२० चैत, तनहुँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी गृह मन्त्रालय पाए फेरि सरकारमा जाने टिप्पणी गरेका छन् ।
उपनिर्वाचनमा तनहुँ १ बाट कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराएपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले तनहुँवासीले उनीहरुलाई विगतमा किन सरकारमा गएको, किन बाहिरिएको र गठबन्धन बदलेर राष्ट्रपतिमा किन रामचन्द्र पौडेललाई मत दिएको भनेर प्रश्न गर्नुपर्ने बताए ।
नयाँ आउनुभएको साथीको सबैभन्दा ठूलो विषय कुन मन्त्रालय पाउने र कुन मन्त्री पाउने भन्ने रह्यो’ उनले भने, ‘तनहुँवासीले प्रश्न गर्नुपर्छ । पुष्पकमल दाहाल र केपी ओली मिलेर एउटा गठबन्धन बनाउँदै गर्दा किन मत हालेको, केही दिनपछि गठबन्धनबाट किन निस्केको, केही दिनपछि नयाँ गठबन्धनमा राष्ट्रपतिमा रामचन्द्रलाई किन मत हालेको ? अहिले सरकारबाहिर किन बसेको ?’
तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेका स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै महामन्त्री थापाले कांग्रेसलाई दाजु भाउजुको पार्टी भन्नेले फेरि यही सरकारमा सहभागी हुने बताए ।
‘कतिपय साथीले नेपाली कांग्रेस पार्टी दाजु भाउजुको पार्टी भयो भन्नुभयो, म चुनौतीका साथ भन्छु उपनिर्वाचनपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारले नयाँ पार्टीलाई तपाईंलाई म गृह मन्त्रालय लगायतका मन्त्रालय दिन्छु भन्यो भने नयाँ पार्टी सरकारमा आउँछ कि आउँदैन ? आउँछ’ उनले भने, ‘त्यो बेला दाइसँग बस्दिन भाउजुसँग बस्दिन भन्छ ? त्यो बेला दाइ पनि कति राम्रो भाउजु पनि कति राम्रो भन्छ ।’
महामन्त्री थापाले प्रश्न गरे, ‘तपाईंलाई परेको बेला दाइ पनि ठीक, तपाईंलाई माफी दिए भाउजु पनि ठीक, तपाईंले भनेको मन्त्रालय प्राप्त भएन भने सबै बेठीक यही हो नयाँ पार्टी ? यही हो नयाँ चाला ?’
हेर्नुहोस् भिडियो
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4