+
+

हिरासत फोडेर भागेका २ थुनुवा अझै पक्राउ पर्न सकेनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते ९:४५

३ फागुन, जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर भागेका दुई थुनुवा अझै पक्राउ पर्न सकेका छैनन् ।

पुस १५ गते राति हिरासत फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये योजनाकारसहित चारजनालाई प्रहरीले एक साताभित्रै पक्राउ गर्न सफल भएको थियो ।

तर, दुई सात्ता बित्दासमेत हातहतियार तथा खरखजाना मुद्दाका मिथिला नगरपालिका ६ बस्ने शंकर महतो र शान्ति सुरक्षाविरुको कसुरका मिथिला नगरपालिका २ का रोसन यादव भने पक्राउ पर्न सकेका छैनन् ।

फरार दुवै थुनुवा भारत पसेकाले पक्राउ गर्न नसकिएको धनुषा प्रहरीले जनाएको छ । ‘हामी दुवैजनाको खोजतलासमै हामी तल्लिन छौं । इण्डिया जानु पर्नेस्थिति भएछ । यहाँ छैन,’ धनुषका एसपी विश्वराज खड्काले भने ।

शंकर महतो र रोशन यादवका साथै हिरासतबाट लागुऔषध कसुरमा पक्राउ परेका क्षिरेश्वरनाथ नगरपालिका ५ का ३९ वर्षीय विनोदकुमार शर्मा, शान्ति सुरक्षाविरुको कसुरमा क्षिरेश्वरनाथ नगरपालिका २ का २५ वर्षीय अमित मण्डल, २५ वर्षीय हरिदीप सिंह, हातहतियार मुद्दाका मिथिला नगरपालिका ६ का २८ वर्षीय रोशन महतो हिरासतबाट फरार भएका थिए ।

घटना पश्चात जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरी कार्यालयले संयुक्त प्रहरी टोली परिचालन गरी व्यापक सर्च अपरेशन चलाएको थियो । खोज तलास गर्ने क्रममा घटनाकै भोलिपल्ट पुस १६ गते रोशन, १७ गते हरिदिप र अमितलाई पक्राउ गरेको थियो भने १८ गते राति विनोदलाई प्रहरीले पक्राउ गरेको थियो ।

यसरी भागेका थिए ६ थुनुवा

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगर जकपुर ढल्केबर सडक खण्डको पश्चिमपट्टि टासिएरै रहेको छ ।

दक्षिण छेउबाट सिन्धुलीटोलको बाटो पुग्छ । केही वर्ष पहिलासम्म दक्षिण तर्फबाट इँट्टाको वालसहित तारबार थियो । तर सकड विस्तारको क्रममा बार भत्काएपछि अगाडीको दक्षिण छेउको भागतिर भवनको भित्ताहरु सडकसँगै टासिएको छ ।

कार्यालयको पश्चिम दक्षिण कुनामा छ हिरासत्त कक्ष । स्थानीयहरुका अनुसार इलाका प्रहरी कार्यालयको भवन ४० वर्षभन्दा बढी पुरानो छ । तलका भाग जीर्ण भएर कमजोर भइसकेको छ ।

हिरासतमा सबभन्दा बढी १८ दिनदेखि थिए विनोद शर्मा । लागुऔषध मुद्दामा २८ पुसमा पक्राउ परेका विनोदले नै हिरासत फोड्ने योजना बुनेका थिए ।

विनोद नै भित्ता फोडेर भाग्ने मुख्य योजनाकार रहेको धनुषा प्रहरीका डिएसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।

प्रहरीका अनुसार विनोद भित्ता फोडेर भाग्ने योजना बनाउँदै थोरथोरै फोड्ने काम सुरु गरेका थिए ।

फोड्ने कामको लागि शौचालयको ढोकाबाट स्टिलको पाता जस्तो सानो भाग तोडेका थिए शर्माले र त्यसैलाई भित्ता खोद्ने अस्त्र बनाए ।

पछि अन्य मुद्दाका थुनुवाहरु थपिंदै गए । माघ ३ गते शान्ति सुरक्षाविरुद्धको कसुरमा अमित मण्डल र रोसन यादव, माघ १० गते सोही कसुरमा हरिदीप सिंह पक्राउ परेका थिए ।

माघ १२ गते मिथिला नगरपालिका २ नक्टाझिजबाट पेस्तोल र २ वटा गोलीसहित रोशन महतो पक्राउ परी हिरासतमा थपिएका थिए ।

रोशनकै बयानको आधारमा उनका छिमेक शंकर महतो पनि सोही दिन पक्राउ परे । एकजना सवारी दुर्घटना मुद्दामा केही दिनदेखि हिरासतमा थिए । उनीहरु सबै मिलाएर सातजना थिए हिरासतमा ।

प्रहरी स्रोतका अनुसार जब हिरासतमा रोशन र शंकर पुगे तब विनोदको भित्ता फोडेर भाग्ने योजनामा बल पुग्यो ।

पालैपालो भित्ता खोद्ने काम तीन दिनमा तीव्र पारे । पुस १५ गते राति ३ बजेतिर मानिस छिर्ने गरी झण्डै डेढफिटको गोलो भित्ता फोड्न सफल भए ।

त्यसपछि ६ जना पालैपालो निस्केर भाग्न सफल भएको बयान पक्राउ अभियुक्तहरुले दिएको एक प्रहरी अधिकारी बताउँछन् ।

एक जना सवारी मुद्दाका अभियुक्त भने मोटो ज्यान भएका कारण दुलोबाट छिर्नै नसकेपछि हिरासतमा बाँकी रहे ।

‘फोडेपछि सबैले पालैपालो एकअर्कालाई धकेल्ने र तान्ने काम गरे । मोटो भएका कारण सवारी ज्यान मुद्दाका अभियुक्त निस्किनै सकेनन् । मोटो शरीर रहेका उनलाई भित्रबाट पनि धकेल्ने कोही भएनन् । बाध्य भएर हिरासतमै बसे,’ ती प्रहरी अधिकारीले भने ।

अगाडिबाट पछाडिको हिरासत कक्ष देखिंदैन । राति ३ बजेतिर उनीहरु फरार भइसकेका थिए । साढे तीन बजेतिर प्रहरीले थुनुवा फरार भएको सुइको पायो । हलचल मच्चियो । धनुषा प्रहरी र मधेश प्रहरी संयुक्त टोलि बनाएर तीव्र खोजीमा लागे । सो घटना हुनुमा प्रहरीले दैनिक हिरासतको निरीक्षण नगर्दा भएको आशंका छ ।

‘हिरासतमा थुनुवाले आत्महत्या गर्न सक्ने विगतका घटनाहरुलाई नजर अन्दाज गरी दिनहु निरीक्षण गर्नु पर्ने हुन्छ । तर पहिलादेखि नै हिरासत्त फोड्ने क्रम चलिरहँदा पनि थाहा नपाउनु प्रहरी इन्चार्जसहित त्यहाँको टोलीको गम्भीर लापरबाही हो । जबकि हिरासत कक्षमा सीसीटीभी पनि जडान छ,’ एक प्रहरी अधिकारीले भने ।

घटनाकै बिहान त्यहाँका इन्सपेक्टर बेचन यादव नेतृत्वको २५ प्रहरी त्यहाँबाट हटाएर जिल्ला तानिए ।

हिरासतको विशेष जिम्मेवारीमा रहेका असई अशोककुमार मण्डल, वरिष्ठ प्रहरी हबल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरियो ।

मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपी मनोज यादवको संयोजकत्वमा ६ र जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीपबहादुर क्षेत्रीको संयोजकत्वमा पाँच सदस्य छानबिन टोली बनाएर घटनाको अनुसन्धान थाल्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?