+
+

होटल व्यवसायीले भेटे अर्थमन्त्री, चालु पूँजी कर्जा मार्गदर्शन कार्यान्वयन नगर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते १८:०५

१३ पुस, काठमाडौं । होटल संघ नेपाल (हान)ले चालु पूँजी कर्जा मार्गदर्शन तत्काल कार्यान्वयनमा नल्याउन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग माग गरेको छ । बुधबार अर्थमन्त्री पौडेलसँग भेट गर्दै व्यवसायीले तीन बुँदे माग पत्र बुझाएका छन् । जसमा उक्त माग गरिएको छ ।

हानका अध्यक्ष सृजना राणाको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री पौडेलसमक्ष समग्र अर्थतन्त्रको बचाउ तथा होटल उद्योगको संरक्षणार्थ सुझाव पेश गरेको जनाएको छ । अर्थमन्त्री पौडेलसँगको भेटमा अध्यक्ष राणाले कोभिड–१९ बाट अतिप्रभावित होटल तथा पर्यटन उद्योग अझै पनि लयमा आउन नसकेको तथा तथा पर्यटन व्यवसाय पुनरुत्थान हुन नसकी व्यवसायीहरु व्यवसाय बन्द गरी पलायन हुने अवस्थामा पुगेको बताएकी थिइन् ।

नेपाल राष्ट्र बैंकबाट जारी चालू पुँजी कर्जा मार्गदर्शन तत्काल कार्यान्वयनमा नल्याउन र अर्थतन्त्रको पुनरुत्थानमा प्रत्यक्ष भूमिका खेल्ने होटल उद्योगलाई उत्पादनमूलक उद्योगको मान्यता दिई प्राथमिकता प्राप्त उद्योगको रुपमा कानुनमै व्यवस्था गर्न माग गरिएको हानले जनाएको छ ।

व्यवसायीको सबैभन्दा जटिल समस्या बैंकको बढ्दो ब्याजदर भएको समेत व्यवसायीको भनाइ छ । होटल जस्तो अति संवेदनशील उद्योगले यस्तो दर धान्नै नसक्ने भन्दै व्यवसाय सञ्चालन गर्न तथा लगानी आकर्षण गर्न प्रतिकूल देखिएको दावी व्यवसायीले गरेका छन् ।

होटल उद्योगले लिएको सावाँको किस्ता र त्यसमा बहन गर्नुपर्ने ब्याज बुझाउन सक्षम नरहेको र बैंकबाट सीमाभित्र सावाँ ब्याज बुझाउन तीव्र ताकेता रहेको भन्दै व्यवसायीले यस्तो समय बढाउन पहल गरिदिन माग समेत गरेका छन् ।

मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत सम्बोधन हुन नसकेको पुनतालिकीकरण र पुनर्कर्जा सुविधा अब आउने अर्धवार्षिक समीक्षामार्फत सम्बोधन गर्न समेत व्यवसायीले माग गरेका छन् ।

भेटमा अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि मन्त्रालय लागि परेको र उद्योग व्यवसायको विकास र विस्तारका लागि पनि कदम चालिने र यसलाई सहज बनाइने विश्वास व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?