+
+

नेपाली क्रिकेट समर्थक समाजको अधिवेशन सम्पन्न, नारायण पराजुली अध्यक्षमा दोहोरिए

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १२:१२

८ फागुन, काठमाडौं । नारायण पराजुलीलाई अर्को एक कार्यकाल नेतृत्व सुम्पिँदै नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस)को सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । बुटवलमा आइतबार अबेर सम्पन्न अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नयाँ कार्यसमितिको अध्यक्षमा पराजुलीले नै निरन्तरता पाउँदा उपाध्यक्षमा रेजिना बस्नेत, सचिवमा मोहन ज्ञवाली, सह सचिवमा नारायण पाण्डे चयन भएका छन् । कोषाध्यक्षमा अच्युत पाण्डे लाई मनोनित गरिएको छ । सदस्यमा तारा पाठक, केदार शर्मा, अविन कार्की र सविन पोख्रेल निर्विरोध चयन भएका छन्।

सस्थापक, आजीवन र जिल्ला प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा समर्थक समाजले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट जिल्लाको सम्मान यस वर्ष जिल्ला समन्वय समिति रुपन्देहीलाई प्रदान गरेको छ । आफ्ना सदस्य जिल्लाहरुमा सक्रियता र पछिल्लो एक वर्षको कामलाई आधार मानेर उत्कृष्ट जिल्ला सम्मान दिने गरिएको हो। अघिल्लो वर्ष यो सम्मान पाल्पाले पाएको थियो ।

साधारणसभाले संस्थाको नियमित गतिविधिलाई निरन्तरता दिँदै संगठन विस्तार, जिल्ला समन्वय समितिको विस्तारमा, नेपाल क्रिकेट संघ (क्यान) तथा नेपाली क्रिकेटका सरोकारवालाको हरेक गतिविधि चुस्त निगरानी गर्ने निर्णय गरेको छ । त्यस्तै नेपाली क्रिकेट सरोकारवालासँग निरन्तर अन्तरक्रिया लगायत आफ्नो जिम्मेवारी र भूमिकालाई अझ सक्रिय रुपमा अघि बढाउने भएको साधारणसभाको निर्णय भएको छ ।

कार्यक्रममा एनसीएसएसका अध्यक्ष नारायण पराजुलीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सदस्य केदार शर्माले संस्थाको गतिविधि तथा प्रगति प्रस्तुत गरेका थिए ।

एनसीएसएसले सम्वन्धित निकायलाई लगातार गलत कामको विरुद्ध आवाज उठाउँदै आएको छ । त्यस्तै संस्थाले कमजोर आर्थिक अवस्था भएको खेलाडी र क्रिकेटमा योगदान दिएकालाई आर्थिक अभियानमार्फत सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?