+
+

पैसा पछि तिर्ने गरी कीर्तिपुर अस्पतालबाट मनोजले निकाले श्रीमतीको शव

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते १५:२४

१७ माघ, काठमाडौं । उपचार खर्च तिर्न नसकेर कीर्तिपुर अस्पतालमै रहेको रौतहटकी पुनम कुमारीको शव अस्पतालले मृतकका श्रीमान मनोजकुमारलाई जिम्मा लगाएको छ ।

लुगामा आगो सल्केर शरीरको विभिन्न भाग जलेकी २५ वर्षकी पुनम १८ पुसदेखि कीर्तिपुर अस्पतालमा उपचाररत थिइन् र उनको आइतबार मृत्यु भएको थियो ।

तर अस्पतालमा बुझाउनुपर्ने १ लाख ८ हजार रुपैयाँ तिर्न नसकेपछि मनोजकुमारले श्रीमतीको शव निकाल्न पाएका थिएनन् । अस्पतालले उनले तिर्नुपर्ने रकममा २० प्रतिशत छुट गरेर बाँकी रकम पछि तिर्ने गरी शव दिएको हो ।

‘हिजो केही पैसा गाउँबाट मगाएर दिएँ । अब तिर्न ७९ हजार रुपैयाँ बाँकी छ । ६/७ महिना भित्र तिर्ने कागज गरेर शव निकालेँ,’ मनोजले अनलाइनखबरसँग भने, ‘अहिले रौतहट जाँदै छु । बेलुका पुग्छु ।’

अस्पतालको प्लास्टिक सर्जरी विभागको प्रमुख संयोजक हेमन्तध्वज जोशीले बिरामीको उपचार खर्चबाटै चल्नुपर्ने अस्पताल भएका कारण शुल्क लिनैपर्ने बाध्यता रहेको बताए । तर औषधि उपचारबापत तिर्नुपर्ने रकममा २० प्रतिशत छुट गरेर बाँँकी पैसा अनुकुलतामा तिर्ने गरी कागज गरेर शव परिवारलाई जिम्मा लगाएको उनले जानकारी दिए ।

९ पुसमा २ महिनाका छोरलाई तेल लगाउने क्रममा शरीर जलेपछि पुनमकुमारीलाई परिवारले गौर अस्पताल पु‍र्याएको थियो । केही दिन त्यहीँ उपचार गर्दँ ठीक नभएपछि १८ पुसमा काठमाडौं ल्याएको थियो ।

मृतकका श्रीमान मनोजका अनुसार पुनको ४० प्रतिशत शरीर जलेको थियो । गौर अस्पतालमा उपचार गराउँदा ७० हजार रुपैयाँ खर्च लागेको उनले बताए । कीर्तिपुर अस्पतालमा पुनमलाई उपचार गर्न ल्याएपछि आफ्नो ४ लाख रुपैयाँ भन्दा बढी खर्च भएको मनोज बताउँछन् ।

मनोजको घरमा बुबा–आमा र दुई छोरी र एक छोरा छन् । ‘जग्गा जमिन केही पनि छैन । रौतहटमा सानो झुप्रो घर छ । अहिले उपचार गरेको तीन–चार लाख ऋण लागिसकेको छ,’ मनोज भन्छन्, ‘सरकारले उपचार खर्च नपाएर कोही पनि मर्न पर्दैन भन्छ । तर, पैसाकै कारणले अस्पतालमा बन्धक हुनुपर्ने रहेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?