+
+

नारी दिवसमा पोखरामा हस्तकला प्रदर्शन हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १८:३०

२१ फागुन, पोखरा । पोखरामा सीमान्तकृत, अपांग, एकल तथा द्वन्द्वपीडितलाई करिब ५ दशकदेखि निशुल्क सीपमूलक तालिमसँगै रोजगार दिँदै आएको ‘महिला सीप विकास संस्था’लाई कोभिड महामारीले ठूलो असर गर्‍यो ।

संस्थाका ४ वटा शाखा कोभिड महामारीले गर्दा बन्द हुने अवस्थामा त पुगे नै, संस्थामा रोजगार पाएका करिब ५ सय जना बढी महिला एकाएक बेरोजगार हुन पुगे । नेपाली हस्तकला, सिलाइबुनाइजस्ता स्वरोजगारमूलक सीप सिकेर संस्थाकै सहयोगमा जीवनयापन गरिरहेका उनीहरुलाई कोभिडले ठूलै धक्का दियो ।

कोभिड महामारी मत्थर भएपछि आर्थिक गतिविधि केही चलायनमान हुन थाल्यो । तर, महामारीमा रोजगार गुमाएका उनीहरु अझै बेरोजगार नै बस्नुपरेको छ । महिला सीप विकास संस्थासँग कोभिड कालअगाडिसम्म ६ सय जना महिला जोडिएर व्यवसायमा लागेका थिए । तर, अहिले मुस्किलले ३ सय ५० जनामात्रै छन् ।

‘कोभिडले खत्तम पा¥यो । बजारै ठप्प भए पनि उहाँहरुलाई हामीले चाहेर पनि सँगै राख्न सक्ने स्थिति रहेन,’ संस्थाकी अध्यक्ष रामकली खड्का भन्छिन्, ‘कोभिडकोबेला त हामीसँग जम्मा ५ जनामात्रै हुनुहुन्थ्यो । अहिले बजार केही चल्न थालेपछि संख्या बढ्न थालेको हो ।’

कोभिड अगाडि पोखराका विभिन्न ५ ठाउँमा शाखा खोलेर निशुल्क सीपमूलक तालिम दिएर महिलालाई आत्मनिर्भर बनाउँदै आएको संस्था कोभिड पछि आफैं घाइतेजस्तै भएको छ । एक मुख्य कार्यालयसहित ५ शाखामध्ये २ वटा शाखा अझै खुल्नै सकेको छैन ।

‘एउटा पनि पुसको लास्टमा बल्लबल्ल खोल्यौं । अरु खोलेर पनि के गर्नु ? व्यवसाय बजार भए पो त्यसबाट हुने आम्दानीले केही भरथेग हुन्थ्यो,’ रामकलीले दुखेसो पोखिन्, ‘संस्था खोलेर पनि शिक्षक, कर्मचारी, प्रशिक्षकलाई ज्याला दिनुप¥यो, अरु खर्च निस्किन्छ । गाह्रो भइराखेको छ ।’

कोभिड महामारीका कारण बेरोजगार हुनु परे पनि ती महिलाहरु संस्थाकै सम्पर्कमा रहेको खड्का सुनाउँछिन् । ‘अहिले पनि उहाँहरु दिदी कहिले खुल्छ भनेर फोन गरिरहनुहुन्छ । गाह्रो भयो, अभाव भयो भन्नुहुन्छ । अब विस्तारै राम्रो हुँदै गइरहेको छ, हामी उहाँहरुलाई बोलाउँछौं,’ उनले भनिन् ।

कोभिड अगाडि संस्थासँग सामूहिक रुपमा जोडिएर खाली समयको सदुपयोग गर्दैै मासिक ५ देखि २२ हजारसम्म आम्दानी गर्दै आएको खड्कीले जानकारी दिइन् । तर, अहिले उक्त आम्दानी रोकिएकाले बैंक तथा सहकारीको सामान्य किस्ता तिर्नसमेत गाह्रो भइरहेको आफूलाई जानकारी दिएको उनले सुनाइन् । संस्थाले हालसम्म २१ हजारभन्दा बढीलाई सीपमूलक तालिम दिइसकेको छ ।

संस्थाबाट उत्पादित उत्पादनहरु अमेरिका, जर्मन, इटली, कोरिया, क्यानडा, अस्ट्रेलिया, जापान लगायत देशमा अत्याधिक निर्यात हुँदै आएको थियो । तर, अहिले कोभिडपछि माग घटेको संस्थाले जानकारी दिएको छ ।

कोभिडपछि तंग्रिन खोज्दै गरेको संस्थाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पोखरामा हस्तकला प्रदर्शन गर्ने भएको छ । पोखरा सभागृहमा १५ वटा टेबुलमा हस्तकलाका सामग्री प्रदर्शनमा राखिने संस्थाले जनाएको छ । ‘स्थानीय कच्चा पदार्थबाट उत्पादन गरिएका हस्तकलाले राम्रो सन्देश जाने विश्वास लिएका छौं,’ आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा खड्काले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?