३ माघ, काठमाडौं । गैरआवासीय नेपाली संघले १० अर्ब बराबरको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड कम्पनी कार्यान्वयनमा ल्याउन रहेका अप्ठ्यारा फुकाउन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष माग गरेको छ । एनआरएनएका अध्यक्ष त्रयसहितको प्रतिनिधिमण्डलले पौडेललाई मंगलबार भेटेको हो । संघका अध्यक्षहरुले लामो समयदेखि संघले उठाउँदै आएका माग सम्बोधन गर्न आग्रह गरे ।
गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रविना थापाले विदेशमा रहेका लाखौं नेपालीहरु नेपालमा लगानीका लागि उत्साहित भएपनि विभिन्न कानूनी र नीतिगत कठिनाईका कारण समस्या परेकोले त्यस्ता कठिनाई हटाउन आग्रह गरिन् । अध्यक्ष थापाले विदेशमा रहेका नेपालीलाईविना कुनै उल्झन लगानी गर्न पाउने वातावरण निर्माण गर्न अर्थमन्त्री समक्ष आग्रह गरिन् ।
संघका अर्का अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीहरुको लगानी अभिवृद्धि गर्न नेपाली नागरिक सरह लगानीको व्यवस्था गर्नुपर्नेमा जोड दिए । अध्यक्ष केसीले नेपाल सरकारको समन्वय, सहकार्य तथा लगानीसहित नेपालभित्र १० अर्ब बराबरको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेड कम्पनी कार्यान्वयनमा ल्याउन विद्यमान समस्याबारे जानकारी गराएका थिए ।
केसीले कम्पनीको कार्यक्षेत्र तथा एनआरएनले लगानी भित्राउन धितोपत्र सम्बन्धी नियम, लगानीको स्वीकृति विधि, लगानीको लेखाङकन विधि, लगानीको प्रतिफल फिर्ता विधि तथा धितोपत्रको कारोबार विधि लगायतको निर्माण तथा संशोधन गरी तुरुन्त काम अगाडि बढाउन अर्थमन्त्रीसमक्ष माग गरे ।
अर्का अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकताको विषयलाई तत्काल टुंगो लगाउन आग्रह गरे । अध्यक्ष केसीले डलर खाता सञ्चालनमा देखा परेका प्राविधिक समस्या समाधान गर्न, ‘एनआरएन नेपाल डेभलपमेन्ट फन्ड’लाई अघि बढाउन देखा परेका कानूनी र व्यवहारिक कठिनाइ समाधानका लागि अन्तरमन्त्रालयगत समन्वय गरेर समस्या सम्बोधन गरिदिन आग्रह गरे ।
जवाफमा अर्थमन्त्री पौडेलले गैरआवासीय नेपाली संघका प्रतिनिधिसहितको एउटा छुट्टै संयन्त्र बनाएर यथाशक्य छिटो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका संघले जनाएको छ । गैरआवासीय नेपालीले नेपालमा गरिरहेको लगानीप्रति नेपाल सरकार जानकार रहेको भन्दै आगामी दिनमा पनि लगानीका लागि मार्ग प्रशस्त गर्न आफू प्रतिबद्ध रहेको अर्थमन्त्री पौडेलले बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4