+
+

जोमसोम विमान दुर्घटना : पाइलटको त्रुटि, जोखिमको चेतावनी दिने सिस्टम नै अफ

अच्युत पुरी अच्युत पुरी
२०७९ फागुन १० गते १८:३५
फाइल तस्वीर

१० फागुन, काठमाडौं । १५ जेठ २०७९ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर ९एन–एइटी/डीएचसी६–३०० जहाज दुर्घटनामा चालक दलको त्रुटि भेटिएको छ । दुर्घटनामा चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको थियो । जहाज दुर्घटना पछि गठन भएको दुर्घटना जाँच आयोगले अन्तिम प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती समक्ष पेश गरेको छ । प्रतिवेदन अनुसार जहाजमा अगाडिको पहाड र त्यसको जोखिमबारे जानकारी दिने ‘टेरेन अभोइडेन्स एण्ड वार्निङ सिस्टम (टीएडब्लूएस)’ बन्द (अफ) गरिएको थियो ।

सोहीकारण चालक दलले जहाजबाट अगाडि पहाड छ भन्ने जानकारी पाउन सकेनन् । आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेका अनुसार यो सिस्टम अफ नगरी जहाज उडाएको भए दुर्घटनामा पर्नु भन्दा २ मिनेट अगाडि नै चालक दलका सदस्यलाई चेतावनी प्राप्त हुने थियो । जसले गर्दा दुर्घटना टर्न सक्ने सम्भावना रहन्थ्यो । जहाजमा राखिएका प्रणालीहरुलाई सही तरिकाबाट उपयोग गर्न नसक्दा जहाज सिधै पहाडमा ठोक्किन पुगेको दुर्घटनाका कारणमा उल्लेख गरिएको छ ।

आयोगका अनुसार मौसम खराब थियो । सोहीकारण पाइलटको आँखाले अगाडि के छ भनेर देख्ने अवस्था थिएन । यस्तो अवस्थामा ‘एयरक्राफ्ट अभोइडेन्स एण्ड वार्निङ सिस्टम (टीएडब्लूएस)ले नै चालक दलका सदस्यलाई भूगोलका कारण जहाजमा हुन सक्ने जोखिमबारे चेतावनी दिन सक्थ्यो । सरकारले १६ जेठमा दुर्घटना जाँच आयोग गठन गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन भएको थियो । आयोगको सदस्यमा क्याप्टेन दीपु ज्चार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य सदस्य थिए । सचिव सचिव बुद्धिसागर लामिछाने तोकिएका थिए ।

दुर्घटनामा कुन कुन कारणले थप भूमिका खेले ?

जहाजमा कुनै खराबीको संकेत आयोगले भेटाएको छैन । तर, चालक दलले कम्पनीले तोकेको उडान मापदण्डलाई भने पालना नगर्दा जहाज दुर्घटनामा परेको पाइएको छ । जहाज पाइलट प्रभाकर घिमिरेले उडाएका थिए । उनी कम्पनीको सेफ्टी डाइरेक्टर समेत थिए । जहाजमा उत्सव पोखरेले को–पाइलटको भूमिकामा थिए । एयरहोस्टेस किस्मी थापा थिइन् । वर्तमान परिस्थिति अनुसार सही निर्णय लिन नसक्दा यस्तो दुर्घटना निम्तिएको आयोगको निष्कर्ष छ । आयोगका अनुसार सो समयमा मौसम खराबी भएका कारण मौसम समेत दुर्घटनाको सहायक कारण बनेको छ ।

सो रुटका लागि कम अनुभवी को–पाइलट

आयोगका अनुसार यस रुटमा को–पाइलट कम अनुभवी थिए । अर्कोतर्फ पाइलट र कोपाइलटका अनुभवका बीच ठूलो अन्तर रहेको पाइएको छ । पाइलट प्रभाकर घिमिरेको जिम्मेवारी दोहोरो थियो । उनी व्यवस्थापकीय जिम्मेवारीमा समेत रहेका कारण मानसिक थकान समेत कारण हुन सक्ने आयोगको निष्कर्ष छ । साना जहाजहरु उड्दा आँखाले देख्न आवश्यक दूरी कायम गरेर मात्र बादल भित्र छिर्न पाउँछन् । नभए जहाज फिर्ता आउनु पर्छ । यो जहाजले उक्त नियमलाई समेत बेवास्ता गरी उडेको पाइएको छ । जहाजमा रहेका नेभिगेसन उपकरणहरुलाई कम उपयोग गरिएका कारण सम्भावित जोखिमबारे चालकले अन्दाज गर्न नसकेको समेत आयोगले निष्कर्ष निकालेको छ ।

पोखराबाट जोमसोम उडेको तारा एयरको ट्वीनअटर जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको थियो । आयोगले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अमेरिकाको नेशनल ट्रान्सपोर्ट सेफ्टी बोर्डसमेतको सहयोगमा प्रतिवेदन तयार पारेको बताएको छ । यो प्रतिवेदन ६० दिनको समय दिएर अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन लगायत सम्बन्धी मुलुक र निकायमा रिभ्यूका लागि पठाइन्छ । त्यसपछि भने सबैले पढ्न पाउने गरी सार्वजनिक गर्ने प्रचलन रहेको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?