउने व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
व्याज भुक्तानीको अवधि थप गर्नुपर्ने, चालु पूँजी कर्जाको प्रावधान हटाई पुरानै व्यवस्था लागु गर्नुपर्ने, नोक्सानीमा परेको उद्योगलाई पुनरुत्थानका लागि सहुलितयपूर्ण कर्जा दिनुपर्ने लगायत सुझाव पेश गरिएको बारा उद्योग वाणिज्य संघ कलैयाका अध्यक्ष राजकुमार साहले जानकारी दिए ।
व्यवसायी आन्दोलनमा सहभागी भएका कारण कलैयाका पसल व्यवसाय साढे १२ बजेपछि मात्रै खोलिएको थियो ।
प्रतिक्रिया 4