+
+

लामो समय गाडी कुदाउँदा के-के हुन सक्छ समस्या ?

डा. अमृत भण्डारी, आयुर्वेदिक चिकित्सक डा. अमृत भण्डारी, आयुर्वेदिक चिकित्सक
२०७९ चैत २३ गते १३:५३

एउटै आसनमा २०-३० मिनेटसम्म पनि बसिरहनु शारीरिक स्वास्थ्यका लागि राम्रो मानिदैन । यसबीचमा उठ्ने, जिउ तन्काउने, यताउता हिंड्ने गर्नुपर्छ ।

तर गाडी चलाउनेहरुलाई यस्तो सुविधा हुँदैन । एक-दुई घण्टा होइन, घण्टौं–घण्टा पनि उनीहरु एकै ठाउँ बसिरहनुपर्ने हुन्छ । त्यो पनि एउटै ठाउँमा, एउटै आसनमा । अझ लामो दूरीको यात्रा गर्नेहरुले त दिसा–पिसाब पनि रोक्नुपर्ने बाध्यता हुन्छ । यस्तो अवस्थामा उनीहरुलाई के कस्तो स्वास्थ्य समस्या हुन सक्छ त ?

दीर्घरोगको भय

खासगरी सार्वजनिक गाडी चलाउने चालकहरुले आफ्नो स्वास्थ्यको राम्ररी हेरचाह गर्न पाइरहेका हुँदैनन् । न उनीहरुको खानपान व्यवस्थित हुन्छ, न शारीरिक व्यायाम नै ।उनीहरुको जीवनशैली प्राय: एकनासको हुन्छ । उताउता हिंड्ने, व्यायाम गर्ने जस्ता काम उति हुँदैन । प्राय: घरको ताजा खानपान गर्ने अनुकूलता मिल्दैन । यसले गर्दा उनीहरुलाई भविष्यमा दीर्घरोगले सताउने जोखिम हुन्छ ।

त्यसो त अधिकांश चालकमा मोटोपनको समस्या हुन सक्छ । एकातिर मोटोपन, अर्कोतिर एकै आसनमा घण्टौं बस्नुपर्ने बाध्यता । यसले उनीहरुको जोर्नी दुख्ने, खुट्टा सुन्निने समस्या हुन्छ । ढाड, गर्दन, कम्मर एवं मेरुदण्डको समस्या हुने जोखिम एकदमै हुन्छ ।

हाडजोर्नीको समस्या हुने

चालकलाई कम्मर, घुँडा, ढाड दुख्ने समस्या हुन सक्छ । साथै नसा च्यापिने र हड्डी खिइने जोखिम पनि उत्तिकै हुन्छ । कम्मर र घाँटीको नसा च्यापिएर खुट्टा झमझम गर्ने, लाटो हुन्छ । यसले गर्दा कहिलेकाहीं उनीहरुलाई जीवनभर थला पनि पार्न सक्छ । हातखुट्टा नै नचल्ने जोखिम पनि हुन्छ ।

त्यसैगरी चालकहरु धुवाँधुलोमा कुद्ने भएका कारण रुघाखोकी लाग्ने, शरीरको विभिन्न भागमा एलर्जी भइरहने, श्वासप्रश्वासमा समस्या हुने, फोक्सोमा समस्या देखिने गर्छ  ।

कब्जियत र ग्याष्ट्रिक

लामो दूरीका गाडी चलाउने चालकहरुले होटल–रेष्टुरेन्टको खाना खानुपर्ने हुन्छ । अक्सर उनीहरुको खानामा माछामासु हुन्छ । तर त्यस अनुरुप उनीहरुले दिसा–पिसाब गर्ने अनुकूलता मिल्दैन । लामो समयसम्म दिसा–पिसाब रोकेर बस्नुपर्ने हुन्छ ।

त्यसैले चालकहरुलाई प्राय: कब्जियत र ग्याष्ट्रिकको समस्या हुन सक्छ । यसैगरी पायल्स, मलद्वारको समस्याले पनि उनीहरुलाई सताउने गर्छ ।

मानसिक समस्या पनि

खासगरी सार्वजनिक यातायात वा व्यावसायिक सवारी चालकहरु, जो महिनौं घरबाट बाहिर बस्नुपर्ने हुन्छ उनीहरुलाई मानसिक समस्या पनि हुन सक्छ । घरपरिवारबाट टाढा रहनुपर्ने भएकाले उनीहरुलाई डिप्रेसन हुन सक्छ । यसैगरी खानपान, निद्रा नमिल्दा मोटोपन, मधुमेह, उच्च रक्तचापले सताउन सक्छ ।

सूक्ष्म व्यायाम र सही खानपान जरुरी

लामो समय गाडी चलाउनेहरुलाई कुनै न कुनै समस्यले ग्रस्त बनाउन सक्छ । त्यसो भन्दैमा गाडी नै नचलाउने भन्ने कुरा पनि आउँदैन । त्यसैले उनीहरुले गाडी चलाएपनि बेलाबेलामा व्यायाम गर्ने र खानपानमा ध्यान दिनैपर्छ ।

गाडी चलाएको बेला पनि समय–समयमा फुर्सद निकालेर सूक्ष्म व्यायाम गर्नुपर्छ । शरीर तन्काउने, हात खुट्टालाई चलाउने जस्ता गतिविधि गर्नु जरुरी हुन्छ । गाडी रोकेको बखत यता उता हिंड्ने, हल्का व्यायाम गर्ने गर्नुपर्छ ।

गाडी चलाउँदा पनि गहिरो सास लिने, छाड्ने प्रक्रिया गर्न सकिन्छ । यसले निकै फाइदा गर्छ ।

(डा. भण्डारी सहारा आयुर्वेद एण्ड थेरापी सेन्टरका सञ्चालक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?