+

विषयगत समितिको बैठक सम्पन्न, विभिन्न आठ निर्णय

२०८१ वैशाख  ३० गते २२:१८ २०८१ वैशाख ३० गते २२:१८
विषयगत समितिको बैठक सम्पन्न, विभिन्न आठ निर्णय

३० बैशाख, काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले आज विभिन्न आठ निर्णय गरेको छ । प्रस्तुत कार्यसूची उपर छलफलबाट खेलकुद पूर्वाधारको निर्माण, व्यवस्थापन र सञ्चालनको लागि संघ, प्रदेश र स्थानीय तहमा वर्गिकरण गरी स्वामित्व हस्तान्तरणको लागि प्रदेश सरकारसँग समन्वय गर्ने र खेलकुद पूर्वाधार वर्गिकरण समितिले पेश गरेको प्रतिवेदन स्वीकृत भएपछि कार्यान्वयनका लागि तीनै तहमा लेखि पठाउने निर्णय भयो ।

मन्त्रालय अन्तर्गतका राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय युवा परिषद्, नेपाल स्काउट र युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई संघीयता अनुकुल हुने गरी शासकीय प्रवन्ध मिलाउने अर्को निर्णय बैठकले गर्यो । राष्ट्रिय युवा नीति÷राष्ट्रिय खेलकुद नीतिको मस्यौदामा प्रदेश स्तरबाट प्राप्त सुझाव समावेश गरी अन्तिम रुप दिने भएको छ । यस्तै राष्ट्रिय युवा परिषद् ऐन, २०७२ को जिल्ला युवा समिति गठन भई क्रियाशील रहेको र प्रदेश कानून बमोजिम पनि जिल्ला युवा समितिको व्यवस्था हुँदा दोहोरो संरचना रहेको हुँदा सो सम्बन्धमा दोहोरो संरचना हटाउन कानून परिमार्जन गर्न सुझाव दिने निर्णय पनि बैठकले गरेको छ ।

यसैगरी  दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता, २०८१ र प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता प्रस्तावित समयमा नै सम्पन्न गर्न नेपाल सरकारमा अनुरोध गर्ने भएको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनमा राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद्को भूमिका सम्बन्धमा प्रदेश खेलकुद परिषद्को प्रतिनिधि सहित छलफलबाट अन्तिम रुप दिन सुझाव दिने पनि निर्णय गरिएको छ । यस्तै नेपाल स्काउटमा आवद्ध स्काउटरहरुको तालिम, परिचालन, मानवीय ज्ञान प्रवर्द्धन गर्न प्रदेश सरकार र स्थानीय तहबाट सहयोग र सहजीकरण गर्ने निर्णय आजको बैठकले गरेको छ ।

बैठकमा युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले खेलकुदमा क्यालेन्डर आवश्यकता रहेको जसले खेलकुदलाई चलायमान बनाउने भन्दै क्यालेन्डरको अवधारणालाई प्रदेशहरूले पनि उतिकै महत्त्वका साथ अगाडि बढाउनु पर्ने बताए । पूर्वाधारको लागि मापदण्ड तयार पारेर हस्तान्तरण गर्नुपर्ने पनि मन्त्री श्रेष्ठले जिकिर गरे । मन्त्री श्रेष्ठले सरकारको लगानीले मात्र पूर्वाधारमा प्रयाप्त नहुने भएकोले सिएसआरको लागि मन्त्रालयले यो पटक धैरै प्रयास गरेको जानकारी दिए । उनले दातृ निकायहरूबाट पनि लगानीको लागि सबैले प्रयास गर्नुपर्नेमा जोड दिए ।

बैठकमा सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री दीर्घ बहादुर सोडारीले छैटौं राष्ट्रिय खेलकुदमा बनेका भौतिक संरचनाहरू मर्मत र संरक्षण हुनुपर्ने बताए । उनले राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीहरू प्रदेशलाई हस्तान्तरण गनुपर्ने तर्क पनि राखे ।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले बजेट र कार्यक्रमलाई आवश्यकताका आधारमा प्राथमिकतामा राख्नुपर्ने बताए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले दशौं राष्ट्रिय खेलकुदको विविध पक्षमा प्रकाश परोका थिए । बैठकमा सात प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव तथा युवा तथा खेलकुद मन्त्रालयका कर्मचारीको सहभागीता रहेको थियो ।

युवा तथा खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय