+
+

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुरु

५७ अर्ब कुलपूँजी सहित ग्लोबल आईएमई बन्यो मुलुककै ठूलो बैंक

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १८:१३

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जरपछि ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् ।

काठमाडौंमा सोमबार आयोजित एक विशेष कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई बैंकको मर्जरपछि एकीकृत कारोबारको शुभारम्भ गरे । एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बैंकहरु ठूलो हुँदा ठूलाठूला परियोजनामा लगानी जुटाउन सहयोग पुग्ने बताए ।

‘बैंक मर्जर असाधारण काम हो, यो प्रसंशा योग्य छ । बैंक ठूला हुँदा ठूलाठूला परियोजनामा लगानी जुटाउन सहयोग पुग्नेछ । ठूला बैंकले मुलुकको दूरदराजसम्म नबिनतम बैंकिङ सेवा र वित्तीय साक्षरता अभिवृद्धि गर्न काम गर्न जरुरी छ’ उनले भने । प्रधानमन्त्री प्रचण्डले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको र यसका लागि वर्तमान सरकार प्रतिवद्ध रहेको समेत बताए ।

साना व्यवसायबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका बैंकका अध्यक्ष चन्द्र ढकाल र आफ्नो राजनीतिक जीवनमा धेरै समानता रहेको बताउँदै प्रचण्डले मुलुककै सबैभन्दा ठूलो बैंकको अध्यक्ष बन्न सफल भएकोमा ढकाललाई बधाई तथा शुभकामना समेत दिए । वर्तमान सरकार अर्थतन्त्र सुधारमा केन्द्रित रहेको र निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने उनले बताए ।

‘वर्तमान सरकार मुलुकको अर्थतन्त्र सुधार गर्न प्रतिवद्ध छ । हामीले हाम्रो पहिलो क्याबिनेट बैठकबाट नै मुलुकको अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ काम सुरु गरेका छौं’ उनले भने ।

नेपाल सरकारका मुख्य सचिब शंकरदास बैरागीले अर्थतन्त्रमा सकारात्मक सुधारको संकेत देखिएकोले निजी क्षेत्र हतोत्साहित हुनुपर्ने अवस्था नभएको बताए । ‘अर्थतन्त्रमा सकारात्मक संकेत र आर्थिक सूचकमा सुधार आएको छ । बैंकहरुको ठूलो मर्जरले वित्तीय क्षेत्रको स्थायित्वमा ठूलो योगदान पुर्‍याउन सक्छ’ उनले भने । उनले नेपाल सरकार निजी क्षेत्रलाई साथमा लिएर, निजी क्षेत्रको मनोबल बढाएर अगाडि बढ्ने बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुको मर्जरले बैंक तथा वित्तीय संस्थाहरु ठूला र सबल बन्दै जाँदा वित्तीय मध्यस्थता लागत कम हुँदै जाने बताए । उनले मर्जरले बैंकहरु ठूला बन्दै जाँदा बैंकहरुले स्वनियमनमा बस्नुपर्ने बताए ।

उनले ठूला बैंकले एकल ग्राहक सीमामा आन्तरिक सीमा समेत कायम गरी साना तथा मझ्यौला ऋणीहरुलाई ऋण प्रवाह गर्नुपर्ने समेत बताए ।

ग्लोबल आईएमई बैंकका अध्यक्ष ढकालले नेपाली बैंकिङ क्षेत्रका लागि आजको दिन एउटा ऐतिहासिक दिन रहेको बताउँदै यस मर्जरसँगै अधिकांश वित्तीय सूचकहरुमा ग्लोबल आईएमई बैंक नेपालको नम्बर वान बैंक बनेको बताए ।

‘हुन त यसअघि पनि हामी धेरै सूचकमा नम्बर वान् नै थियौं तर आजको मर्जरपछि हामी झनै माथि उक्लिन सफल भएका छौं । यो मर्जरसमेत गरेर हालसम्म ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनीसहित कुल २१ वटा बैंक तथा वित्तीय संस्थाहरु एउटै संस्थाका रुपमा एकीकृत गरेका छौं’ उनले भने ।

अध्यक्ष ढकालले नेपाल राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि ग्लोबल आईएमई बैंकले त्यसलाई पछ्याउँदै अघि बढेको र सरकार तथा नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई कार्यान्वयनमा ल्याउने लिडर रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मर्जरले बैंक सबल बन्ने र सबल बैंकले अर्थतन्त्र सबल बनाउन सहयोग पुग्ने बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले ग्लोबल आईएमई बैंकलाई सफल मर्जरको लागि शुभकामना व्यक्त गर्दै ग्लोबल आईएमई बैंकको नेतृत्वमा व्याजदर घटाउन पहल गर्न आग्रहसमेत गरे ।

बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले बैंकको पूँजीगत आधार विस्तार गर्दै क्षमता विकास गर्न मर्जरमा गएको बताए । उनले बैंकिङ क्षेत्रप्रति आम जनताको विश्वास बढ्दै गएको बताउँदै यसले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकारात्मक भूमिका रहने बताए ।

बैंक अफ काठमाण्डूका सञ्चालक तथा संयुक्त मर्जर कमिटिका संयोजक राधेश पन्तले मर्जरको पहिलो सम्झौता भएको ६ महिनाभित्र मर्जर सम्पन्न भएको बताए । दुवै बैंकका आ-आफ्नै विशेषता रहेको बताउँदै उनले मर्जरपछि बैंकको व्यवसायको लागत कम हुने बताए ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहने छन् ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बनेको ग्लोबल आईएमई बैंक लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भएका छन् ।

मर्जर पश्चात् बैंकको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब रुपैयाँ, कुल पूँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पूँजी ३५.७७ अर्ब रुपैयाँ, कुल निक्षेप ४ खर्र्ब १२ अर्ब रुपैयाँ, कुल कर्जा ३ खर्ब ७७ अर्ब रुपैयाँ भएको छ । मर्जरपछि बन्ने नयाँ बैंक कुल पूँजी, चुक्ता पूँजी, शाखा सञ्जाल तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बनेको छ ।

दुई बैंकहरुको मर्जर पश्चात् कुल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखा रहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढी ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोबल आईएमई बैंक मुलुकको सबैभन्दा ठूलो बैंक हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?