+
+

बलिउड अभिनेता सतीश कौशिकको निधन, गृहमन्त्रीदेखि कलाकारले दिए शोक सन्देश

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते ११:४४

काठमाडौं । बलिउड अभिनेता तथा निर्देशक सतीश कौशिकको गएराति १ः३० बजे नयाँ दिल्लीमा निधन भएको छ । उनी ६६ वर्षका थिए । बलिउड अभिनेता अनुपम खेरले हृदयघातबाट कौशिकको निधन भएको जानकारी दिएका छन् । पारिवारिक कार्यक्रममा सहभागी हुन दिल्ली पुगेका उनको राति स्वास्थ्य बिग्रिएको थियो ।

परिवारले अस्पताल पुर्‍याएपछि उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको शव दिल्लीको दीनदयाल अस्पतालमा राखिएको छ । पोस्टमार्टमपछि शवलाई दिल्लीबाट मुम्बईस्थित उनको निवासमा पुर्‍याइनेछ । त्यसपछि भारतीय समयानुसार दिउँसो ३ बजेदेखि ६ बजेसम्म वर्सोवास्थित घाटमा अन्तिम संस्कार हुनेछ ।

कौशिकको निधनमा अभिनेता खेरले लेखेका छन्, ‘मलाई थाहा छ, मृत्यु नै संसारको अन्तिम सत्य हो । तर म जीवित हुँदै मेरा अति मिल्ने साथी सतीक कौशिकको बारेमा यो लेख्छु भनेर सपनामा पनि सोचेको थिइनँ । ४५ वर्षको मित्रतामा यस्तो अचानक पूर्णविराम । तिमीबिनाको जीवन उस्तै हुनेछैन सतीश । ओम शान्ति ।’

कौशिकको जन्म १३ अप्रिल १९५६ मा हरियाणाको महेन्द्रगढमा भएको थियो । उनले दिल्लीमा अध्ययन गरे । किरोरी माल कलेजबाट स्नातक गरेपछि उनी नेशनल स्कुल अफ ड्रामा (एनएसडी) मा भर्ना भए । सन् १९८५ मा उनले शशी कौशिकसँग विवाह गरे । छोराको दुई वर्षको उमेरमा मृत्यु भयो ।

सतीशले सन् १९८३ मा बलिउडमा डेब्यु गरेका थिए । यसअघि उनले थिएटरमा काम गरे । उनी अभिनेता, हास्य कलाकार, पटकथा लेखक, निर्देशक र निर्माता थिए । सन् १९८७ मा फिल्म ‘मिस्टर इन्डिया’बाट चर्चामा आए । सन् १९९७ मा ‘दिवाना-मस्ताना’मा पप्पु पेजरको भूमिका निर्वाह गरे । सन् १९९० मा ‘राम लखन’ र १९९७ मा ‘साजन चले’ ससुरालका लागि सर्वश्रेष्ठ हास्य कलाकारको लागि फिल्मफेयर पुरस्कार प्राप्त गरे ।

भारतीय गृहमन्त्री अमित शाहले ट्विट गर्दै भनेका छन्, ‘अभिनेता, निर्देशक र लेखक सतीश कौशिकजीको निधनको खबरले म अत्यन्तै दुःखी छु । भारतीय सिनेमामा उनको योगदान, कलात्मक सिर्जना र उनको सबै काम स्मरणीय छन् । उहाँका परिवार र प्रशंसकहरूप्रति मेरो गहिरो समवेदना । ओम शान्ति शान्ति ।’

कंगना रनौतले लेखेकी छन्, ‘बिहान यो दु:खद् खबरको साथ । सतीशजी मेरो सबैभन्दा ठूलो चियरलिडर थिए, उहाँ धेरै सफल अभिनेता र निर्देशक हुनुहुन्थ्यो । व्यक्तिगत रुपमा पनि उहाँ निकै दयालु र इमान्दार व्यक्ति हुनुहुन्थ्यो । फिल्म ‘इमर्जेन्सी’मा उहाँ निर्देशक हुँदा मलाई राम्रो लाग्यो । उहाँलाई धेरै मिस गर्नेछु । ओम शान्ति ।’ अन्य बलिउड कलाकारहरु अभिषेक बच्चन, सुनिल सेट्ठी, मधुर भण्डारकरले पनि कौशिकको निधनमा शोक व्यक्त गरेका छन् ।

सतीश कौशिकका यादगार फिल्मको कुरा गर्दा उनले ‘जाने भी दो यारो’, ‘उत्सव’, ‘सागर’, ‘राम लखन’, ‘स्वर्ग’, ‘जमाइ राजा’, ‘अन्दाज’, ‘साजन चले ससुराल’ गरेका छन् । साथै ‘दीवाना मस्ताना’, ’मिस्टर एण्ड मिसेस खिलाडी’, ’आन्टी नम्बर वन’, ’बडे मियाँ छोटे मियाँ’, ’आ अब लौट चलें’, ’हसीना मान जायेगी’, ’दुल्हन हम ले जायेंगे’, ’हद कर दी आपने’ उनले ‘क्युंकी मैं झुट नही बोलता’, ‘हम किसी से कम नही’, ‘अतिथि तुम कब जाओगे’, ‘उडता पञ्जाब’ र ‘फन्ने खान’ जस्ता फिल्ममा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?